कांग्रेसले हँसिया हथौडामा भोट हाल्न अप्ठेरो मान्दा दुख लागेको बताए

२०७९, २२ बैशाख बिहीबार १७:०२

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्न अप्ठेरो मान्दा दुख लागेको बताएका छन् । भरतपुरमा जारी सत्ता गठबन्धनको आमसभामा सम्बोधन गर्दै उनले पाँच दलीय सत्ता गठबन्धनमा रुख चिन्हमा आस्था राख्नेले हँसिया हथौडामा भोट दिन अप्ठेरो मान्दा दुख लागेको बताएका हुन् ।

रुख र हँसिया हथौडाको गठबन्धनको इतिहास हेर्न र बुझ्न कार्यकर्तालाई आग्रह गर्दै यसपालि गठबन्धनलाई जिताउन उनले आग्रह गरेका छन्। गठबन्धनको जित भयो भने आगामी धेरै बर्ष यही गठबन्धन कायम राख्ने उनको भनाइ छ । २०४६ साल र ६२, ६३ सालको जनआन्दोलन हँसिया हथौडा र रुखको एकताले सम्भव भएको उनले बताए । तसर्थ पनि यो सम्झौता वा गठबन्धलाई अपनाउन अप्ठेरो नमान्न भरतपुरका बासीन्दालाई उनले आग्रह गरे ।

यसअघिका सम्झौताहरु राष्ट्रहित विपरीत नभएकाले पनि धेरै शंका नगर्न उनले जोड गरे । भरतपुर महानगरमा प्रचण्ड पुत्री रेनु दाहाललाई सत्ता गठबन्धनले प्रमुखको उम्मेदवार उठाएको छ सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । नेकपा एकतामा धोका पाएको हुँदा ठूलो मूल्य चुकाएर आएकाले गठबन्धन नतोड्ने प्रतिवद्धता दाहालले जनाए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु