उत्कृष्ट कृषक पुरस्कार पाँच किसानलाई

२०७८, १५ चैत्र मंगलवार १०:३०

काठमाडौं: राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद ४० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फार्म रामेछापलाई नगद ३५ हजार तथा पाँचौँ हुने न्यू महाँकाल कृषि फार्म काभ्रेलाई नगद ३० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।
पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ । सो पुरस्कार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदान गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु