सबै महानगरमा कांग्रेसको नेतृत्व हुनुपर्ने माग

२०७९, ४ बैशाख आईतवार ०५:४०

काठमाडौँ: सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले चुनावी तालमेल गरे पनि छ वटै महानगरपालिकामा आफ्नै नेतृत्व हुनुपर्ने माग गरेका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेताहरूले छ वटै महानगरपालिकामा कांग्रेसको नेतृत्व हुनुपर्ने माग गरेका हुन् । बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनमा रहेका सबै दललाई मिलाएर लैजानुपर्ने भन्दै सहजीकरण गर्न रुलिङ गरेका थिए ।
केन्द्रीय सदस्य एनपी सावदले बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारीबारे छलफल भएको बताए ।
‘महानगर र उपमहानगरमा कसरी तालमेल गर्ने भनेर व्यापक छलफल भयो, नेताहरूले आ–आफ्नो दृष्टिकोण राख्नुभयो,’ उनले भने, ‘गठबन्धन गर्ने भनेर पहिल्यै निर्णय भइसकेको छ । अब कहाँ कसरी गर्ने ? कसरी यसलाई तार्किक निष्कर्षमा पुर्याउने भन्ने छलफल भयो ।’

बैठकमा बोल्ने क्रममा नेताहरूले मतभारको आधारमा तालमेल गर्दा छ वटै महानगरपालिकामा कांग्रेसको नेतृत्व हुनुपर्ने माग गरेको एक पदाधिकारीले बताए । ‘पार्टीले स्थानीय अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको हो, गठबन्धन गर्ने भनेर निर्णय गरेको होइन,’ ती नेताले इकान्तिपुरसँग भने, ‘सबै महानगरले मतभारको आधारमा कांग्रेसले नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । कोही पनि छोड्न तयार छैनन् । नेताहरूले त्यही कुरा यहाँ राख्नुभयो । महानगरपालिकामै प्रमुख पद अर्को पार्टीलाई छाड्ने कुरा यथार्थमा निकै जटिल बनेको छ ।’

अधिकांश नेताहरूले भरतपुर महानगरपालिकालाई केन्द्रमा राखेर धारणा राखेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महानगरमा गठबन्धन गर्दा भरतपुर महानगरमा कांग्रेसको नेतृत्व हुनुपर्ने कुरालाई गठबन्धनको मापदण्डभन्दा अलगरुपमा हेर्नुपर्ने बताएका थिए ।

‘तालमेल गर्न सक्ने पार्टीको निर्णय हुँदै हो, तर स्थानीय तहका साथीहरूले गरेको निर्णय लत्याएर गठबन्धनमा जान सकिदैन, त्यो लाभदायी पनि हुँदैन,’ महामन्त्री थापाले भनेका थिए ।

महामन्त्री शर्माले भने भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रले कांग्रेसलाई नदिए मित्रवत् प्रतिष्पर्धा गर्नुपर्ने नयाँ प्रस्ताव गरेका थिए । ‘०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेकै हो । माओवादी चाहन्छ, यो पटक पनि काँग्रेसले सघाउनुपर्छ । हामी चाहन्छौं, यो पटक माओवादीले कांग्रेसलाई छोडनुपर्छ,’ बैठकमा महामन्त्री शर्माले भनेका थिए, ‘यदि दुवैले एक अर्कालाई नछाड्ने हो भने नयाँ र तेस्रो विकल्पमा जाऔँ । मित्रवत् प्रतिष्पर्धा गरौँ ।’

भरतपुरमा मतभारको हिसावले माओवादीभन्दा कांग्रेस धेरै गुणा अघि रहेको र विगतमा माओवादीलाई दिइसकेकाले अब कांग्रेसले स्वभाविकरुपमा त्यहाँ पालो पाउनुपर्ने नेताहरूको दाबी थियो । ‘भरतपुरको विषयमा धेरै विवादित हुनु आवश्यक छैन । पार्टीको निर्णयअनुसार स्थानीय अवस्था, आवश्यकता र त्यहाँका साथीहरूको निर्णय प्रष्ट भइसकेको छ । त्यहाँको जे मतभार हो, त्यसैलाई टेकेर निर्णयमा पुगौँ,’ महामन्त्रीद्वयको जोड थियो ।

सहमहामन्त्री जीवन परियारले पोखरा महानगरपालिकामा गठबन्धन गर्दा कांग्रेसको नेतृत्व हुनुपर्ने दाबी गरेका थिए । गठबन्धनमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व दाबी गरिरहेको छ भने सभापति देउवा समेत त्यसकालागि सकारात्मक रहेको चर्चा छ ।

‘पोखरामा कांग्रेसको मतभार गठबन्धन दलमध्ये सबैभन्दा माथि छ । स्थानीय समितिको निर्णय पनि नेतृत्व पाउनुपर्छ भन्ने छ । उपप्रमुख अन्य पार्टीलाई दिन सकिन्छ, तर प्रमुख पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्छ,’ सहमहामन्त्री परियारले भनेका थिए ।

‘काठमाडौंमा कांग्रेसले पहिल्यै उपमेयर जितेको हो, ललितपुर र विराटनगरमा कांग्रेसकै नेतृत्व छ । वीरगञ्जमा जसपाले पहिले जितेको भन्दै दाबी गरेपनि त्यहाँ उसका मेयरले पार्टी नै छाडिसके, त्योबाहेक पोखरा र भरतपुर हुन् त्यहाँ पनि कांग्रेसको मतभार बढी छ,’ सहमहामन्त्री परियारले भने, ‘आफ्नो पार्टीको मतभार हेरेर निर्णय गर्दा प्रमुख पद राखेर उपप्रमुखमा साझेदारी गर्न सकिन्छ । नत्र गठबन्धन गर्नु अर्थपूर्ण छैन ।’

एक नेताका अनुसार बैठकमा बोल्ने नेताहरूले गठबन्धनमा रहेका दलहरूले मतभारभन्दा ठूल–ठूला माग गर्दा समस्या भएको बताएका थिए । ‘पार्टीको मतभारको मुल्यांकन छैन, यसै प्रमुख पदमा दाबी गरिरहेका छन्, यो कसरी व्यवस्था गर्ने हो ? भनेर छलफल भयो । तर, तालमेल गर्ने भनेर पार्टीले निर्णय गरेपनि गठबन्धन दलहरूको माग पूरा गर्न सकिने अवस्था छैन,’ ती नेताले भने ।

अधिकांश नेताहरूले प्रदेश र स्थानीय पालिकाको धारणाअनुसार मात्रै गठबन्धन र उम्मेदवारीको विषयमा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

जवाफमा सभापति देउवाले गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् । ‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’

प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने बैठकको निष्कर्ष रहेको बताए । ‘नेताहरूले स्थानीय अवस्थाअनुसार कुरा राख्नुभयो । तर, गठबन्धन नगर्ने भन्ने कुरा छैन । महानगरपालिका र उपमहानगरपालिकामा समेत गठबन्धन गरेर जानुपर्छ भन्ने नै हो,’ उनले इकान्तिपुरसँग भने, ‘तर गठबन्धन गर्दा स्थानीय साथीहरूको भावनालाई बुझेर नै अघि बढ्नुपर्छ भन्ने सबैको जोड छ ।’

शनिबारको बैठकमा नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, बद्री पाण्डे, सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयनका लागि बैशाख ११ र १२ गतेको मिति तोकेको छ । तर, सत्ता गठबन्धनले सीट बाँडफाँडको मापदण्ड तयार गरेपनि कहाँ कहाँ गठबन्धन गर्ने भनेर नै टुंगो लगाउन सकेको छैन । कांग्रेसले समेत आफ्ना उम्मेदवार छान्ने प्रक्रियालाई गति दिन सकेको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु