काठमाडौँ: जामुने र काइटार गाउँमा शिक्षित मान्छेहरूको गणना औँलामा गरे पुग्छ । नयाँ मान्छे गाउँमा पुगेर बोले बुझ्छन्, लेखेर दिएमा कसैले बुझ्दैनन् । पुराना पुस्ताले विद्यालय टेकेनन् । धेरैले पुस्तक कस्तो हुन्छ त्यो पनि देखेनन् । पुस्तक नदेखी ७० देखि ८० वसन्त पार गरेका मान्छेहरू बस्तीबाटै हराइसकेका छन् ।
अहिले नयाँ पुस्ताले विद्यालय देखे तर औपचारिक शिक्षा पूरा गर्न पाएका छैनन् । उनीहरू चेतनाको अभाव, अशिक्षा र गरिबीमा एकै पटक पिल्सिएका छन् । गरिबीले आफ्नो थातथलो मात्र छोडाएन, कसैलाई मरुभूमीको तातो हावासमेत खानलाई बाध्य बनायो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ को २ सय २५ पहरी बस्तीमा खानेपानी समस्या त समाधान भयो । तर, बस्तीमा अहिले पनि अशिक्षा र गरिबीको समस्या ज्युँकात्युँ छ ।
अहिले धारामा पानी थाप्न तीन घण्टासम्म हिड्नुपर्ने बाध्यता हटेको छ । अहिले भने उनीहरू दुई कदम पाइला चाल्दा नै खानेपानीको धारामा पुग्छन् । सबै घरमा धारामा मिटरसहितको खानेपानी पुगिसकेको छ । लाग्थ्यो,’ उनीहरूको अनुहारमा छाएको क्रान्तिले पानीका लागि गर्नुपर्ने सबै कष्ट हटेर गएको छ ।’
सोही वडाको वडा कार्यालयदेखि पहरी बस्तीमा पुग्न ४५ मिनेट समय लाग्छ । बस्तीमा खानेपानीको दुःख टाढा पुग्यो तर, गरिबी र अशिक्षा भने झनझन नजिकै बन्दै आइरहेको छ । उनीहरूको मुख्य पेशा कृषि नै हो ।
पहरी समुदायमा पानीको आँगनमा धारा पुगेछि पानी थाप्न घण्टौँसम्म हिड्नुपर्ने बाध्यता हटेको सीतामाया पहरी बताउँछिन् । दुई वर्षअघिसम्म उनी खानेपानीका लागि दैनिक तीन घण्टासम्म पैदलै जान्थिन । बिहानै चार बजे उठेर दुई गाग्रीसहित धारामा पुग्थिन् ।
धाराबाट सीतामाया घर पुग्दा आठ बज्थ्यो । बाटोमा हिँड्दा जहिले लड्ने त्रास बोक्थिन । ‘पानी बोक्नेका दुःख भनेर बाटोले पनि चिनिसकेको थियो होला,’ उनी इकागजसँग भन्छिन्,’ त्यत्रो लामो बाटो हिँड्दा पानी बोकेर लडिएन । गाग्री सबै कुच्चिएको थियो ।’
बाबुबाजेको समयदेखि उनले खानेपानीको समस्या व्यहोरेकी थिइन् । नाती पुस्ताले मात्र बल्ल खानेपानी पाए । ‘कुनै समय हाम्रो लागि दुःखको अर्को नाम खानेपानी थियो,’ विगत सम्झँदै उनी सुनाउँछिन्,’ पानी बोकेर छिटो-छिटो हिँडन् सकिँदैन थियो । पुरुषहरू भने काँधमा पानी बोकेर फटाफट हिड्ने गर्थे ।’
पहरी बस्तीमा धारा पुग्दा सबैभन्दा बढी महिला खुसी देखिन्थे । पानीका लागि गर्नुपर्ने दुःख उनीहरूले गर्नुपर्ने छैन । दुःखले सदाको लागि साथ छोडेर अबदेखि कहिले नआउने जस्तै गरेर गइसकेको छ । बिहानै उठेर खोलाको मुहानमा पानी लिन पुग्नुपर्ने पैताला, आँगन सफा गर्न वरिपरि चलिरहन्छ । बढी भएको पानी करेसाबारीमा समेत हाल्न पुग्ने उनले बताइन् ।
‘आँगनमा खानेपानी पुगेपनि गरिबीले कहिले नछाड्ने भयो,’ सल्लाको रुखमुनी बसेकी सीतामायाले इकागजसँग भनिन्,’ पाँच सन्तान दुई जना पढिरहेका छन् । कोही विदेश र काठमाडौँमा काम गरिखान गएका छन् ।’ दुई सन्तानलाई भने विद्यालयमा कोचिङ पढने व्यवस्था मिलाएका छन् । समुदायमा अहिले पनि विद्यालय जाने भन्दा पनि नजानेको संख्या बढी छ । विद्यालय जानेले पूरा पढाइ गरेका छैनन् ।
उनले ‘क’ पनि पढिनन् । उनीमात्र होइनन् पहरी समुदायमा भएका ४० कटेका कुनै पनि महिलाले विद्यालय देख्न पाएका छैनन् । सन्तानले शिक्षा आर्जन गरेर आफूभन्दा बढी बुद्धिमान बनुन भन्ने उनीहरुलाई लागेको छ ।
उनलाई पढनुपर्छ भनेर कसैले बुझाएनन् । घाँस, गोठाला र दाउरा गर्दैमा समय बितेको उनले सुनाइन् । आफू जस्तै श्रीमान पनि नपढेकाले उनले बराबरी भएको महसुस गरेकी छन् । श्रीमानले भने चेहेरे खोलामा बालुवा झिकेर दुःखसुख जीवन चलाउन सहयोग गरिरहेका छन् ।
सीतामायाको तीनदेखि चार महिनासम्म पुग्ने चामल फल्ने जग्गा जमिन छ । ‘जमिन थोरै तर खाने मुख धेरै छ,’ उनले भनिन,’ पानीले मात्र हाम्रो जीवन हराभरा हुँदैन । वडासम्म हिँडेर पुग्नलाई एक घण्टा लाग्छ । आँगनसम्म बाटोको सुविधा जबसम्म पुग्दैन तबसम्म हामीलाई सधैँ गाह्रो भइरहन्छ ।’
पहरी बस्तीमा गरिबीले साम्राज्य जमाएपछि श्रम गर्न मुलुकका विभिन्न ठाउँमा पुगेका छन् । सुखद भविष्यका निम्ति काठमाडौँ मात्र पुगेका छैनन् । मुलुक पनि छोड्नेहरूको संख्या थुप्रै छ । सम्पत्ति पर्याप्त नभएकाले तन्नेरीहरू ऋण खोज्दै साउदी, मलेसिया र कतार पुगेका छन् ।
सीतामायाको जेठा छोरा साउदी पुगेको झण्डै दुई महिना भइसक्यो । आफ्ना मान्छे ठाउँमा नभएको र नपढेकाले दुई लाख बढी तिरेर छोरालाई साउदी पठाएका छन् । ‘१४ दिन क्वारेन्टाइनमा बस्यो , काम गर्न पाएको छैन भनेर फोन गरेको थियो,’ छोराले फोनमा भनेको सबै कुरा उनले सुनाइन्,’ लेबर काममा गएको छ । पढेको भए राम्रो काममा जान्थ्यो होला । भागमा छ भने गएको सबै ऋण तिर्छ ।’