बिर्ताबजारमा अब छिट्टै व्यावसायिक कम्प्लेक्सको निर्माण थालिने

२०७९, २५ जेष्ठ बुधबार १६:१५

बिर्तामोड ३ स्थित बिर्ताबजारमा अब छिट्टै व्यावसायिक कम्प्लेक्सको निर्माण थालिने भएको छ ।
टहरामा व्यवसाय गर्दै आएका व्यवसायीहरुले ठाउँ खाली गरिदिने भएपछि अब केही दिनमै सो कम्प्लेक्स निर्माण हुने भएको हो । कम्प्लेक्सका लागि करिब ५ करोडमा ठेक्का लागिसकेको छ । अर्थ मन्त्रालयले २ करोड बजेट निकासा गरिसकेको छ भने काम शुरु भएपछि १८ महिनाभित्र ६ करोड बजेट विनियोजन हुने भएको छ ।

हाल टहरामा व्यवसाय गरिरहेका व्यवसायीहरुकै लागि सो कम्प्लेक्स निर्माण हुने भएको हो । भुईतलामा अन्डरग्राउन्डसहितको पार्किङ, पहिलो तलामा व्यावसायिक सटर र माथिल्लो तलामा सामुदायिक भवन निर्माण गरिने संझौतामा उल्लेख छ । तीनतले सो भवनमा ६४ वटा सटर रहने जनाइएको छ । हाल बिर्ताबजारको टहरामा ६४ जना व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

वर्षौदेखि टहरामा व्यवसाय गर्दै आएका त्यहाँका व्यवसायीहरुलाई कम्प्लेक्स निर्माण नहुन्जेलसम्म शिवालय मन्दिर अगाडि व्यवस्थापन गरिने भएको छ । तिनै व्यवसायीहरुकै लागि शिवालय मन्दिर अगाडिको ठाउँ खाली गरिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

उनले जतिसक्दो व्यवसायीहरुले टहरा खाली गरे त्यति छिटो काम शुरु भई योजना निर्माण सम्पन्न हुने बताए । चालू आर्थिक वर्ष सकिन लागेकोले अबको २० दिनभित्र काम शुरु नगरे बजेट फ्रिज हुने भएकाले छिटोभन्दा छिटो टहरा खाली गर्न नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाले आग्रह गरे । उनले बिर्ताबजारका व्यवसायीहरुको हकहितकै लागि सो कम्प्लेक्स बन्न लागेकाले त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा धेरै मेहनेतले ल्याइएको सो बजेटलाई फ्रिज हुन नदिई सबैले मिलेर कार्यान्वयन गर्न पूर्व वडाध्यक्ष भोजराज सिटौलाले आग्रह गरे ।

सो कम्प्लेक्स निर्माण भएपछि पुरानो बिर्ताबजारले कायापलट गर्ने उनले विश्वास व्यक्त गरे । व्यवसायीहरुलाई अर्को ठाउँमा व्यवस्थापन गर्ने काममा ढिलाई हुँदा आफूहरुले समयमै टहरा खाली गर्न नसकेको व्यवसायी उदय साहले बताए । उनले अब भोलिदेखि नै आफूहरु साविक टहरा खाली गरी अर्को ठाउँमा स्थानान्तरण हुने जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु