देउवा बैठकमा जाँदा नाराबाजी, शेखरले उठाएका १२ सवाल

२०७९, २८ असार मंगलवार ०६:३८

काठमाडौं: भ्रातृ संस्थाहरू लथालिंग बनाइएको र तदर्थ समिति गठनमा एकलौटी गरिएको भन्दै तरुण दल र नेविसंघका कार्यकर्ताले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्ष्य गर्दै चर्को नाराबाजी गरेका छन् । तरुण दलका दिनेश राई, नेविसंघका शिव रिमाल र प्रेमिका राना मगरको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्वार अघि नारा लेखिएका प्लेकार्डसहित धर्ना दिइएको थियो । बैठकमा सहभागी हुन देउवा सानेपा पुग्दा धर्नामा बसेकाहरूले चर्को नाराबाजी गर्दै भ्रातृ संस्थालाई तत्काल पूर्णता दिन र एकलौटी नगर्न माग गरेका थिए ।

देउवाले म्याद सकिएका मध्ये नेविसंघ, तरुण दल, आदिवासी जनजाति संघ र किसान संघको नेतृत्व मनोनयन गर्दा शेखर कोइराला समूहलाई नसमेटिएको आरोप छ । देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएको ६ महिना बित्दासमेत भ्रातृ संस्थाका अधिवेशनको सुरसार छैन । अधिवेशन गर्न नपाएका भ्रातृ संस्थाहरू वर्षौंदेखि तदर्थ नेतृत्वमा चल्दै आएका छन् ।

शेखरले उठाएका १२ सवाल

– राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउने जस्ता अलोकतान्त्रिक गतिविधि सच्याउन किन सरकारले प्राथमिकता दिएन ? भ्रष्टाचारका काण्डहरूको छानबिन किन ओझेलमा पर्‍यो ?

– सत्तारूढ दलका नेताहरू कांग्रेसतिर फर्केर आरोप लगाइरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । किन हाम्रो पार्टी र नेताहरूले मौनता साधेको ?

– ओली नेतृत्वको सरकारले संविधान प्रतिकूल हुने गरी संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याएको थियो । के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ?

– गभर्नर प्रकरणमा सरकारको अक्षमता छताछुल्ल भयो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । हालै बजेट निर्माणका क्रममा हस्तक्षेप गर्न अपरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर चर्को दबाब आएपछि अर्थमन्त्रीको राजीनामा आयो । अब करसम्बन्धी प्रावधान परिमार्जन हुनुपर्छ ।

– सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोग प्रस्तावलाई निर्धारित प्रक्रियाबाट टुंग्याउनुपर्ने होइन ? के यस विषयमा प्रधानमन्त्री र सरकारको कुनै भूमिका हुादैन ?

– स्थानीय निर्वाचनमा तालमेलका कारण केही बढी सिट जित्यौं तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दै छौं ? तालमेलका नाममा महिला सहभागितालाई खुम्च्याइयो । तालमेलले अन्य पार्टीलाई बढी लाभ भयो ।

– कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । आगामी निर्वाचनमा व्यक्तिकेन्द्रित गठबन्धन गर्‍यौं भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?

– विधि, विधानभन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नुपर्‍यो । केन्द्रदेखि वडा तहसम्मका नेतृत्वले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृति विकास गरुन् ।

– स्थानीय निर्वाचनमा पराजयको दोष पार्टीका साथीहरूलाई नै लगाई कतिपय जिल्लाका जिम्मेवार साथीलाई पूर्वाग्रही ढंगले कारबाही सिफारिस गरी मानमर्दन गरिँदै छ ।

– पार्टी संगठनको मेरुदण्ड भ्रातृ तथा शुभेच्छुक संस्था नेतृत्वदेखि कार्यसमिति विधानबमोजिम न्यायोचित ढंगबाट निर्माण गरिनुपर्छ ।

– पार्टी सभापतिज्यू एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ ।

– जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महागीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुने खानेले समेत सामान्य जीवन बिताउन कठिनाइ महसुस गरेका छन् भने गरिब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला ?

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु