को हुन बैठकमै तमासा देखाउने वडाध्यक्ष मुकुन्द ?

२०७९, १८ जेष्ठ बुधबार ११:१०

काठमाडौं: काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक इतिहासमै पहिलो पटक नयाँ स्वतन्त्र मेयर बालेन्द्र साहको ईन्ट्रीपछि लाईभ गरिएको थियो । त्यो लाईभबाट निर्णय प्रक्रिया बाधा पुर्याउने र जनप्रतिनिधीका सबल र दुर्बल पक्षहरु छताछुल्ल हुन थालेका छन् । सोमबार प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६ सय ८९ मतले हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए ।

नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलीपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।
रिजालको प्रस्तुति बालेन्द्रका समर्थकहरुलाई चित्त बुझेन । उनीहरुले सामाजिक सञ्जालमा रिजालविरुद्ध तीव्र प्रतिक्रियाहरु जनाइरहेका छन् । तर, रिजाल भने यसलाई ठूलो विषय मान्दैनन् । एक चर्चित अनलाइन सँगको कुराकानीमा उनले आफूलाई प्रतिक्रियाहरुसँग मतलब नरहेको बताए । हिजोको बैठक नै ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ उखान चरितार्थ भएको उनको टिप्पणी छ । मुकुन्दले यतिमात्र होईन् मेयर बालेन र उनको टिममाथि गम्भीर आरोप लगाएका छन् ।
हिजोको बैठकपछि सामाजिक सञ्जालमा निकै आलोचित भइरहनुभएको छ । तपाईंले प्रतिक्रियाहरु हेर्नुभएको छ कि छैन ? भन्ने प्रस्तोताको प्रश्नमा रिजालले आफू जनताको काममा लागेको मानिस भएको र कसले के लेख्छ भनेर नहेर्ने, कर्ममा विश्वास गर्ने मान्छे भएको र कर्म गरिरहेको बताउदै मान्छेले आ–आफ्नो स्तरबाट लेख्ने र आफूले त्यो स्तरलाई हेर्न नभ्याएको टिप्पणी गरे ।

हामीले ढल, खानेपानी र बाटो मात्र हैन धेरै कार्यविधी र नियमहरु बनायौँ । स्थानिय राजपत्र कार्यान्व्यनमा ल्याएका छौँ । काठमाडौं महानगरपालिकाको कार्यकारी बैठक कुन विधीबाट बस्ने भनेर किताब बनाएका छौँ । त्यसको अध्ययन गरिदिनु प¥यो । अहिले आएको मेयरसा’बलाई यस्ता धेरै कुराको जानकारी भएन होला । त्यही कारणले हिजोजस्तो स्थिति आएको हुँदा हामी दुखित छौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक त्यसरी बस्ने होइन । त्यो बोर्ड बैठक होइन, कार्यपालिका बैठक हो । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । तर हिजो त्यो प्रक्रियागत हुन सकेन । त्यो हुन नसकेर काठमाडौंबासीहरुको आत्मा रोएको छ ।

हामीले के सोचेका थियौ के भयो ? विधी, पद्दत्ति, प्रकृया र नेपाल सरकारको नियम–कानूनमा रहेर बैठक चलाइदिए राम्रो हुन्थ्यो भन्ने हो । मलाई संघीय मन्त्रालयबाट, स्थानीय निकायबाट फोन आइरहेको छ । होला प्रस्तुतिमा उठेर बोलियो होला, औंला ठड्याइयो होला । तर ती कुराहरु हामीले उभिएर नै बोलेका हौं । पहिला हामीलाई बस्ने ठाउँहरु छुट्टाइएको हुन्थ्यो । कार्यविधीमा हामीले बोल्ने समय तोकिएको हुन्थ्यो तर हिजो तीमध्ये केही पनि प्रकृया थिएन । भद्रगोल तरिकाले राखिएको थियो । त्यसले गर्दा नै त्यो स्थिति आयो । मेयर साबले पहिला बोर्ड बैठक र कार्यपालिका बैठक भनेको के हो पत्ता लगाउनुप¥यो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु