बाल कथा: रुपेश र दिपेशको साहस- पारसमणि दाहाल

२०७८, १० चैत्र बिहीबार १०:०९

बाल कथा: रुपेश र दिपेशको साहस॰

रुपेश कक्षा पाँचमा पढ्थ्यो । कक्षाको राम्रो विद्यार्थी थियो । ऊ सधैँ आफ्नो कक्षामा प्रथम हुन्थ्यो । ज्यादै मिहिनेत गरेर पढ्ने गर्थ्यो । यस वर्षको वार्षिक परीक्षा नजिकिदै गरेको कारण ऊ राति अबेरसम्म पढ्ने गर्थ्यो । उनीहरूको घर गाउँको एकलास ठाँउमा थियो । छेउछाउमा छिमेकीका घरहरू पनि थिएनन् । घरको केही पर जङ्गल पनि थियो । घरको छेवैमा पारि गाउँ जाने बाटो थियो । पारि गाउँ जान जङ्गलको बाटो भएर जानुपर्थ्यो । रुपेशको घर छेउको बाटोबाट राति अबेरसम्म पारि गाउँ जाने मानिसहरू हिँडिरहन्थे । अँध्यारो रातमा बटुवाहरू पुल्ठो बालेर हिड्थे । कोही गीत गुनगुनाउँदै हिड्थे । कोही ठूलठूलो स्वरमा गफ गर्दै हिड्ने गर्दथे । जङ्गलको बाटो भएर आफ्नो गाउँ जान बटुवाहरूलाई ज्यादै जोखिम थियो । जङ्गलमा बाध, भालु तथा चितुवाहरूले आक्रमण गर्ने डर हुन्थ्यो । त्यसैले पारि गाउँ जाने मानिसहरू सकेसम्म रात नपरिकन आफ्नो गाउँ पुग्ने कोसिस गर्दथे । गाउँलेहरूका लागि अर्को बाटो पनि थिएन ।

गाउँलेहरूको चहलपहल सकिएपछि सुनसान रातमा जङ्गलबाट डरलाग्दा जनावरहरू रुपेशको घर वरिपरि निस्कन्थे । गोठका गाईगोरु, टाट्ना र खोरका भेडाबाखाहरू एक-एक गरी खाइदिने गर्दथे । बुबाले घरको गर्जो टार्न पालेका वस्तुभाउहरू एक-एक गरी जङ्गली जनावरले खाईदिने गरेकोमा रुपेश ज्यादै चिन्तत थियो । राति अबेरसम्म पढ्न र परीक्षाको तयारी गर्न पनि उसलाई डर लाग्थ्यो । कतै आफैलाई जगली जनावरले आक्रमण गर्ने त होइन ? उसलाई पीर परिरहन्थ्यो । रुपेशको बुबा घरमा भएको समयमा त उसलाई खासै डर लाग्दैन थियो । तर काम विशेषले बुबा बाहिर गएको समयमा भने रुपेश र उसकी आमा मात्र घरमा बस्नु पर्दथ्यो । यस्तो बेलामा रुपेश ज्यादै डराउँदथ्यो ।
रुपेशकी आमा दिनभरि खेतबारीमा काम गर्दा थकित हुनुहुन्थ्यो । साँझको घरधन्दा सकेर वहाँ चाँडै सुत्नुहुन्थ्यो । रात छिप्पिएपछि जङ्गली जनावरहरू उसको घर आँगनमा निस्कन्थे। गाईवस्तु तथा भेडाबाख्राहरूलाई आक्रमण गर्न मौका हेरि बसेका हुन्थ्यो । रुपेश डरले बाहिर निस्कन सक्दैन थियो । उसको पढाइलाई ज्यादै बाधा पुगिरहेको थियो । उसले त्यस जङ्गली जनावरहरूलाई कसरी तह लगाउने ? ऊ सधैँ सोच्थ्यो तर केही गर्न सक्ने अवस्था नै थिएन । त्यसैले रुपेश ज्यादै चिन्तित थियो ।

परीक्षा नजिक आइरहेकोले राति अबेरसम्म पढ्नु उसको बाध्यता थियो । आज पनि रुपेश आफ्नै सुरमा लेखिरहेको थियो । बाघ गर्जदै रुपेशको घरको आँगनमा आयो । रुपेश डरले काम्दै सिरकभित्र गुट्मुटियो । आज फेरि रुपेशको पढाइ अधुरै रहयो । धेरै बेरसम्म बाघ आँगनमा कराइरह्यो । रुपेशको आमा निदाइ सक्नुभएको थियो । ऊ पनि डरले काम्दै सिरकभित्र गुटमुटियो र निदायो । आज पनि उसको पढाइ अधुरै रह्यो ।

परीक्षा अत्यन्तै नजिक भएकाले उसलाई चिन्ता लागिरहेको थियो । ऊ कक्षाको प्रथम विद्यार्थी भएकोले अरूले जित्लान् भन्ने चिन्ताले हरहमेसा सताइरहन्थ्यो । टुकी बालेर अबेर रातसम्म पढ्ने गर्थ्यो । कुनै रात पढ्न पाएन भने उसलाई निन्द्रा नै लाग्दैन थियो । उसको कक्षाका अन्य साथीहरूको बीचमा दरो प्रतिस्पर्धा थियो । रुपेशको कडा मिहिनेतको अगाडि हालसम्म अरूहरूको केही लागेको थिएन । अहिलेसम्मका सबै परीक्षाहरूमा उसले जितिरहेको थियो । उसले कसैलाई पनि जित्न नदिने प्रण गरेको थियो मनमनै । तर राति जङ्गली जनावरहरूको कर्कस स्वरले उसको पढाइलाई बाधा पुऱ्याइरहेको थियो । दैनिक होहल्ला र डरको कारणले यस वर्षको नतिजामा आफू पछि पर्ने चिन्ताले उसलाई ज्यादै सतायो ।

साथीहरूको बीचमा तल नपर्न र मिहिनेतको मीठो फल प्राप्त गर्न परिश्रम गर्नै पर्छ भन्ने उसलाई थाहा थियो । मीठो फलका लागि बेलैमा धेरै मिहिनेत र परिश्रम गर्नुपर्छ भन्ने आफ्ना शिक्षकहरूको भनाइले पनि उसलाई प्रभावित गरिरहेको थियो । तर रुपेशलाई यो समस्याबाट पार पाउने उपाय पनि पत्ता लागिरहेको थिएन ।

उसको घरमा राति-राति जनावरहरूले दुःख दिने गरेको कुरा उसको बुबालाई राम्ररी थाहा थियो । तर बुबाले पनि केही गर्न सक्नु भएको थिएन । बुबा घरमा बस्नुभएको समयमा त रुपेशलाई खासै डर र चिन्ता लाग्दैन थ्यो । तर यस पटक भने परीक्षा नजिकिएकै समयमा रुपेशको बुबा विशेष कामले गर्दा लामो समयका लागि घरबाहिर जानुपर्ने भयो । उहाँले रुपेश र उसकी आमालाई नडराइकन बस्न सल्लाह दिएर बाहिर जानुभयो ।

बुबा घरमा नहुनुभएको कारण रुपेशलाई ज्यादै समस्या भएको थियो । दैनिक रूपमा रात छिप्पिन नपाउँदै आँगनमा जनावरहरूको आवाज आउने गर्दथ्यो । डरको कारण उसले पढ्न पाउँदैन थ्यो ।

रुपेशले आफूलाई भएको समस्या आफ्नो कक्षामा पढ्ने साथी दिपेशलाई भन्यो । दिपेश, रुपेशको ज्यादै मिल्ने साथी थियो । दुवैले यो समस्यालाई • कसरी समाधान गर्ने भनि सल्लाह गरे । अन्त्यमा उनीहरूले एउटा उपाय निकाले । दुवै साथीहरू रुपेशको घरमा राति बस्ने, सँगै पढ्ने र सँगै राति • आउने जनावरहरूलाई पनि तह लगाउने सल्लाह गरे ।

सल्लाहबमोजिम दुवै जना राति आनन्दपूर्वक आ-आफ्नो पढाइलाई अघि बढाइरहेका थिए । सधैँ झैँ रात छिप्पिनासाथ जङ्गलबाट कराउँदै बाघ रुपेशको घरमा आयो । रुपेश र दिपेशले बिस्तारै ढोका खोले । अँध्यारोमा दुवैले ठूल्ठूलो बर्को ओढेर लामो-लामो लौरो बोकेका थिए । उनीहरू दुवै जनाले बाघलाई तर्साउने र मौका परे बेस्सरी लाठो बजार्ने विचार गरी आँगनमा निस्किए । आँगनमा एक्कासी घुम्लुङ बर्को ओडेका मानिसहरू र उनीहरूको हातमा भएको लाठो आँगनमा ठटाउँदा बाघको सातोपुत्लो उड्यो । बाघ त्यहाँबाट कुलेलम ठोक्यो । दिपेश र रुपेश पनि बाघको पिछा गर्दै केही परसम्म गए । निकै टाढा पुगेपछि बाघ कराउँदै जगलतर्फ लाग्यो ।

रुपेश र दिपेशले अघिल्लो राति आफूहरूले बाघ लखेटेको बारेमा कसैलाई पनि भनेनन् । उनीहरू केही दिन सँगै बसेर पढे । बाघ फेरि फर्केर आउँछ वा आउँदैन भन्नेतिर उनीहरूको ध्यान थियो । उनीहरूले आफ्नो पढाइलाई पनि सँगसँगै अघि बढाए । बाघको हर्कतको पनि विचार गरि रहे । केही दिन त बाघले रुपेशको घरतिर आउँने हिम्मत गरेन । तर विस्तारै बाघले रुपेश र दिपेशले उडाएको सातो बिर्सियो । एकदिन फेरि बाघ पहिला भै कराउँदै रुपेशको आँगनमा आयो । मस्तसँग पढिरहेका रुपेश र दिपेशको सातो नै उड्यो । उनीहरूले फेरि तत्कालै पहिलाकै जस्तै जुक्ति निकाले । दुवै बिस्तारै ढोका खोलेर बाहिर निस्किए । एउटाले बाघको अघिल्तिर गएर आफूले ओडेको बर्को बेस्सरी हल्लायो । अर्कोले चाहिँ बाघको होसै हराउने गरी लाठो बजायो । बाघको हंसले ठाउँ छाड्यो । कहिल्यै नसोचेको आपत् आइलागेको ठानी बाघ जङ्गलतिर सासै नफेरी कुलेलम ठोक्यो ।

रुपेश र दिपेशले पनि बाघेलाई लखेट्दै गए । बीचबीचमा उनीहरूले विभिन्न प्रकारको आवाज पनि निकाल्दै अघि बढे । रुपेश र दिपेशले बाघलाई लखेट्दै गए । धेरै टाढा पुगेपछि बाघ कुन झाडीमा पस्यो । कतै कहाँ देखिएन ।

रुपेश र दिपेशले पनि केही परबाट विभिन्न आवाज पालै-पालो निकालेर केही बेरसम्म बाघको सातो उडाइरहे । बाघको अत्तोपत्तो थिएन । स्यास्या र फ्याफ्या गर्दै कुन दुलातिर छियो । रुपेश र दिपेश पनि बिस्तारै आफ्नो घर फर्किए । त्यसपछि कहिल्यै पनि बाघ रुपेशको घरको नजिक आउने हिम्मत गर्न सकेन । धेरै दिनसम्म बाघ फेरि आउने हो कि ? भन्ने विचार गर्दै चनाखो हुँदै दुवै जना सँगै पढ्ने; सँगै सुत्ने गरिरहे । आनन्दपूर्वक परीक्षाको तयारी गरे । उनीहरूको परीक्षा पनि सकियो । बाघ कहिल्यै पनि रुपेशको घर छेउछाउ देखा परेन । सायद बाघ सधैँका लागि अर्को जङ्गलतिर बसाइ पो सयो कि ?

रुपेशको बुबा पनि गाउँ फर्किनुभयो । रुपेश र दिपेशले बाघलाई तह लगाउन रचिएको नाटक बताए । सबै गाँउलेले रुपेश र दिपेशको साहस र जुक्तिको प्रशंसा गरे । रुपेश र दिपेशको साहस देखी सबै गाउँलेले उनीहरूको प्रशंसा गरे । विद्यालयमा पनि सबै साथीहरू र शिक्षकहरूले उनीहरूको जुक्ति र साहसको तारिफ गरे ।

रुपेश र दिपेशले अझ बढी मिहिनेत गरी पढे । यस वर्षको अन्तिम परीक्षामा पनि सधैँ झैँ रुपेश पहिलो बन्यो । दिपेशचाहिँ दोस्रो भयो । विद्यालय जयन्तीको दिन प्रमुख अतिथिज्यूबाट दुवैले विशेष सम्मान पनि पाए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु