काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले मंगलबार शान्ति प्रक्रियासँग जोडिएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पहल कदमी लिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,’ उनले भने, ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।’
प्रधानमन्त्रीलाई सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगतालाई फेरि सूचीकृत हुने मौका उपलब्ध गराउन पनि माओवादीले आग्रह गरेको हो । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ,’ उनले भने ।
सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको पनि मल्लले जानकारी दिए ।