वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान प्रभावित

२०७८, १६ चैत्र बुधबार ०८:०४

काठमाडौँ: वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन् ।
मंगलबार पनि एक दर्जन आन्तरिक उडान कटौती भएका थिए । भिजिबिलिटी घट्दा सोमबार ८ वटा उडान रद्द भएकामा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने र फर्किने १२ उडान स्थगन गरिए । तीन दिनयता तालिकाभन्दा कम्तीमा डेढ घण्टादेखि तीन घण्टासम्म उडान डिले (ढिलाइ) भएको वायु सेवाहरूले जनाएका छन् ।

निजी वायु सेवाले काठमाडौंबाट भद्रपुर, विराटनगर, लुक्लालगायत पहाडी स्थानका लागि तोकेका उडान स्थगन गरेका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार समयमै उडान रद्दबारे यथार्थ जानकारी दिने प्रणाली नहुँदा विमानस्थलमा यात्रुको चाप अत्यधिक छ । ‘काठमाडौं विमानस्थलको आकाशमा तुवाँलोको मात्रा बढ्दा जहाजका लागि आवश्यक भिजिबिलिटी आइतबारयता निरन्तर घट्दो छ । यसका कारण आन्तरिक उडानका पाइलटले आँखाले हेरेर उडान गरिने प्रणाली (भीएफआर) को साटो उपकरणको सहायताले गरिने प्रणाली (आईएफआर) को भर पर्नुपर्ने बाध्यता छ,’ सिटौलाले भने ।
विमानस्थलको एयर ट्राफिक डिभिजन प्रमुख सीताराम भण्डारीका अनुसार उपकरणमा भर पर्दा एटीसीले एउटा जहाज उडेपछि ६ मिनेटपछि मात्रै अर्को जहाजलाई टेक अफ अनुमति दिनुपरिरहेको छ । भीएफआरमा कम्तीमा २ मिनेटको अन्तरमा एकपछि अर्को जहाज उडाउन मिल्छ । यसबाट प्रतिघण्टा ३३ वटासम्म जहाज उड्न सक्छन् । बिहान ६ बजेबाट खुला हुने विमानस्थल राति साढे १२ बजे बन्द हुन्छ । काठमाडौं बाहिरका विमानस्थल बिहान ६ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुन्छन् । अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल प्रवक्ता सिटौलाले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु