मोदीद्वारा दु:ख व्यक्त, चर्चित गायक केकेको निधन

२०७९, १८ जेष्ठ बुधबार १०:४८

काठमाडौं: चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिगि्रएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् ।

कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए । बलिउडसहित तामिल, तेलेगु, कन्नड, मराठी, बांग्ला र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए । निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो सेयर गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक जनाएका छन्।

हिन्दी, तामिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउड डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।

एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । बजरंगी भाइजानको गीत तु जो मिला, ओम शान्ति ओमको अजब सी, वो लम्हेको क्या मुझे प्यार है, रेडीको हमको प्यार हुवा, पल एल्बमको पल, काइट्सको दिल क्यों ए मेरा, भूल भूलैयाको लबों को, द ट्रेनको बिते लम्हे, हम दिल दे चुके सनमको तडप तडप, दसको दस बहाने लगायत उनका चर्चित गीत हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु