फोहोर बोकेर गएका गाडीलाई सिसडोलवासीले रोके

२०७९, २४ जेष्ठ मंगलवार १०:४६

काठमाडौँ: सिसडोलवासीले काठमाडौँ उपत्यकाको फोहोर फाल्न पुनः रोकेका छन् । दश दिनदेखि काठमाडौं उपत्यकाका चोक चोकमा थुप्रिएको फोहोर मंगलबार उठाउन थालिएको थियो।

बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका सवारीसाधनलाई स्थानीयले अवरोध गरेका हुन् । काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि फोहोर बोकेर गएका गाडी रोकिएको बताइन् । उनका अनुसार स्थानीयसँग सहमतिको प्रयास भइरहेको छ ।

सोमबार मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।

अलि अलि अवरोध आएकाले त्यहाँका समस्याबारे बुझ्न मेयरसाबले जनप्रतिनिधिसँग को अर्डिनेसन गरिरहेको उनले जानकारी दिइन् ।

स्थानीय जनप्रतिनिधिले फोहोरको बारेमा सहमति गरेपछि मिलाउने काम पनि उनीहरुकै रहेको राईको ठहर छ । ‘उहाँहरुको माग के हो, अवरोध के हो त्यसबारे पालिकासँग समन्वय गर्नपर्ने छ,’ उनले भनिन्, ‘अवरोध भयो भन्ने सुनेको छु।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु