तरलता संकुचनको अवस्था अब धेरै दिन नरहने आशा- डेपुटी गभर्नर

२०७८, ९ चैत्र बुधबार १६:२४

काठमाडौं: नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले वित्तीय क्षेत्रमा अहिले रहेको तरलता संकुचनको अवस्था अब धेरै दिन नरहने आशा व्यक्त गरेकी छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले परिस्थिति सहज बन्ने वातावरण बन्दै गएको बताउँदै अब धेरै दिन तरलताको समस्या नरहने र ब्याजदरमा पनि कमी आउने बताइन् । ढुंगानाले तरलता संकुचनमा सुधार ल्याउन र विदेशी मुद्राको संचितिमा परेको दबाब कम गर्न राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेको बताउँदै त्यसको असर देखिन थालेको बताइन् ।

फागुनमा महिनामा बैंकिङ क्षेत्रमा करिव २२ अर्ब रुपियाँ आउनुमा पछिल्लो समय पाँच सय र हजारका नोट नोटबन्दी गर्ने चर्चाको असर भएको कुरामा भने उनले प्रतिक्रिया दिन मानिन् । ढुंगानाले विकास खर्च पनि बढेको, आयातमा पनि कमी आएको, विदेशी अनुदान र लगानी पनि बढ्न थालेकाले बैंकमा पैसा बढेको हुनसक्ने बताउँदै त्यसमा अरु पनि कारण हुनसक्ने बताइन् ।

ढुंगानाले भनिन, ‘तरलताको स्थिति छ । भुक्तानी सन्तुलनमा परेको चापलाई दृष्टिगत गरी आयातमा नियन्त्रण गर्नुपर्ने अवस्था छ । आयातसम्वन्धी कर्जा घटाउन पनि सकिन्न । मूल्यवृद्धिलाई पनि हेर्नुपर्छ । हामीले मूल्यवृद्धि ६.५ प्रतिशतमा राख्ने भनेका छौं । त्यसका लागि पनि ब्याजदर घटाउन सकिन्न । माग र आपूर्तिको सन्तुलन गर्न नसक्दा पनि समस्या आउँछ ।’

माग र आपूर्तिको सिद्धान्तअनुसार अहिले ब्याजदर स्वाभाविकरुपमा बढेको हो भन्दै उनले समग्र क्षेत्रमा ब्याजदर घटाउन नसकिने, बरु उत्पादनमूलक क्षेत्रमा खास खास कुरामा ब्याजदर कम गर्न सकिने बताइन् । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर निकै महंगो भयो भन्ने व्यवसायीको गुनासो आएकाले कम गर्न राष्ट्र बैंकसँग कुरा गर्ने बताएका थिए ।

डेपुटी गभर्नर ढुंगानाले भने ब्याजदर बजारले निर्धारण गर्ने कुरा हो भन्दै अहिलेको अवस्था ब्याजदर घटाउँदा आयात झन बढेर जाने बताइन् । उनले भने, ‘राष्ट्र बैंक भनेको प्राविधिकरुपमा काम गर्ने निकाय हो । त्यहीरुपमा काम गर्न दिनुपर्छ । अहिलेको ब्याजदर भनेको डिमाण्ड र सप्लाईको सिद्धान्तमा बढेको हो । ब्याजदर घटाएर आयातलाई झन प्रोत्साहित गरियो भने त्यसले भुक्तानी सन्तुलनमा असर गर्छ ।’

चुनावको मिति नजिकिएसँगै आर्थिक गतिविधि बढ्ने बताउँदै सरकारी खर्च पनि बढ्न थालेको, विदेशी अनुदान सहयोग र लगानी आउने क्रम पनि बढेको, आयातमा पनि कमी आएको बताउँदै केही दिनमा तरलता सहज हुने र तरलता सहज भएपछि ब्याजदर आफै घट्ने बताइन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु