छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

२०७८, २२ चैत्र मंगलवार १०:१३

काठमाडौं: इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।

बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले जनाएको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ । इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो ।

एक शिक्षकको यो कुकृत्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् ।
विश्वको ठूलो मुस्लिम बहुल देश इन्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन् । यी स्कुलहरुबाट गरिब परिवारका सन्ततीले समेत शिक्षा पाइरहेका छन् ।

Comments

ताजा खबर