बालकथा: तिलकाने बाख्री:
तिलकाने बाखीले यसपल्ट चारवटा पाठापाठी ब्याएकी थिई । सबै स्वस्थ र फुर्तिला थिए । दुईवटा बोका र दुईवटा पाठी ब्याएकी तिलकाने बाख्री खोरकै सिनियर बाखी थिई । यसपटक चारवटा पाठापाठी जन्माएपछि त तिलकाने गाउँ भरिकै हाईहाई भई । दुईवटा पाठा र दुईवटा पाठी जन्माएकी तिलकानेलाई गाउँलेहरूले भाउ कस्न थाले । एउटाले पन्ध्र हजार बोली लगाएको थाहा पाएपछि अर्को गाउँलेले बिस हजार दिन तयार हुन्थ्यो । घरको आँगनमा पाठापाठी बऱ्याकबुरुक उफ्रेको देख्ने गाउँलेले त पच्चीस हजार मोल्न थाले । आफ्नो मूल्य दिनदिनै बढ्दै गएको सुनेकी तिलकाने भित्रभित्रै दङ्ग पर्थी ।
सुत्केरी स्याहारले मोटाएकी तिलकाने बाख्री आफ्ना सन्तानले आँगनमा बुर्कुसी मारेको देखेर खुबै रमाउँथी । तर उसलाई एउटा सन्तानको भने ठूलै पीर थियो । सेतो र कालो रङमा टाटेपाटे जन्मिएको माइलो पाठोको भने एकतिरको कानै थिएन । जन्मदै अपाङ्ग जन्मिएको माइलो छोराको भने उसलाई ज्यादै पीर परेको थियो ।
“बैंसमा यसले के गरी खाला ? दुनियाँले यसलाई के भन्लान् ?” भन्ने उसलाई पीर परेको थियो । एककाने भनेर सबैले जिस्काउलान् ! तिलकाने बाखीलाई ठूलै पीर परेको थियो ।
अपाङ्ग माइलो भने अरु दाजुबहिनीहरूभन्दा कम थिएन । एकातर्फको लामो कान हल्लाउँदै घरको आँगन र मझेरीमा बुरुक्क उफ्रन्थ्यो । गाउँलेहरू पनि माइलोको कान नभएको देखेर रोमाञ्चित हुँदै उफ्रिएको हेरेर दङ्ग पर्थे ।
पाठाहरू तीन महिनाको हुँदा लरक्क परेका वयस्क झैँ देखिन थाले । तिलकानेलाई यी पाठाहरूलाई पनि गोठकै मालीगाईकी कान्छी छोरी चाँदे बाच्छीसँगै स्कुल हालिदिन मन लाग्यो । उसले पनि चाँदे बाच्छीसँगै सबै पाठापाठीहरूलाई स्कुलमा भर्ना गरिदिई। चाँदे बाच्छीसँगै सबै पाठापाठीहरू । पनि स्कुलमा पढ्न जान थाले ।
अपाङ्ग भए पनि माइलो अरुहरूभन्दा बढी नै चकचके थियो । चकचके भएकैले उसले पढाइमा त्यत्ति मन लगाएन । मिस कक्षामा हुँदा पनि माइलो मिसको आँखा छलेर चकचक नै गरिरहन्थ्यो । कहिलेकाहीँ उसले मिसको गाली पनि खाने गरेँको थियो । ऊ पढाइमा कमजोर थियो । एक्कैछिन फुर्सद पायो कि माइलोले चकचक गरेँर साथीहरूलाई हैरान पार्ने गर्दथ्यो । साथीहरू सबैले उसलाई चकचके माइलो भनेर जिस्काउँथे ।
माइलो नुहाउन भने असाध्यै डराउँथ्यो । आमाले पानी लिएर नुहाइदिन ठीक परेपछि ऊ भागिहाल्थ्यो । उसकी आमाले अनेक कोसिस गर्दा पनि उसलाई नुहाउनको लागि तयार बनाउन सक्दैन थिई । जाडोको याम सकियो र गर्मी लाग्यो । अरु साथीहरू र उसकै दाजु र बहिनीहरू विदाको दिन नुहाएर सफा भइ स्कुलमा आउने गर्थे । माइलो भने त्यतिकै स्कुल जान्थ्यो । ननुहाएकोले धोएर लगाएको कपडा पनि छिनभरिमै मैलो हुन्थ्यो । पसिनाले गर्दा उसको शरीर डुङडुङ गन्हाउँथ्यो । साथीहरू ऊसँग नजिक बस्न चाहँदैनथे ।
एकरात माइलो पाठो निदाउन सकेन । उसको शरीर चिलायो । ऊ रातभरि छटपयई रह्यो । भित्तामा अडेर लागेर आफ्नो जिउ रगड्थ्यो । टाट्नाको भाटामा बेस्सरी जिउ दल्थ्यो । एउटै मात्र कान भए पनि यता र उति हल्लाउँथ्यो । अगाडिका खुट्टाले चिउँडो र निदार कोट्याउँथ्यो । पछाडिका खुट्टाले भुडी उधिन्थ्यो । माइलो रातभर निदाउन सकेन । आफ्नो जिउ कन्याएरै रात छर्लङ्ग बनायो । खोरका अरु खसीबाखाहरू सबै निद्रामा मस्त थिए । माइलोले भने कऱ्याक र कुरुक कनाएरै रात कटायो । कन्याउदा कन्याउँदा उसको शरीरभरी रगत आयो । त्यस्तो हुँदा पनि उसले आफ्नी आमालाई भनेन । ऊ सधैँ जस्तो खाना खाएर स्कुलतिर गयो । कक्षाकोठामा पनि उसले दिनभरि कन्याइरह्यो । स्कुलको भित्तामा अडेस लागेर उसले जिउ दली नै रह्यो । आज उसले पढाइपट्टि ध्यानै दिएन ।
आज कक्षामा कऱ्याक-कुरुक गरेँको आवाज सुनेर गुरुआमाले सोध्नु भयो, “माइलो तिमीलाई आज के भयो ? किन कन्याएको ?” माइलो भने बोलेन । ज्यादै कन्याएपछि गुरुआमाले उसको लुगा खोलेर हेर्नुभयो । उसको शरीरभरी रगत निस्केको थियो । उसको जिउ पुरै गन्हाएको पनि थियो । उसले कन्याएको ठाउँमा सानासाना कनिकाजस्ता घाउ पनि थिए ।
“यो त कहिलै नुहाउँदैन गुरुआमा !” नजिकै बसेको काले बिरालोले पोल खोलिदियो ।
“माइला ! तिमीलाई त लुतो आएको रहेछ। हेर, जिउ पनि गन्हाएको ! तिमी त फोहोरी पो रहेछौँ । फोहोरीलाई यस्तो हुन्छ । आफ्नो जिउ त सँधै सफा राख्नु पर्छ । सके हरेक दिन नसके पनि गर्मीको बेलामा एकदिन बिराएर र जाडोको बेला हप्तामा एकदिन राम्रोसँग नुहाउनु पर्छ !” गुरुआमाले माइलोलाई सम्झाउनुभयो ।
गुरुआमाले सम्झाएपछि साथीभाइको अगाडि माइलो लाजले भुतुक्कै भयो । आफ्ना दाजु र बहिनीहरू सुकुमार भएर स्कुल आएका छन् । उनीहरू फुर्तिका साथ साथीभाइसँग कुरा गर्छन । खेल्छन; खाजापानी साटासाट गरेँर खान्छन् । स्कुलमा माइलाको दाजु र बहिनीहरू मात्र थिएनन् । नजिकैको जङ्गलमा घर भएको न्याउरी मुसा पनि उनीहरूसँगै पढ्थ्यो । पोखरीको भ्यागुतो पनि कक्षाको साथी थियो । स्कुलको पाले दाइको करेसाबारीमा घर बनाएर बसेको छेपारो पनि झोला बोकेर उनीहरूको कक्षामा पढ्न आउने गरेँको थियो । सबै साथीभाइका अगाडि मिसले आफ्नो लुगा फुकाएर जिउभरिको रगतको टाटो देखाउँदै “तिमी त फोहोरी रहेछौ । कहिल्यै नुहाउँदैन रहेछौ ?” भनेको सुनेपछि माइलोलाई लाज लाग्यो । उसले भुइँतिर हेरिरह्यो । उसलाई साथीहरूले लुते भनेर जिस्काए । ऊ लाजले रातो भयो । कहिले स्कुलमा छुट्टी होला र घर जाउला भनेर छटपटाइरह्यो । स्कुलमा छुट्टीको घण्टी बज्नासाथ दाजु र बहिनीहरूलाई नपर्खिकन माइलो घरतिर कुद्यो । घरमा पुगेर माइलोले सबै कुरा आमालाई सुनायो ।
“थाहा पायौ ? मैले किन नुहाउनुपर्छ भनेको ? तिमीले मानेनौ; तिम्रो दाजु र बहिनीहरू सबै कति सफा छन् । समयसमयमा नुहाउँछन् । स्कुल जाँदा सधैँ हातमुख धोएर जान्छन् । उनीहरूलाई सबैले मन पराउँछन् । उनीहरू बिरामी पनि भएका छैनन् । त्यसैले मैले तिमीलाई भनेको; सधैँ सफासुग्घर बन्नु पर्छ । नत्र रोग लाग्छ । तिमीलाई लुतो आएको छ । यो एक प्रकारको रोग हो । यो रोग फोहोरी हुनेहरूलाई मात्र लाग्छ। अब यसलाई निको बनाउन औषधि खानुपर्छ । म तिमीलाई जडिबुटीबाट बनाएको औषघि दिन्छु । पहिला नुहाएर सफा बन ।” तिलकानेले आफ्नो प्यारो माइलोलाई सम्झाई ।
माइलाले पनि आफूले गल्ती गरेँको र अबदेखि त्यस्तो गल्ती कहिल्यै • नगर्ने कुरा आमालाई भन्यो । माइलोको कुरा सुनेर तिलकाने बाखी पनि खुसी भई । तिलकाने बाखीले आफ्नो प्यारो माइलोलाई नुहाइधुवाइ सफा पारिदिई। पाखोबारी र खोल्सी किनारबाट खोजेर ल्याएको जडिबुटी औषधि लगाइदिई । निमपातको डालो भाँचेर टाट्नामा हालिदिई ।
“तितो भए पनि यो औषधि हो । लौ, खाऊ । आज यही निमपात खाऊ । भोलिदेखि विसेक हुन्छ ।”
चञ्चले माइलो आज्ञाकारी भयो । आमाले भनेका सबै कुराहरू मान्न थाल्यो । दाजु दिदीहरूले भनेको पनि मान्न थाल्यो । केही दिन स्कुल नगएर माइलोले टाट्नामै बसेर आराम गयो । औषधीमुलो गयो ।
माइलोले नियमित औषधी खायो विस्तारै-विस्तारै उसको लुतो पनि हराउँदै गयो । केही समयपछि माइलो सफासुग्घर बन्न जाँगर लगाउन थाल्यो । नियमित स्कुल पनि जान थाल्यो अहिले उसलाई कुनै पनि रोगले समाएको छैन । ऊ अझ फुर्तिलो भयो । उसलाई स्कुलमा पनि सबैले माया गर्न थाले । सबैसँग मिलेर खेल्न थाल्यो । एउटा कान नभएको माइलो सबै साथीहरू र शिक्षकहरूको प्यारो भयो । पढाइमा पनि उसले सबैलाई उछिन्यो ।
स्कुलको वार्षिक कार्यक्रममा उसले कक्षामा प्रथम भएको र बानीव्यहोरा असल भएकोमा कार्यक्रमका प्रमुख अतिथि खसीबाखा मन्त्री श्री राज माझीको हातबाट दुईवटा पुरस्कार पनि पायो । माइलो दङ्ग फ्यो। माइलोकी आमा तिलकाने बाख्री खुसीले गद्गद् भई।