काठमाडौं: फोहोरमैला थन्क्याउने ठाउँमा स्थानीयको अवरोधले विगत दुई सातादेखि उपत्यकामा दुर्गन्धमय छ । सिसडोलका स्थानीयवासीले विभिन्न माग राखी बेला–बेला फोहोरमैलाका गाडी रोकेर अवरोध गर्दै आएका छन्, यो कुनै नयाँ विषय होइन । काठमाडौँ महानगरपालिकाले फेरि सम्झौता गर्छ, केही दिन अवरोध हुन्छ, फेरि त्यही अवस्था पुनरावृत्ति हुन्छ । महानगरले करोडौं रुपैयाँ खर्च गरिसकेको छ । वर्षात्अघि नै पक्की बाटो बन्नुपर्ने सिसडोलवासीको माग छ । एउटा माग पूरा हुन्छ, अर्काे माग उठ्छ । यो श्रृंखलावद्ध रूपमा उठिरहन्छ ।
फोहोर व्यवस्थापन महानगरको मात्र चुनौती ठानिएको छ । संघीय सरकारमा बस्नेहरू गम्भीर छैनन् । यो फोहोर मात्र होइन, ऊर्जा उत्पादनको कच्चा पदार्थ पनि हो । फोहोरलाई उपयोग गर्न नसक्नु राज्यको कमजोरी हो । विश्वमा धेरै देशमा फोहोरलाई सहज रुपमा व्यवस्थापन गरेका हुन्छ । ऊर्जा उत्पादन पनि गरेकै छन् । कम्पोष्ट मल पनि बनाएकै छन् । हामीकहाँ त भए भरको फोहोरलाई एउटै खाल्डोमा हाली पुर्ने गरिन्छ, वरपर दुर्गन्ध । सिसडोलवासी फोहोरका कारण प्रदुषित वातावरणमा बस्न बाध्य छन् ।
फोहोरलाई स्रोतमै वर्गीकरण ग¥यो भने यसको व्यवस्थापन गर्न सजिलो मात्र होइन, उपयोग पनि गर्न सकिन्छ । पुनः प्रयोगमा ल्याउन सकिने (रिसाइकलिङ) फोहोर थुप्रै छन् । गाडीका सिसादेखि फलामसम्म, खेर फालिएको भातदेखि तरकारीसम्म र कागजदेखि प्लाष्टिकसम्म एउटै टोकरीमा हाल्दा फोहोरको परिमाण पनि बढ्ने गर्छ । उपत्यकामा दैनिक १२ सय टन फोहोर उत्पादन हुन्छ । हामीकहाँ फोहोरलाई उपयोग गर्ने नीति नै छैन । सर्वप्रथम फोहोरलाई कसरी पुनः प्रयोग, उपयोग वा अन्य उत्पादनमा परिणत गर्न सकिन्छ भनेर थाहा पाउनुपर्छ । यसका लागि विदेशमा अध्ययन गरेका विशेषज्ञहरू नेपालमा नभएका होइनन् । यही फोहोर व्यवस्थापन गर्न भनेर महानगरपालिकाका धेरै कर्मचारी वर्षाैंदेखि विदेश भ्रमण गरिसकेका छन् । तर व्यवहारमा उतार्न उदासीन छन् ।
यसका लागि सर्वप्रथम इच्छाशक्ति चाहिन्छ । त्यो इच्छाशक्ति महानगरपालिकाको वातावरण विभागमा मात्र भएर हुँदैन, सिंगो राज्यमा हुन्छ । देशका ठूलाबडा बस्ने ठाउँ काठमाडौं भएकाले यहाँको मात्र चासो बढी देखिएको हो । फोहोर देशभर नै उत्पादन हुन्छ । त्यसलाई देशैभर व्यवस्थापन गरिनुपर्छ, गाडेर होइन, उपयोग गरेर । मल उत्पादन गर्ने, ऊर्जा उत्पादन गर्ने, पुनः प्रयोग गर्ने ग¥यो भने फोहोरको परिमाण नै थोरै हुन पुग्छ, अनि त्यसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिन्छ । त्यसैले सर्वप्रथम फोहोर उपयोगितासम्बन्धी अध्ययन हुनुप¥यो । यसका लागि परामर्शदाता नै नियुक्त गरेर अध्ययन गराउन सकिन्छ ।
अध्ययन प्रतिवेदनले दिने सिफारिसअनुसारका बन्दोबस्ती ग¥यो भने कम्पोष्ट मल, ऊर्जा र पुनः उपयोग हुन जान्छ । यसो गर्न सके मात्र फोहोरको दीगो व्यवस्थापन हुन्छ । फोहोरलाई उपत्यकामा मात्र यसरी विसर्जन गर्नै होइन, सातवटै प्रदेशका ठूला शहर, नगरपालिका र गाउँपालिकाहरूमा गर्नुपर्छ । अहिले त भौतिक पूर्वाधार र सुविधा नभएका साविकका गाविसहरू पनि नगरपालिकामा परिणत गरिएको छ । गाउँका फोहोर उठाएर नगरपालिकाले शहर लैजाने गर्छ । अर्थात् शहर अझ दुर्गन्धित र वातावरण प्रदूषित हुँदै आएको छ । तसर्थ फोहोर व्यवस्थापनको एकसूत्रीय विधि होइन, बहुविधिमा जानुपर्छ ।