नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम न्यून, २ कम्पनीमा सकारात्मक सर्किट

२०७९, ७ बैशाख बुधबार १५:२८

काठमाडौं : सेयर बजार बुधबार फेरि तल झरेको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा खरिदबिक्री रकम भने न्यून हुँदै गएको छ । यस दिन सूचक ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा अडिएको छ । १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञान विकास हुन सकेको छैन । सोही कारण बजारको ‘फ्रि फल’ नरोकिएको हो । बुधबार बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

चर्को ब्याजदर र तरलता अभावका बीचमा पनि थोरै भए पनि नाफा बढाउन बैंकहरु सक्षम भएका छन् । तर यसको सकारात्मक प्रभाव बजारमा देखिएन । बजार विस्तारका लागि नीतिगत रुपमै सुधार हुनुपर्ने देखिन्छ । यसअघि नीतिलाई चलाएकै कारण बजार बिग्रिएको हो । यसर्थ, अब यसलाई सुधार्न पनि त्यही बिगारिएको नीतिमै सुधार गर्न आवश्यक देखिन्छ ।

विशेषगरी, केन्द्रीय बैंकको पुँजी बजार विरोधी गतिविधिले सेयर बजार घटेको हो । बजारलाई सोझै प्रहार गर्ने गरी केन्द्रीय बैंकले एकपछि अर्को नीति–निर्देशनहरु जारी गर्यो । यसको सीधा र प्रत्यक्ष प्रभाव बजारमा अहिले देखिएको छ । तरलता अभाव, चर्को ब्याजदर बजार घटाउने प्रमुख कारण हुन् । सीसीडीलाई सीडी रेसियो बनाउने अनि बैंकहरुलाई ब्याजदर बढाउन दबाब दिने नीति पनि केन्द्रीय बैंकले लियो ।

तर ब्याजदर बढाइए पनि निक्षेपमा भने सुधार हुन सकेन । निक्षेप वृद्धि नहुँदा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ । यसले समग्र अर्थतन्त्रसहित सेयर बजारलाई पनि अप्ठेरोमा पारेको अवस्था छ । सेयर बजार तलमाथि गरिरहन्छ । यसकारण लगानीकर्तामा धैर्यता हुन आवश्यक छ । यस्तै, सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरी लगानी गर्न सक्नुपर्छ ।
नाफा, इपीएस, वितरणयोग्य नाफा लगायतका सूचकहरुलाई आधार मानेर लगानी सम्बन्धी निर्णय लिन अनुभवीहरुले सुझाव दिने गरेका छन् । २२८ कम्पनीको ३५ लाख ७० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेष्डो समृद्ध लघुवित्त अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र सिद्धार्थ बैंक परेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु