एमाले र माओवादीबीच चुनावी तालमेल

२०७९, १६ बैशाख शुक्रबार १२:२९

काठमाडौँ: सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनबाहेकका दलहरूसँग तालमेल नगर्न निर्देशन दिए पनि सिन्धुपाल्चोकको एक पालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

जसअनुसार गाउँपालिका अध्यक्ष एमालेलाई र उपाध्यक्ष माओवादीको भागमा परेको छ । जसअनुसार अध्यक्षमा एमालेका टपेन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादीकी दुर्गा थापा हुने सहमति गरिएको छ ।

माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्‍मेदवार मञ्जु नेपाल भण्डारीले आज उम्मेदवारी फिर्ता लिने सहमति गरिएको छ ।

त्यस्तै वडा पनि बाँडफाँट भएको छ । उनीहरूले संयुक्त घोषणापत्र निर्माण गरेर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । त्यस्तै आज साँझ साढे ५ बजे संयुक्त पत्रकार सम्‍मेलन गर्ने निर्णय गरेका छन् ।

माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीले केन्द्रको निर्णयबेगर नजाने दाबी गरे । ‘हामी केन्द्रको निर्णय पालना गर्छौँ, सुनकोशीमा एमालेसँग माओवादी मिल्दैन । त्यो हामी रोक्‍छौँ’ उनले इकागजसँग भने ‘सत्ता गठबन्‍धनबाहेकका दलसँग चुनावी तालमेल गर्न हामीमा छुट छैन ।’

Comments

ताजा खबर