बारको नेतृत्व चयनका लागि मतदान जारी

२०७८, १९ चैत्र शनिबार १४:५५

काठमाडौं: कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्य समिति चयनका लागि मतदान भईरहेको हो ।

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिइन् । उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ भने धेरैजसो मतदान केन्द्रहरुमा ५० प्रतिशत भन्दा बढि मतदान भईसकेको छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भईसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन् ।

नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ । सो समूहहरु मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु