ग्वाङखोलामा बन्दै गरेको पुल भत्कियो

२०७८, २१ चैत्र सोमबार १२:३९

सिन्धुली: बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।
ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनी जनाएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो ।
पुल भत्कँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् । ‘आइतबार दिनभर मौसम सामान्य नै थियो,’ जेभीका प्रोजेक्ट म्यानेजर कुमार रिजालले भने, ‘वर्षा लागकै थिएन, चैत्र महिनामा नै यति ठूलो बाढी आउला भनेर आकलन नगर्दा ठूलो क्षति भयो ।’

तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको रिजालले बताए । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।
योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् ।

‘खोलाको निकास सानो भयो, बाढी ठूलो आयो । त्यै भएर पुल भत्कियो,’ स्थानीय रामप्रसाद देवकोटाले भने, ‘खोला थुनेर काम गर्दा यो क्षति भयो । अबचैं पुल बन्ला र खोला बाढीमा हेलिनु नपर्ला भनेको फेरि अब कति वर्षलाई धकेलिने हो ?’

पुलले ह्यूम पाइप राखेर निकास नहुँदा स्थानीयको घरमासमेत बाढी पसेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु