बिजुली आपूर्तिमा समस्या , लोडसेडिङको समस्या आउने!

२०७९, १५ बैशाख बिहीबार ११:०३

काठमाडौँ: भारतबाट फेरि बिजुली पाइन छाडेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको लोड कटौती गर्न थालेको छ । उद्योगहरूलाई जानकारी दिएर लोड कटौती गर्न थालिएको प्राधिकरणले जनाएको छ । यद्यपि घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

नेपालले अहिले इन्डियन इनर्जी एक्सचेन्ज मार्केटबाट निकै थोरै मात्र बिजुली पाइरहेको छ । बिहारले पनि प्रसारणलाइन सुधारको काम चलिरहेको भन्दै केही दिनयता बिजुली दिन छाडेको छ । युक्रेनमाथि रुसको आक्रमणको असरका रूपमा कोइला तथा प्राकृतिक ग्यासको अभाव र मूल्यवृद्धिका कारण भारतमा बिजुली उत्पादन घटेको छ । मागअनुसार उत्पादन नभएपछि मूल्यसमेत बढिरहेको छ । यसरी क्षेत्रीय संकटका रूपमा ऊर्जा संकट देखिएकाले उद्योगलाई बिजुली कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०/१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुन सक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने जानकारी दिन्छौं ।’ बिजुली आपूर्तिको अवस्थाअनुसार उद्योगहरूले कुनै दिन पूर्ण लोड र कुनै दिन आंशिक लोड पाउनेछन् ।

अहिले नेपालमा करिब ३ सय मेगावाट बजार बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । उक्त माग भारतबाट आयात गरेर पूरा गरिँदै आएको थियो । भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ । अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ, जसकारण त्यहाँ बिजुली नै पाइन छाडेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु