केपी लाइ हराउन गठबन्धन आवश्यक- शेरबहादुर

२०७८, २७ चैत्र आईतवार १३:३१

काठमाडौं: निर्वाचनको संघारमा आफ्नो पार्टी कमजोर भएको र प्रतिपक्षीलाई हराउन गठबन्धन आवश्यक भएको भन्ने व्यक्ति सम्भवतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामात्र होलान् । सबै नेताले त्यसमा पनि सत्ताको नेतृत्व गरिरहेको पाटीका प्रमुखले यसरी निर्वाचनका बेलामा आफूले नेतृत्व गरेको दल कमजोर भएको अभिव्यक्ति दिने आँट गर्दैनन् ।
वास्तवमा कांग्रेस छिन्नभिन्न अवस्थामा छ । सभापति देउवाले ६ वर्षअघिको अधिवेशनवाट सुरु भएको कांग्रेसको ओरालो यात्राको स्मरण गराएका हुन् । के देउवाले भनेजस्तै कांग्रेसले आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्नसक्ने क्षमतासमेत गुमाइसकेको हो ?
यस प्रश्नको उत्तर पनि देउवाको सेरोफेरोमै खोज्नुपर्ने हुन्छ । अघिल्लो कार्यकालमा सभापति निर्वाचित भएदेखि उनको कार्यशैली, पार्टीभित्र बढ्दै गएको अन्तरर्द्वन्द्व, गुटउपगुटको सही व्यवस्थापन नहुनु यसका केही कारण हुन् । यसैगरी राष्ट्रिय सवालहरुमा अस्पष्ट धारणा, कमजोर प्रतिपक्षी भूमिका, सरकारसँगको अघोषित सहकार्य, कम्युनस्टि सरकारले गरेका मनपरी र संविधानविपरीतका क्रियाकलापको मौन साक्षी हुनु देउवा सभापति भएपछि देखिएका क्रियाकलापले कांग्रेस कमजोर भएको हो । पार्टीभन्दा गुटको स्वार्थ र अर्को महाधिवेशनको आन्तरिक तयारीजस्ता क्रियाकलापका कारण अहिले देशको सबैभन्दा पुरानो र शक्तिशाली पार्टी भएर पनि विभाजित नेकपा (एमाले)सँग एक्लै चुनाव लड्नसक्ने क्षमता गुमाएर चरमराएको बैशाखी टेक्न बाध्य भएको हो ।

लाग्छ, देउवाले सत्य बोलिरहेका छन् । हुन पनि कांग्रेस कुन अवस्थामा पुगेको छ भन्ने यथार्थ जानकारी उनीबाहेक अरुलाई हुनै सक्दैन । सभापतिमा दोस्रो कार्यकाल सुरु गरेका देउवाले पहिलो कार्यकालमा कसरी र किन कांग्रेस कमजोर हुँदै गयो भन्ने बिश्लेषण गर्न सकेको हुनुपर्छ ।
उनले कांग्रेस कमजोर भएको सार्वजनिक त गरे तर कसरी कमजोर भयो भनेर भने कहिल्यै बताएनन् । न देउवाले बताए न त कांग्रेसका कसैले देउवासँग कांग्रेस कसरी कमजोर भयो भनेर सोध्ने साहसै गरे । कांग्रेसभित्र देउवा विरोधी खेमाका महत्त्वपूर्ण नेताहरुले पनि सभापतिले निर्वाचनको मुखमा आएर बोलेको तीतो सत्यको यथार्थ खोतल्न आवश्यक सम्झेको देखिएन । देउवाको अभिव्यक्तिमा निहित सत्य बाहिर ल्याउनसक्ने साहस कांग्रेसभित्रका देउवा विरोधीहरुमा पनि रहेनछ ।
Global bank
पूर्वप्रधानमन्त्री केपी ओलीका क्रियाकलाप प्रतिगमनकारी थिए वा थिएनन् भन्ने विश्लेषणको विषय हो । तर, तीन वर्षसम्म प्रतिपक्ष नै नभएझैँ चलेको सत्ताले ओलीको महत्त्वाकांक्षा बढाएको हो । ओलीलाई संवैधानिक व्यवस्थाविरुद्धमा जाने आँट कसरी आयो भन्ने हेक्का राख्नु पनि आवश्यक हुन्छ ।
सभापति देउवाले नै भनेजस्तो एक्लै निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेको कांग्रेसलाई यो अवस्थामा पर््याउने तत्व के हो ? कार्यकारी अधिकारको चरम दुरुपयोग गर्ने ओली, प्रतिगमनतिर उन्मुख ओली, संविधान समाप्त गर्न खोज्ने ओली, तानाशाह बन्न खोज्ने ओली को ? यति धेरै आरोप लागेका व्यक्तिले नेतृत्व गरेको पार्टीसँग हरेक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस एक्लै निर्वाचन लड्न नसक्ने अवस्थामा किन पुग्यो ? शेरबहादुर देउवाहरुले यसको उत्तर नदिँदासम्म र कांग्रेस कार्यकर्ताले सही उत्तर नखोज्दासम्म कांग्रेसको अवस्थामा परिवर्तन आउन सक्दैन । कांग्रेसको ओरालो यात्रा जारी रहन्छ ।
ओली शासनका तीन वर्ष फर्केर हेर्ने हो भने कांग्रेस सभापति देउवाले गरेका हरेक निर्णय अहिलेको अवस्था आउनुमा कारक रहेका छन । उनले पार्टीभित्र जसरी नेतृत्व गरे त्यसले कांग्रेसलाई यति कमजोर अवस्थामा पुर्याउने थिएन । किनभने सबै नेता कृष्णप्रसाद भट्टराई र सुुशील कोइराला हुन सक्दैनन् । तर, देउवाले सत्ताधारी दलसँग शक्ति र पदको मोलमोलाइ गरेर जसरी उसले सुरु गरेको अतिवादलाई प्रकट अप्रकट समर्थन दिइरहे त्यसैबाट कांग्रेसको ओरालो यात्रा सुरु भएको हो । कांग्रेसको नेतृत्वमा भएको परिवर्तन, कांग्रेसकै नेतृत्वमा भएको संविधान निर्माण र कांग्रेसकै नेतृत्वमा भएको संविधानको कार्यान्वयनपछिको पहिलो निर्वाचनमा जुन लज्जास्पद हार कांग्रेसले बेहोर्यो त्यसबाट देउवाले कुनै पाठ सिक्न खोजेनन् ।
स्थानीय तहको २०७४को निर्वाचनमा माओवादीसँग गठबन्धनको फितलो निर्णय गरे । कांग्रेसको आडमा माओवादीले स्थानीय निर्वाचनमा आफ्नो साख जोगायो तर प्रदेश र संघको निर्वाचनमा एमालेसँग तालमेल गरेर कांग्रेसलाई समाप्त पार्ने प्रयास गर्यो । यतिमात्र होइन सत्ता संचालनका क्रममा सातवटै प्रदेश सरकारले जसरी कांग्रेस कार्यकर्तालाई प्रताडित गरे त्यसमा एमालेभन्दा माओवादीको दोब्बर बढी भूमिका थियो । देउवाकै गृह प्रदेशमा आज पनि माओवादी समाजवादी सरकारले जसरी कांग्रेसविरुद्ध सरकारको शक्ति प्रयोग गरिरहेको छ त्यो देउवाले अझै हेर्न खोजेका छैनन् ।
तीन वर्षको ओली सत्तासँग प्रमुख प्रतिपक्षको शक्तिलाई जसरी देउवा समूहले मोलमोलाइको विषय बनायो कांग्रेस कमजोर बनाउने मुख्य कारण त्यही हो । एकातिर कम्युनिस्ट सरकारले रुन र हांस्न पनि दिनेछैन भन्ने र अर्कोतिर प्रतिपक्ष नभएको स्थितिको सिर्जना गरी ओलीका हरेक गलत कदमको साक्षी बस्ने दोहरो भूमिकाका कारण अहिले अवस्था सिर्जना भएको हो ।
कम्युनिस्ट गठबन्धनभित्र सुरु भएको किचलोलाई नजिकबाट नियालिरहेका देउवाले त्यतिबेलामात्र ओलीविरुद्ध मुख खोले जब सत्ताको नेतृत्व पक्कापक्कीजस्तो लाग्यो । नेकपा विभाजन नहँुदासम्म देउवा ओली सरकारविरुद्ध बोलेका थिएनन ।
गणितीयरुपमा सत्ता प्राप्ति पक्कापक्की भएपछिमात्र उनले ओलीको प्रतिगमन देखे । त्यसपछिमात्र उनले ओलीको अतिवाद देखे ।
त्यसअघि लोकतन्त्रमा एउटा प्रतिपक्षले सरकारलाई गलत बाटोमा जान नदिन कुन भूमिका निर्वाह गर्यो ? छाया सरकारका रुपमा प्रतिपक्षले निर्वाह गर्नुपर्ने भूमिका कांग्रेस सभापति देउवाको तजबिजमा निहित रह्यो । पार्टीभित्र बोल्ने बोलिरहे, विरोध गर्ने गरिरहे । तर, सभापति देउवाले त्यो सुन्न चाहेनन् । पार्टी सभापतिमा निर्वाचित भए लगत्तैदेखि उनले अर्कोपटक पनि सभापति जित्ने मानसिकताले काम सुरु गरे । यसका धेरै उदाहरण छन् । सत्ता प्राप्ति भए महाधिवेशनमा फेरि सभापति जित्न सकिने आकलन गर्दै उनले सुरु गरेको सत्ता र शक्तिको दौडले अहिले देउवाले आफैँ वयान गरिरहेजस्तो कांग्रेस कमजोर बन्न पुगेको हो ।
कांग्रेस कमजोर हुनुमा कार्यकर्ता पनि दोषी हुन् भनेर कसैले भन्छ भने त्यो नितान्त मनोगत विश्लेषण हुनेछ । किनभने अघिल्लो महाधिवेशनमा कांग्रेसभित्र भएका अभ्यासले कांग्रेसको गाउँ, जिल्ला र केन्द्रमा निर्वाचित हुनेमध्ये अधिकांश दुई गुटका नेता कार्यकर्ता त भए कांग्रेसका कार्यकर्ता वा नेता हुन सकेनन् । उनीहरुको भूमिका कांग्रेस बलियो बनाउनेभन्दा देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालामध्ये कसलाई बलियो बनाउने भन्नेमा केन्द्रित रह्यो । यो अभ्यासलाइ रोक्ने काम कतैबाट हुन सकेन ।
गत स्थानीय निर्वाचनमा एमालेले दुइ महिना पहिले टिकट बाँड्यो भने कांग्रेसले नामाकंनको केही घन्टा बाँकी रहँदासम्म पनि अधिकांश स्थानीयतहमा उमेदवार तोक्ने र हटाउने काम गरिरहेको थियो । यस परिदृश्यले परिणाम सहजै अनुमान लगाउन सकिन्थ्यो ।
कांग्रेस सभापति देउवाकै गृह जिल्ला डँडेलधुरामा देउवा स्वयंले कांग्रेसभन्दा व्यक्ति विशेषलाई जिताउने अभ्यासलाई प्रोत्साहित गरेको साक्षी धेरै छन् । उनका विश्वासपात्र तत्कालीन जिल्ला सभापतिको निर्देशनमा सदरमुकामको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिकामा कांग्रेस उम्मेदवार हराइए भने परशुराम र भागेश्वरजस्ता स्थानीयतहमा हराउने प्रयास गरिए । यी सबै जानकारी प्रमाणसहित देउवा कहाँ पुग्यो तर देउवाले त्यस्तो गर्ने व्यक्ति नेतालाइ नसिहत दिने, कार्बाही गर्ने गर्नुको साटो प्रोत्साहन दिँदै प्रदेश निर्वाचनमा उमेदवार बनाए । यो उदाहरणमात्र हो देउवाको गृह जिल्लाको । पार्टी सभापतिकै गृह जिल्लामा यस्तो अवस्था थियो भने देशका अन्य भागमा के भयो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
बितेका ५ वर्ष नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा बढी पार्टी कमजोर बनाउने क्रियालाप भए । पार्टी कब्जा गर्ने एकमात्र उद्देश्य कांग्रेसको संस्थापनले लियो भने कसरी खोस्ने भन्ने ध्याउन्नमा संस्थापन इतरपक्षका नेताहरु लागे । त्यही कारण नेपाली कांग्रेसको ओरालो यात्रा तीव्र बन्दै गएको हो । पछिल्लो महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसभित्र कति धेरै विकृति फैलिसकेका थिए भने अहिलेको गाउँ, जिल्ला र केन्द्रका अधिवेशनमा कांग्रेस कम व्यवसायी, ठेकेदार र दलालहरुको बाहुल्य बढेर गयो । त्यसैको परिणाम हो सभापति देउवाले भनेजस्तो कमजोर नेपाली कांग्रेस । आफ्नै बलबुतामा निर्वाचन लड्न नसक्ने भएको कांग्रेस र माओवादीजस्ता अतिवादी र सिद्धान्तविहीन पार्टीको वैशाखी टेकेर निर्वाचनमा जानुपर्ने अवस्थामा पसगेको निरीह कांग्रेस ।
बितेका ५ वर्षमा कांग्रेसको मूल चरित्रको ठाउँमा दलाल संस्कृतिले जन्म लियो र नेतृत्वको सत्ता शक्ति मोहले फल्नेफुल्ने राम्रो मौका पायो । बहुसंख्यक जनताको हित र चाहनाआुसार नीति बनाउने कांग्रेसको परम्परा समाप्त भयो । जनतामा आधारित पार्टीका रुपमा रहेको कांग्रेसको चरित्र धन र बाहुबल बाहुल्य भएको पार्टीको रुपमा विकसित भयो । नेताहरुको चाकरी, चाप्लुसीमात्र कार्यकर्ता मूल्यांकनको आधार बन्यो । असल कार्यकर्ता, सिद्धान्तवादी कार्यकर्ता, प्रजातान्त्रिक समाजवादलाई मूल आदर्श मानेर राजनीतिमा जीवन समर्पण गरेका कार्यकर्तालाई उठ्न नसक्नेगरी कांग्रेस नेतृत्वले समाप्त पार्ने काम गर्यो । यो ५ वर्ष कति धेरै कहालीलाग्दो समय भयो भने अहिलेको निर्वाचन आउँदा नआउँदै कांग्रेसका त्यस्ता नेता कार्यकर्ता धनबली, बाहुबली र चाकरी चाप्लुसीवालाको छायामा हराएर गए ।
निर्वाचनको मुखमा आएर आफ्नो पार्टी निकै कमजोर रहेको अभिव्यक्ति दिएर कार्यकर्ताको मनोबल समाप्त पार्ने कुन उद्देश्य र आशय कांग्रेस सभापतिको हो त्यो अहिले नै किटान गर्न सकिँदैन । तर, विश्लेषण गर्दा के भन्न सकिन्छ भने सभापति देउवा आउँदो संसदीय निर्वाचनपछि पनि प्रधानमन्त्री बन्न चाहन्छन र कुनै निहित उद्देश्य प्राप्त गर्न कम्युनिस्ट पार्टीहरुको दूरी बढाएरै राख्न चाहन्छन् ।
पार्टीको शक्ति प्रयोग गरेर आफ्नो निहित उद्देश्य प्राप्तिका लागि उनले जुन आत्मघाती खेल सुरु गरेका छन त्यस्ले कांग्रेसको ओरालो यात्रालाई भने थप तीव्र बनाएको छ । पछिल्लो समय प्रधानमन्त्री पत्नी आरजु राणाको चुलिएको राजनीतिक महत्त्वाकांक्षा पूरा गर्नेबाहेक सभापति देउवाको अर्को स्वार्थ के हुन सक्ला ? सम्भावनाका कुरा गर्दा पहिलो नम्बरमा उनको त्यो उद्देश्य कमजोर कांग्रेसमा आफ्नी धर्मपत्नीको बलियो पकड बनाउने हुनसक्ने अनुमान धेरैले गरिरहेका छन् ।
यो अनुमान गलत हो भने अर्को स्वार्थ के हुन सक्ला ? के उनी कुनै शक्ति राष्ट्रको जालमा फसेर कांग्रेसको शक्ति क्षय गरिरहेका हुन् ? यसो हो भने त्यो कुन शक्ति हुन सक्छ र त्यो शक्तिको स्वार्थ के हुन सक्ला ?
सम्भावनाहरु जे पनि हुन सक्छन । देउवाको सत्ता चरित्रको विगत धेरै राम्रो भन्न सकिने छैन । विगतलाइ स्मरण गर्ने हो भने सत्ताका लागि उनले गरेका धेरै गलत क्रियाकलाप गरेका छन् । समयको गतिसँगै देउवाले विगतमा लागेका दाग पखालेर राजनीतिक जीवनको उत्तराद्र्धमा देश हितमा महत्त्वपूर्ण योगदान गर्लान् भन्ने धेरैको अनुमान उनका क्रियाकलापबाट गलत साबित हुन थालेको छ । के अर्कोपटक प्रधानमन्त्री हुनैका लागिमात्र उनका क्रियाकलाप र अभिव्यक्ति भएका हुन् ? त्यो पनि ओरालो यात्रामा लागेका कांग्रेसका शुभचिन्तक र कार्यकर्ता मान्न तयार देखिँदैनन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु