तीन चिनियाँ एयरलाइन्सले एयर बससँग २९२ वटा जहाज किन्ने

२०७९, १८ असार शनिबार ०८:००

चिनियाँ सरकारको स्वामित्वमा रहेका तीन वटा एयरलाइन्सले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसलाई २९२ जहाजको अर्डर दिएका छन्।

ग्लोबल टाइम्सका अनुसार चाइना साउर्दन, एयर चाइना र चाइना इस्टर्नले शुक्रबार सबै गरेर २९२ जहाज किन्नका लागि सम्झौता गरेका हुन्। सन् २०२० मा कोरोनाभाइरसको महामारी सुरू भएपछि चिनियाँ एयरलाइन्सले पहिलो पटक यति ठूलो संख्यामा जहाज अर्डर गरेका हुन्।

ब्लुमबर्गका अनुसार ती जहाजको मूल्य ३७ अर्ब अमेरिकी डलर पर्नेछ। चिनियाँ एयरलाइन्सहरूसँग जहाज खरिद-बिक्रीको सम्झौता भएसँगै एयरबसको सेयर मूल्य शुक्रबार चार प्रतिशतसम्म बढेको छ। एयर बसले सन् २०२७ सम्ममा सबै जहाज चिनियाँ एयरलाइन्सलाई उपलब्ध गराइसक्ने उल्लेख गरिएको छ।

चिनियाँ  एयरलाइन्सहरूले एयरबससँग गरेको यो डिलले अर्को जहाज निर्माता कम्पनी अमेरिकाको बोइङलाई घाटा पर्ने देखिएको छ। यी दुई कम्पनीबीच संसारकै ठूलो जनसंख्या भएको चीनमा जहाज बेच्न प्रतिष्पर्धा हुन्छ। बोइङको ७३७ म्याक्स मोडलका जहाज दुर्घटनामा परेपछि धेरै चिनियाँ एयरलाइन्सले उक्त मोडलका जहाज उडाउन रोकेका थिए।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु