भुइँकटरको भोट र राप्रपाको साथ सुखद देखिएन एमालेलाई

२०७९, ३ जेष्ठ मंगलवार १०:५२

चितवन: भरतपुर महानगरपालिकामा चारवटा वडाहरूको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा छ । चारवटा वडाको अन्तिम मत परिणाम आउँदा रेनु दाहाल सुवेदीभन्दा २९ मतले अगाडि छिन् । पछिल्लो पटक मत गणना सकिएको वडा नम्बर चार एमालेका लागि उत्साहप्रद रहेन ।
अघिल्लो निर्वाचनमा रोचक प्रतिस्पर्धाबीच निकै कम भोटले यो वडामा एमालेले वडाध्यक्ष जितेको थियो । अहिले एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका अर्पण पोखरेल वडाध्यक्षमा विजयी भए । एमालेले वडाध्यक्ष मात्रै गुमाएन मेयरको प्रतिस्पर्धामा संकट आउन सक्ने संकेत पनि यो वडाले दिएको छ । यो वडामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विशेष प्रभाव छ ।
राप्रपासँग नेकपा एमालेले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेको छ । वडा नम्बर ४ मा एमालेका वडाध्यक्षले एक हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत ल्याएका छन् । एमाले र राप्रपाका वडाध्यक्षहरूको कुल दुई हजार ५१३ मत पाएका छन् । तर‚ मेयर पदमा विजय सुवेदीले यो वडामा जम्मा एक हजार ७४५ मत र उपमेयर पदमा राप्रपाकी हिमला गुरुङले एक हजार ५८२ मत ल्याएकी छन् ।

मेयर र उपमेयरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भए पनि वडामा प्रभाव नपरेको पो हो कि भन्ने संकेत यसले दिएको छ । यो वडामा सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी रेनु दाहाललाई पनि तालमेलअनुरुपको मत आएको छैन । वडा नम्बर ४ मा वडा तहमै सत्तारुढ दलबीच गठबन्धन थियो । यहाँ गठबनधनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्पण पोखरेल २ हजार ५ सय १ मत ल्याएर विजयी भए ।

तर‚ गठबन्धनबाटै मेयर पदको उम्मेदवार रहेकी दाहाललाई यो वडामा १ हजार ८ सय २४ मत आयो । यो वडामा मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २ सय १६ मत ल्याए । पौडेलले रेनु र सुवेदी दवैलाई जाने मत आफूतिर तानेको प्रस्ट छ ।

रेनुलाई जाने कांग्रेसको मत जगन्नाथले काट्ने र राप्रपासँग तालमेल गर्दा आउने मतले विजयी हुने योजना बनाएको एमालेलाई वडा नम्बर ४ ले दिएको यो संकेत सुखद् छैन । कारण तालमेलमा रहेको राप्रपाले समेत वडा नम्बर ४ मा जसरी जगन्नाथलाई साथ दिए एमालेलाई मत अपुग हुने खतरा छ । चार नम्बर वडाको जस्तो मतको अवस्था रहे झिनो मतान्तरले अगाडि-पछाडि रहेका दाहाल र सुवेदीमध्ये मेयरको रेस रेनुका लागि अनुकूल हुँदै जान सक्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुरका वडाहरूमा मेयरले पाएको मत र अहिलेको निर्वाचनको उतारचढाव नियालिरहेका माओवादी केन्द्रका नेता सुदर्शन पौडेल प्रारम्भमा रेनु दाहाल झिनो मतले अगाडि-पछाडि परे पनि भरतपुरको १२ नम्बर वडापछि मतान्तर बढाउँदै अग्रता लिने बताउँछन् । १२ नम्बरपछिका वडाहरू सत्तारुढ गठबन्धनका लागि केही हदसम्म अनुकूल रहे पनि भरतपुरको १०, ११ र १२ नम्बर वडाबाट एमालेले मतान्तर बढाउन सक्ने आकलन एमालेकै नेताहरूको रहेको छ ।

‘१०, ११, १२ बाट हाम्रो मतान्तरमा राम्रै सुधार हुने अपेक्षा छ । त्यसपछिका कुनै कुनै वडा सत्तारुढ गठबन्धनका लागि केही सजिला होलान् तर प्रतिस्पर्धामा अहिलेकै जस्तो उही निकै थोरै मतको मात्रै अन्तर रहने छ । पश्चिमतिर हाम्रो मत राम्रो भएका वडा पनि छन् । त्यसैले हामी सफल हुनेमा विश्वस्त छौं‚’ एमाले नेता कृष्णभक्त पोखरेलले भने ।

Comments

ताजा खबर