केराको मूल्य दर्जनको झण्डै २०० रूपैयाँ

२०७९, २ बैशाख शुक्रबार १६:१०

काठमाडौं: नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।

खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ । केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।

थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताए ।
चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ । यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतमा पर्ण जस्तै निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको संघका महासचिव विनोद पाण्डेले बताए ।

‘भारतको भुसाल, आन्द्र प्रदेश र उत्तर प्रदेशबाट नेपालमा केरा एलसीबाट मात्रै आउने गरेको थियो,’ पाण्डेले भने ‘त्यो केरा आयात अब रोकिएको छ ।’

करिब डेढ महिना केरा आयातलाई १०० प्रशित नगद मार्जिनको व्यवस्था गरिए पनि चैत २१पछि भने एलसी नै रोकिएको उनले बताए । बजारमा अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले अब नयाँ आयात रोकिंदा मूल्य मात्रै नभई बजारमा केराको अभाव समेत हुने पाण्डेले बताए ।

राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार आव २०७६/०७७ सम्म नेपालमा वार्षिक १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा २ लाख ७८ हजार ८९० मेट्रिकटन केरा उत्पादन हुन्छ ।

व्यसायीहरुकाअनुसार यो उत्पादनले बजारको कुल मागको २ महिनालाई मात्रै धान्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले भारतबाट १ अर्ब १६ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ३८ करोड ३३ लाख किलो केरा आयात भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु