लोडसेडिङ हुँदैन, भ्रम नफैलाऔं : कुलमान

२०७८, ११ चैत्र शुक्रबार ०६:२४

काठमाडौँ: भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको बताए ।

तर महँगोमै बिजुली किनेर भएपनि बिहीबार रातिबाट सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने उनले बताए । उनले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पारे । ‘यो तत्कालीन असर हो । केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको छ, हामीले महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिन्छौं, राति १२ बजेदेखि कुनै पनि उद्योगलाई बिजुलीको समस्या हुँदैन’ उनले भने । लोडसेडिङ हुने भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेकाले भारतबाट बिजुली पाउनेमा आफू आशावादी रहेको घिसिङले बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएको छ । त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले बताए ।

जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने उनले बताए । ‘असारदेखि त ४/५ सय मेगावट निर्यात नै गरिन्छ’ उनले भने । घिसिङका अनुसार बिहारबाट हाल नेपालमा दिउँसो दैनिक ३ सय मेगावाटसम्म बिजुली आइरहको छ । यो आर्थिक वर्षको केही महिना करिब ३० प्रतिशत बिजुली आयात भएको घिसिङले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु