शनिबार हेलिकोप्टर दुर्घटनामा सातको मृत्यु

२०७९, २९ जेष्ठ आईतवार १७:२७

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन् ।

शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको थियो । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको अधिकारीहरुले बताए । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई लेबनानका नागरिक रहेका थिए ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो । रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु