अस्वाभाविक दाबी गरेकाले मित्रवत प्रतिष्पर्धा, कास्की अध्यक्षले पोखराको मेयर नपाए ‘एमालेमा जाने धम्की‘

२०७९, ६ बैशाख मंगलवार ०७:२०

पोखरा: कास्कीमा सत्ता गठबन्धनको बैठक चलिरहँदा सोमबार कास्की कांग्रेसको एक विज्ञप्ति जारी भयो । केन्द्रबाट पोखरा महानर नेकपा (एकीकृत समाजवादी)ले पाउने निर्णय भएको हल्ला चलेपछि एकाएक विज्ञप्ति जारी गरेर कास्की कांग्रेसले एकीकृत समाजवादीलाई दबाब दिने नीति अख्तियार गरेको हो ।

कास्की कांग्रेसका सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले हस्ताक्षर गरेको विज्ञप्तिमा एकीकृत समाजवादीले ‘अस्वाभाविक दाबी गरेकाले मित्रवत प्रतिष्पर्धा गर्न सकिने तर सँगै नरहेको’ उल्लेख गरिएको थियो ।
विज्ञप्ति जारी भएपछि कांग्रेस सभापति किशोरदत्त बराललाई गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताले आधिकारिकता सोधे ।

“साथीहरूले एउटा विज्ञप्ति जारी गर्नुभएछ । त्यसले अलिकति डिस्टर्ब गर्‍यो । कांग्रेस सभापतिले आधिकारिक होइन भन्नुभयो,” एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले भने ।
गठबन्धनको बैठकमै रहेका कास्की सभापति बरालले आफू गठबन्धनकै पक्षमा रहेको भनेर अन्य नेतालाई आश्वस्त पारे । मंगलबार दिउँसो २ बजे फेरि बैठक बस्ने गरेर बैठक विनानिष्कर्ष सकियो ।

यता, विज्ञप्तिकै कारण एकीकृत समाजवादी कास्कीका अध्यक्ष तथा पोखराको मेयरका आकांक्षी धनराज आचार्यलाई पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले फोन गरे । आचार्यले भने, “नेताको फोन त आइहाल्छ नि ।”
फोनमा नेपालले विज्ञप्तिबारे सोधेका थिए ।

“गठबन्धनमा केही कुरा भएको छ र भनेर सोध्नुभएको थियो । अहिले बाहिर विज्ञप्ति आएको छ, तपाईंहरूले धेरै माग गरेको हो र भनेर सोध्नुभएको थियो, हामीले होइन, सौहार्दपूर्ण तरिकाले बैठक भइरहेको छ भनेर जानकारी गरायौँ,” उनले भने ।
तर, कास्की कांग्रेसका सचिव भानु ढकालको दाबीअनुसार अध्यक्ष नेपालले आचार्यलाई फोनमा ‘कांग्रेसले नि उमेदवारी दर्ता गराउँछ । तपाईंले पनि गराउनुहोस्, वैशाख तेस्रो सातासम्म माहोल कसको पक्षमा बन्छ उसैलाई आन्तरिक समर्थन गरौँला’ भनेका थिए ।
तर, आचार्यले यसलाई ठाडै इन्कार गरे । उनले भने, “कसले यो वाइयात कुरा गरेको छ । त्यस्तो केही भन्नुभएको छैन ।”
सचिव ढकालले चाहिँ आचार्यले एमालेमा जाने भनेको प्रमाण नै आफू रहेको दाबी गरे ।
उनले भने, “म कहाँ गएर बोल्नुपर्छ । मेरै अगाडि धनराजजीले माधव नेपालको फोन आउँदा, मलाई मेयर दिन सके पोखराको मेयर दिनु, नभए म एमालेमा जान्छु, भनेर भन्नुभयो । उहाँजस्तो गैरजिम्मेवार व्यक्तिलाई हामीले कसरी अगाडि लिएर जानु ?”
कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई चाहिँ रामचन्द्र पौडेलले फोन गरेर पोखराको बारेमा आफू लागिरहेको जानकारी गराएका थिए ।
यता माओवादी केन्द्रले पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा उनीसहित गोमा ढकाल र सूर्यप्रकाश त्रिपाठीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतकाअनुसार पोखरामा कांग्रेसले मेयर पाउने सम्भावना बढिरहँदा उपमेयरमा सिर्जना त्रिपाठीकै सम्भावना बढी छ ।
माओवादी केन्द्र पोखरा महानगर कमिटीले मेयरमा चाहिँ माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु