के संघीयतालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनै पर्छ

२०७९, २६ जेष्ठ बिहीबार २३:४९

विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय शासन व्यवस्थालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्ने बताएका छन् ।

प्रदेश नं १ का स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आज यहाँ आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको धारणा राखे ।

मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताउँदै सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै जोश र होस पुर्‍याएर काम गरेमा सफलता अवश्यक प्राप्त हुने धारणा राखे । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनोट गर्ने र टुक्राटुक्री योजनाका नाममा कनिका झैँ बजेट छर्ने दुवै काम उचित नहुने विचार राखे ।

“एउटा प्रसिद्ध भनाइ छ, ‘एकैसाथ दश औँलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’, सबै काम एकैचोटि गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस्”, मुख्यमन्त्री राईले भने । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका १३७ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे ।

तालिम समापनका अवसरमा सहभागीका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले अभिमुखीकरण कार्यबाट पालिकामा कार्य गर्न लाभदायक हुने विचार राखे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु