रोकिएको मतगणना कार्य एक हप्तापछि सुरु

२०७९, ६ जेष्ठ शुक्रबार २०:२७

पाल्पा: रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठक बसेर आज अपराह्नबाट मतगणना गर्न थालिएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहानैदेखि गणना गर्ने भनिए पनि सबै दलको सहमतिपश्चात दिउँसोदेखि मात्रै सुरु भएको हो । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो ।

निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो ।

सत्तारूढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका थिए । विवादका क्रममा मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

पाल्पाको अन्य नौ पालिकाको नतिजा सार्वजनिकपश्चात् नयाँ जनप्रतिनिधिले पदभार ग्रहणसमेत गरिसकेका छन् ।रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु