यसरी पक्राउ परे ‘नक्कली परीक्षार्थी, एमबीबीएस प्रवेश परीक्षा काण्ड!

२०७८, २३ चैत्र बुधबार ०७:३९

काठमाडौं: नक्कली परीक्षार्थी बनेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले पाँचजना विद्यार्थी अनुसन्धानका लागि राखिएका छन् । उनीहरूमाथि एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोप लागेको छ ।
गएको शुक्रबार पक्राउ गरिएका उनीहरूलाई परिसरले आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ । नक्कली परीक्षार्थीलाई सम्बन्धित कलेजबाट निकालिसकिएको छ । आरोप पुष्टि भए उनीहरूमाथि नियमाअनुसार कारबाही हुने छ ।

यसरी पक्राउ परे ‘नक्कली परीक्षार्थी’
चिकित्सा शिक्षा स्नातक तहअन्तरगत १४ वटा विषय छन् । ती सबैका लागि चिकित्सा शिक्षा आयोगले चैत १८, २० र २१ गते एकीकृत परीक्षा लिएको थियो । परीक्षामा ३५ हजार परीक्षार्थी सहभागी भएको आयोगको तथ्यांक छ । तीमध्ये एमबीबीएस तहको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, अहमद अन्सारी र सन्नीकुमार शाह छन् । उनीहरूमध्ये ४ जना किस्ट मेडिकल कलेजमा एमबीबीएस पहिलो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् भने अर्का एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौंको सीसीआरसी कलेज, एम्बिसन कलेज, ग्रामर पब्लिक स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
केही रकम एड्भान्समा, नाम निस्किएपछि १८ लाखसम्म !
एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर गएकाहरूले प्रवेशपत्र सक्कली विद्यार्थीकै लिएको र फोटो आफ्नो टाँसेको पाइएको प्रहरीले जनाएको छ । तर, उनीहरूले नागरिकता भने सक्कली परीक्षार्थीकै लिएर गएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
नक्कली परीक्षार्थीले एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेबापत १८ लाख रूपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । उनीहरूले अरूको नाममा परीक्षा दिने सम्झौता गर्दा ५० हजार देखि १ लाखसम्म एड्भान्सबापत रकम लिने गरेको र परीक्षाको नतिजा आएपछि ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
कुँवरकाअनुसार नाम मात्रै निस्किएमा थोरै रकम, शुल्क तिरेर पढ्नुपर्नेगरी नाम निस्किए सोहीअनुसार र पूर्ण छात्रवृत्तिमा नाम निस्किए १८ लाख रूपैयाँसम्म पैसा लिने गरेको पाइएको छ । कतिपय विद्यार्थीको हकमा भने आर्थिक अवस्थाका आधारमा सोहीअनुसार पैसाको डिल हुने गरेको अनुसन्धानले देखाएको छ । विश्वविद्यालयमा धेरै अंक ल्याएका पूर्व विद्यार्थीदेखि भारतीय नागरिकसम्म नक्कली परीक्षार्थीको रूपमा परीक्षामा सहभागी हुने गरेको पाइएको कुँवरले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार प्रत्येक शैक्षिक सत्रका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनु अगावै चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय प्रतिष्ठान र अन्य शिक्षण संस्थासँगको समन्वयमा एकीकृत परीक्षा हुनेछ । यस अर्थमा अहिलेको प्रवेश परीक्षामा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमलगायत सम्बन्धित निकायहरू यो केसमा जिम्मेवार देखिन्छन् ।
प्रहरीलेसमेत नक्कली परीक्षार्थीको उपस्थितिका लागि बिचौलियाले समन्वयकारी भूमिका निर्वाह गरेको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाइरहेको छ । तर, आयोगलगायतका सम्बन्धित निकायहरू भने यसमा पूर्णत: नक्कली र सक्कली दुवैतर्फका विद्यार्थीको मात्रै हात रहेको भन्दै पन्छिन खोजेको देखिन्छ ।
व्यक्ति दोषी हो, अरूको नाम जोडेर बद्नाम गर्नु ठिक होइन : आयोग
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी सक्कली परीक्षार्थीको नाममा अन्य व्यक्तिहरू परीक्षामा सहभागी हुनु आपाराधिका कार्य भएको भन्दै आवश्यक कारबाही हुने बताउँछन् ।
“नक्कली परीक्षार्थी बनेको आरोपमा प्रहरीले पक्राउ गर्नेबित्तिकै उनीहरू सम्बन्धित कलेजबाट त रस्टिकेट भइसके । आरोप पुष्टि भएमा थप कानुनी कारबाही हुनेछ,” डा. गिरीले भने, “यो केसमा सम्बन्धित कलेजको नाम जोडेर बद्नाम गर्नुभन्दा पनि व्यक्ति स्वयम्लाई कारबाही हुनपर्छ । फट्याइँ नक्कली परीक्षार्थी बन्नेहरूको हो ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु