नवजागृति टोलमा बम विस्फोट, बम बोक्नेहरू नै घाइते

२०७८, १७ चैत्र बिहीबार १०:४०

सुनसरी: स्थानीय तहको चुनाव नजिकिँदै गर्दा हिमाल सुरक्षा परिषद्का कार्यकर्ता बसेको सुनसरीको इटहरी नगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट भएपछि प्रहरीले व्यापक सतर्कता अपनाएको छ । सोमबार राति करिब ११ बजे अमित श्रेष्ठको घरमा विस्फोट भएको हो ।

विस्फोटबाट उक्त घरमा आमा लक्ष्मी ठकुरीसँगै डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनी बस्ने २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । विस्फोट पनि उनीहरू बसेकै कोठामा भएको हो । आँखामा चोट लागेका थापाको विराटनरस्थित आँखा अस्पतालमा र हातमा एवं तिघ्रामा चोट लागेका गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले सुतली बम भने पनि झोला राख्दा विस्फोट भएको र बम बोक्नेहरू नै घाइते भएकाले अरु नै घरेलु बम भएको बताइएको छ ।
‘हिमाल सुरक्षा परिषद्’ दुई महिना अघिमात्र चर्चामा आएको हो । फागुन १५ बाट सशस्त्र संघर्षको घोषणा गर्दै यो समूहले हिन्दु राष्ट्र तथा राजसंस्थाको माग गर्दै आइरहेको छ । प्रहरीले विस्फोट भएको कोठामा खान तलासी गर्दा परिषद्को पर्चासँगै कङ्ग्रेन्ट फ्रन्ट अफ नेपालको पर्चा पनि फेला पारेको छ । उक्त पर्चामा ‘कफन अवधारणा’ लेखिएको छ । उक्त कोठाबाट प्रहरीले महत्त्वपूर्ण दस्ताबेज फेला पारेको स्थानीयवासीले बताए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन । प्रहरीले परिषद्को विभिन्न लेटरप्याड तथा माइन्युट फेला पारेको स्थानीयले बताएका छन् । प्रहरीले थापा र गुरुङलाई कडा निगरानीका साथ उपचार गराइरहेको छ ।

एक स्थानीयले भने, ‘बम विस्फोटमा परेका लमजुङका युवा भने दुई साताअघि दुई दिनका लागि भन्दै थापाकी आमा लक्ष्मी ठकुरीले ल्याएर राखेकी थिइन् । घटना हुनुभन्दा दुई दिनअघि अर्थात् आइतबार ठकुरी भारत जाने भनेर घरदेखि बाहिरिएकी थिइन् । घटनापश्चात् ठकुरीको फोन बन्द छ ।’

यसअघि झापा प्रहरीले गत माघको विभिन्न मितिमा उक्त समूहका सदस्यलाई पक्राउ गरी फागुन ५ मा सार्वजनिक गरेको थियो । सुरक्षा स्रोतका अनुसार ‘गोरखा जनमुक्ति पार्टी’ का नाममा भूमिगत संगठन चलाउँदै आएका समूह नै परिषद्को नाममा पछिल्लो समयमा झापा, मोरङ र सुनसरीलाई लक्षित गर्दै भूमिगत संगठन चलाउँदै आएको छ । परिषद्ले हिन्दु अतिवादका नाममा चर्चमा विस्फोटको प्रयास गर्दै आएको थियो । इटहरीमा विस्फोट हुनुपूर्व पनि चर्चमा नै राख्ने योजनाअनुसार उक्त बम भारतबाट ल्याइएको भए पनि चर्च फेला नपरेपछि कोठामा लगिएको र झोला भुँइमा राख्दा अचानक विस्फोट भएको बताइएको छ ।

स्थानीयका अनुसार घटनामा उनको छोरा रविन घाइते भए पनि अहिलेसम्म आमा ठकुरीले सोधखोज र सम्पर्कमा आएका छैनन् । छिमेकीहरूका अनुसार ठकुरी करिब डेढ वर्षदेखि स्थानीय अमित श्रेष्ठको घरमा बस्दै आएका थिइन् । उनको श्रीमान् वैदेशिक रोजगारीअन्तर्गत कोरियामा रहेका बेला करिब सात वर्षअघि उतै आत्महत्या गरी मृत्यु भएको बताइएको छ । उनी कुनै कामधन्दा, व्यापार–व्यवसाय नगरी बसेकी थिइन् । टोलमा दुई/चार जना भेला पारेर दिनभरि लुडो खेलेर बसेको देखिन्थिन् ।

घाइतेमध्ये गुरुङ सोमबार मात्रै झापाको काँकडभिट्टा पुगेर आएका थिए । झापामा कुकर बम राखेको र इटहरीको यो घटनामा झापाकै खगेन्द्र खरेलको नाम जोडिएको छ । खरेलकै नेतृत्वमा झापाको बिर्तामोड नगरपालिका–४ बस स्टेन्डमा प्रेसर कुकुरका साथमा पर्चा फेला पारेको थियो । त्यस्तै माघ १३ मा दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको प्रेसर कुकर र पर्चा फेला परेको थियो । उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको नाम जोडेर चन्दा असुली गर्दै आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले बताएका थिए ।

दुवै घटनामा प्रहरीले परिषद्को पर्चा फेला पारेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकले टोली बनाएर अनुसन्धान अगाडि बढाएको थियो । उक्त अनुसन्धानका क्रममा नै मुख्य नाइके मानिएका झापा गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमनकुमार कार्कीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

यो समूहमा अधिकांश सदस्य आपराधिक गतिविधिमा जोडिएका व्यक्ति छन् । उनीहरूले संगठित अपराधको जालो पनि जेलमै बसेर बनाएको झापा प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो । भारतको बिहार राज्यको कालियागन्जमा बसेर झापा, मोरङ र सुनसरीमा अपराधको जालो फैलाएको बताइएको थियो ।

सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले भने, ‘इटहरीको घटनास्थलमा परिषद्को पर्चा भेटिएपछि झापाको घटनालाई पनि जोडेर हेर्न थालिएको छ । संगठन र सदस्य कुन–कुन अपराधसँग जोडिएका छन्, अनुसन्धान गर्दै छौं ।’ प्रहरीका अनुसार गुरुङले पैसाका लागि उक्त काम गरेको बताएका छन् । उनले आफूले ल्याएको वस्तु बम हो भनी थाहा नभएको पनि जनाएका छन् । उक्त समूहको राजनीतिक पृष्ठभूमि भने नभएर आपराधिक पृष्ठभूमि बढी भएको प्रहरीको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु