अब राजा फर्कने सम्भावना सकियो- कमल थापा

२०७९, ४ बैशाख आईतवार ०६:२६

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने सम्भावना सकिएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पुराना नेतालाई धैर्यता रहुञ्जेल राजा बोक्न समेत सुझाएका छन्।

पुरानो पार्टीका नेताहरूसँग कुनै गुनासो नभएको उनले उल्लेख गरेका छन्।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।’

पार्टीहरू असफल भएर राजा आउने होइन भन्दै एउटा पार्टी असफल भए अर्को आउने समेत उनले बताए।
‘राजा फर्कने अरू नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन’, उनले भनेका छन्।
उनले पुरानो पार्टी पनि आफैंले बनाएको घरमा आउने बताए।

‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ। अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईंहरूको लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन्, ‘राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहने छ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु