राप्रपाका अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार १०:२०

झापा, राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडाध्यक्ष पनि जितेको छ ।

राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पोषराज पौडेललाई १३९ मतान्तरले हराउँदै राप्रपाका ढुङ्गाना वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुङ्गानाले ११९१ र पौडेलले १०५२ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका माओवादी उम्मेदवार पुष्पलाल राजवंशी ७८५, मङ्गोल नेशनल अर्गनाइजेसनका दिलकुमार राई ३५, मौलिक जरोकिलो पार्टीका दीपेन्द्र घिमिरे २७ र राष्ट्रिय जनमुक्ति पार्टीका बैसागु राजवंशीले ६ मत ल्याएका छन् ।

७ नम्बर वडा एमालेको गढ हो । वडा अध्यक्षबाहेक सबै सदस्य एमालेले जितेको छ । वडा सदस्यमा एमालेका कुपितनारायण राजवंशी १०२२, केदारप्रसाद निरौला ९८४, सीतादेवी ढकाल १०९५ र विभा पासवान ११३७ मत ल्याएर निर्वाचित भएका छन् ।

राप्रपाले स्थानीय तह सदस्य निर्वाचनमा पहिलो पटक भद्रपुरमा वडाध्यक्ष पद जितेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु