नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने

२०७९, ८ असार बुधबार ०५:१४

काठमाडौँ: वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने उद्धार तथा नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नियमित उडान हुने कान्तिपुरलाई बताए । बुद्ध एयरले काठमाडौंलगायत देशभरका विमानस्थलबाट दैनिक १ सय ४० हाराहारीमा आन्तरिक उडान गर्छ ।
बुद्ध एयरबाहेक आन्तरिक उडानमा तारा, यति, श्री, सौर्य, गुण गरी नौ वटा वायु सेवा छन् ।
काठमाडौंबाट हुने ३ सय हाराहारी उडानमा बुद्ध एयरको करिब ६० प्रतिशत हिस्सा छ ।

‘वायुसेवा सञ्चालक संघ’ले मंगलबार पत्रकार सम्मेलन गर्दै पर्याप्त भौतिक पूर्वाधारबिना एकपक्षीय ढंगले १९ वटा वायुसेवा कम्पनीका ९० वटा जहाज र हेलिकोप्टरमध्ये ४३ वटालाई काठमाडौं बाहिर स्थानान्तरण गर्ने निर्णयको विरोध गर्दै बुधबारदेखि आन्तरिक तर्फका नियमित र चार्टर हेलिकोप्टर उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
यसैबीच, नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गैरकानुनी रहेको भन्दै निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

वायु सेवा सञ्चालक संघले आपतकालीन उद्धारलगायत नियमित उडान बुधबारदेखि स्थगित गर्ने बताएपछि प्राधिकरणले मंगलबार राति विज्ञप्ति निकालेर हवाई सेवा निर्बाध रुपमा सञ्चालन गर्नु/गराउन सम्बन्धित निकायलाई आग्रह गरेको हो । प्राधिकरणले कानुन कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा छलफल/वार्ताद्वारा निष्कर्षमा पुग्न सकिने समेत प्रस्ट पारेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु