यस्तो कसैलाई पनि नपरोस् , बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

२०७८, १९ चैत्र शनिबार ०८:२०

म्याग्दी: भनिन्छ- ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवतास्वरूप हुन्छन् ।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भई भगवान्को स्मरण, ध्यान र आराधनामा लाग्नुपर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा एक गाँस खानका लागि अरू कसैको आशा गर्दै दाजुभाइको भैँसी बाँध्ने गोठमा बास बसेर मृत्युको प्रतीक्षा गर्न बाध्य हुनुभएको छ ।

समयले ९६ वटा वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख)को महसुस गर्न नसक्नुभएका थापाले बिरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमाने पछि अहिलेसम्म बाँचेको बताउनुभयो । ‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ’ थापाले भन्नुभयो, ‘यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भने तर, उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।’

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ । लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन् ।

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरू बिताइरहनु भएका थापा दम्पतीका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपांगता भएकी) छन् । बिरामी हुँदा र साह्रो गाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्नुहुन्छ । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवा अवस्थामै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतन सहेर बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो, दुःखी रह्यो, उहाँ भन्नुहुन्छ ।

३८ वर्ष अघिको अवस्था सम्झँदै थापाले भन्नुभयो, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।’ थापा दम्पत्तिले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ । ‘अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउथ्यो र’ थापा भन्नुहुन्छ ।

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ता कपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

श्रीमती खिर कुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्नुहुन्छ । ‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ’ खिरकुमारीले भन्नुभयो, ‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हात खुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ ।’ खिरकुमारीले गहभरि आँसु खसाल्दै भन्नुहुन्छ, ‘निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु