लोकमार्गले किन गतिलिन सकेन ! , २८ वर्षसम्म अधुरै लोकमार्ग

२०७८, १९ चैत्र शनिबार ०७:४०

खोटाङ: रावाबेसी गाउँपालिका–१ कुभिन्डेका रामबहादुर राईलाई दिक्तेल–गाईघाट कालोपत्र सडकमा गाडीमा हुइँकिने रहर थियो । ट्र्याक निर्माण थालिएको २८ वर्षमा पनि सडक निर्माण पूरा नभएपछि उनको आशा मरेर गयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) निर्माण सुरु भएको हो । त्यतिखेर खोटाङकै अशोक राई यातायात राज्यमन्त्री थिए । छिट्टै सडक बन्ला र खोटाङवासीले सुख पाउलान् भनेर आशा गरे पनि व्यर्थ भएको राई बताउँछन् ।
निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम गरे जस्तो मात्र गर्ने तर कहिल्यै पूरा नगरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ । थुप्रै पटक सम्बन्धित निकायमा कुरा उठाउँदासमेत पार नलागेको उनले सुनाए । सगरमाथा लोकमार्गलाई सरकारले गौरवको आयोजनामा राखे पनि निर्माण कम्पनीकै कारण ढिलासुस्ती भइरहेको उनले दोहोर्‍याए । फोक्सिङटार–माहुरे (४९ किलोमिटर) सडकको काम भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी र देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको हो ।
२०७७ असारमा कालोपत्र भइसक्नुपर्ने सडक अहिले धुलाम्मे छ, वर्षामा हिलाम्मे हुन्छ । निर्माण अवधि सकिँदासमेत सडक कालोपत्रको काम अपूरै रहेकोमा जिल्लावासी निराश छन् । राजनीतिक नेतृत्वको आँखा चिम्लिने प्रवृत्तिले निर्माणले गति नलिएको नेपाल चेम्बर अफ कमर्शका जिल्ला सचिव सुमन श्रेष्ठ बताउँछन् । फोक्सिङटार–महुरे खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी भन्ज्याङसम्मको (२२ किमि) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी र सिमपानी भन्ज्याङदेखि फोक्सिङटारसम्मको (२७ किमि) सडकको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको हो । यसमध्ये भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभीले करिब ४१ करोड ५० लाख रुपैयाँमा २०७७ असार २९ भित्र सक्ने गरी २०७३ असार ३० मा सम्झौता गरेको थियो । तर ठेक्का लिएको साढे ५ वर्ष भइसक्दा ४५ प्रतिशत मात्र भौतिक प्रगति रहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले जनाए । सिम्पानीको भन्ज्याङदेखि फोक्सिङटारसम्मको निर्माण ६० प्रतिशत मात्रै सकिएको छ ।

५५ करोड ८७ लाख रुपैयाँ लागतमा २०७७ साउन १० मा सक्ने गरी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले २०७३ साउन ११ मा निर्माण सम्झौता गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु