लुम्बिनीमा नयाँ वर्षलाई संगीतले स्वागत

२०७९, १ बैशाख बिहीबार १२:४६

लुम्बिनी: नयाँ वर्ष लक्षित गरेर रूपन्देहीका होटल तथा रेस्टुराँपिच्छे सांस्कृतिक कार्यक्रम गरिएका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रम गरिएका हुन् । नयाँ वर्ष लक्षित गरेर होटलले विशेष सजावटसँगै रमझम कार्यक्रम गरेको जनाएका छन् । होटल तथा रेस्टुराँले नयाँ वर्ष प्याकेज घोषणा गरेका छन् । उक्त प्याकेजमा खाने, पिउने र रमाउने कार्यक्रम समेटिएका छन् । यहाँका व्यावसायिक संघसंस्थाले सडक खाना महोत्सव आयोजना गरेका छन् ।

नयाँ वर्ष लक्षित गरेर काठमाडौंलगायत मुलुकका विभिन्न सहरबाट पाहुना आएका छन् । तारे तथा स्तरीय होटलले पाहुना रिझाउने कार्यक्रम र लाइभ म्युजिकलाई जोड दिएका छन् । जिल्लाको तिलोत्तमा नगरपालिकास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टले लाइभ म्युजिकको साथमा नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।
उक्त रिसोर्टमा बास बस्न आउने पाहुनालाई लक्षित गरी नयाँ वर्ष रुम एण्ड फ्रुट्स बास्केट प्याकेज तय गरेको सञ्चालक गोपाल रानाले बताए । ‘बफेट स्न्याक्ससहित म्युजिकल नाइटमा मनोरञ्जन प्रदान गर्नेछौं,’ उनले भने, ‘हेल्थ क्लब र ब्रेकफास्टमा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।’ सुपर डिलक्स रुम ६ हजार ५ सयमै बुक गर्ने सुविधा मिलाइएको उनले बताए । यसअघिका वर्षमा समेत सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको नयाँ वर्षमा बाहिरी पाहुनासँगै स्थानीयको समेत राम्रो उपस्थिति रहने उनी बताउँछन् ।

भैरहवामा रहेको बोधी रेडसन होटलमा ६ सय ९९ रुपैयाँमा अनलिमिटेड खान मिल्ने गरी प्याकेज बनाइएको छ । आन्तरिक तथा भारतीय पर्यटकलाई होटलमा स्वागत गर्ने गरी प्याकेज कार्यक्रम बनाइएको सेल्स म्यानेजर पूजा न्यौपानेले बताइन् । रेडसन पार्कसमेत सञ्चालनमा रहेकाले ग्राहकले गर्मी छल्दै नयाँ वर्षको मजा लिन सक्ने उनले बताइन् । देशैभरि शाखा विस्तार गरिरहेको होटल पौवाले बुटवल र भैरहवामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पौवामा निशान भट्टराई, मिलन नेवार, भानुभक्त ढकाल, बानिका प्रधान, राजनराज सिवाकोटी लगायतका कलाकारले मनोरञ्जन दिने उनले बताए । होटलले नयाँ वर्ष विशेष परिकारमार्फत ग्राहकको मन जित्ने होटलका ब्रान्ड म्यानेजर विष्णु भण्डारीले बताए ।

भलवारीस्थित होटल हिडन प्यालेसमा युवा वर्गमा परिचित अमध्येम ब्यान्डको प्रस्तुति रहने कार्यक्रम तय भएको सञ्चालक आभूषण खनालले बताए । उनका अनुसार चैत ३० गते ब्यान्डले ग्राहकलाई रमाइलो प्रदान गरेको छ । नयाँ वर्षको पहिलो दिनैभरि द ट्राभलर्स ब्यान्डले प्रस्तुति देखाउने उनले बताए । ‘यसपटक युवा लक्षित लाइभ ब्यान्डलाई जोड्दै छौं,’ उनले भने, ‘रुफ टप बार भएकाले युवा जमातको उपस्थिति बाक्लिँदै छ ।’ रुम सर्भिसमा पहिलेको दररेट घटाएर न्यु इयर अफर रेट राखिएको उनले बताए । होटलमा वैशाख १ गते बास बस्ने ग्राहक जोडीले ३ हजार रुपैयाँमा खाजासहित रुम पाउनेछन् ।

भैरहवामा सडकमा खाना महोत्सवसमेत आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिएको छ । होटल तथा रेस्टुराँ व्यवसायी संगठन रूपन्देहीले भैरहवाको सडकमा बुधबार खाना महोत्सव आयोजना गरेको हो । महोत्सवमा होटलका विभिन्न स्टलमा परिकार पाके भने राष्ट्रिय कलाकार खुमन अधिकारी, सुमन थापालगायतले विभिन्न प्रस्तुति दिए । भैरहवाको सडकमा हजारौं मानिस नयाँ वर्षको पर्खाइमा रातभरि कार्यक्रममा झुमेका थिए । महोत्सवमा नेवारी, नेपाली, थारू, गुरुङ परिकारसमेत राखिएको थियो ।

Comments

ताजा खबर