काठमाडौँ: सन् २०१३ । अमेरिकाका टेक्सास राज्यस्थित अस्टिन सहर । एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा थिए, स्पेस एक्सका संस्थापक एलन मस्क । कार्यक्रममा बोल्दै उनले भने, ‘म मंगल ग्रहमा मर्न चाहन्छु, प्रभावमा हैन ।’
त्यो कार्यक्रममा उनलाई रकेटलगायत अन्तरिक्षसम्बन्धी प्रश्न सोधिएको थियो । मंगल ग्रहमा जानका लागि प्रयोग हुने रकेटसम्बन्धी बोल्ने क्रममा उनले मंगल ग्रहमा पुगेपछि पृथ्वी नफर्कने तर उतै बसेर जीवन व्यतित गर्ने कुरा गरेका थिए ।
त्यसको ३ वर्षपछि अन्तर्राष्ट्रिय एस्ट्रोनोटिकल कंग्रेसमा मस्कले मानव जातिलाई ‘मल्टिपल प्लान्ट ह्युमन’बनाउन आफ्नो महत्त्वाकांक्षी मंगल ग्रह मिसनबारे जानकारी गराए । पृथ्वीमा मात्रै रहेको मानव जातिलाई मंगल ग्रहमा बस्न लगाउँदा मानिस ‘मल्टिपल प्लान्ट ह्युमन’ हुने उनको धारणा थियो । त्यही कार्यक्रममा उनले पहिलो पटक मंगल ग्रहमा जाँदा हुन सक्ने सम्भावित दुर्घटनाबारे जानकारी गराउँदै भनेका थिए, ‘यदि तपाईं मर्न चाहनुहुन्छ भने मात्रै मंगल ग्रहमा जान योग्य हुनुहुन्छ ।’
दोस्रो विश्व युद्धपछि अमेरिका र रुसबीच शीतयुद्ध चल्यो । त्यही दौरान उनीहरुबीच अन्तरिक्ष अन्वेषणमा प्रतिस्पर्धा चल्यो । स्पुतनिक–१ यान पृथ्वीको कक्षमा पुर्याएसँगै रुस अन्तरिक्षमा पुग्ने पहिलो राष्ट्र बन्यो । चन्द्रमा पहिलो मानव पाइला अमेरिकाले राख्यो । त्यसपछि अन्तरिक्ष अन्वेषणको खोज जारी छ । सन् २०२१सम्म आइपुग्दा सूर्यको सतहमा सोलर प्रोभ यान पुगेको छ । मंगल ग्रहको सतहमा रोभरहरु पुगेका मात्रै छैनन्,इलन मस्क आइपुग्दासम्म मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वकांक्षी योजना सुरु भएको छ ।
२०औं शताब्दीतिर अन्तरिक्षमा कुनै वस्तु पुर्याउन पनि शक्ति राष्ट्रहरुले ठूलो उपलब्धी ठान्थे जसरी अहिले हाम्रो मुलुक अध्ययन प्रयोजनका लागि पठाइएको एउटा नानो स्याटेलाइट विदेशीमै निर्माण गरेर उडाउँदा पनि ‘गर्व’ गर्छ ।
अन्तरिक्षको अन्वेषणमा निजी क्षेत्रको उपस्थिती बढेसँगै व्यापार मात्रै नभएर सस्तो पर्दै गएको छ । भू–उपग्रह, सञ्चार, टेलिकम्युनिकेसन, अनुसन्धान, सुरक्षालगायतका हरेक क्षेत्रमा अहिले अन्तरिक्ष जोडिएको छ ।
अन्तरिक्षमा निजी क्षेत्र
अन्तरिक्षमा निजी क्षेत्रको प्रवेशसँगै यो क्षेत्र अहिले सस्तिएको छ । पहिलो पटक अमेरिकारले कम्युनिकेसन स्याटेलाइट एक्ट, १९६२ ल्याएसँगै निजी क्षेत्रले अन्तरिक्षमा प्रवेश पायो । सञ्चार प्रयोजनका लागि टेल्सटर–१ स्याटेलाइट व्यवसायिक प्रयोजनका लागि पहिलो पटक पठाइएको थियो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सामान ढुवानी गर्दा रुसको एकछत्र थियो । नासाले सामान ढुवानीको काम निजी क्षेत्रलाई दिने निर्णय गर्यो । हाल केन्द्रमा रुसीको प्रोगेस र अमेरिकाको सिग्नस, ड्रागन र एचटीभीले समान ढुवानी गर्छन् ।
पछिल्लो समय इलोन मस्कको स्पेस एक्स विभिन्न कारणले चर्चित छ । सन् २०१२देखि अन्तरिक्षमा कार्गो ढुवानी गर्दै आएको स्पेस एक्सले २०२०मा पहिलो पटक अमेरिकी अन्तरिक्षयात्रीहरुलाई अमेरिकाबाटै रकेटमार्फत् अन्तरिक्ष केन्द्रमा पुर्यायो । स्पेस सटल धेरै महँगो भएपछि २०११पछि अमेरिकाले आफ्ना अन्तिरिक्षयात्रीहरुलाई रुसी यानमार्फत पठाउँथ्यो ।
स्पेस एक्सले सन् २०२१को डिसेम्बर २१मा फाल्कोन–९ रकेटमार्फत कार्गो क्याम्पसुलमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका अन्तरिक्षयात्रीहरुलाई क्रिसमस गिफ्ट पठायो । कम्पनीको १०० औं सफल अवतरणको उपलक्ष्य पारेर स्पेस एक्सले केन्द्रका अन्तरिक्षयात्रीहरुलाई ‘उपहार’ पठाएको थियो ।
निजी क्षेत्रमा सबैभन्दा अग्रणी स्पेस एक्स देखिएको छ । स्पेस एक्ससँग फाल्कोन–९, फाल्कोन–९ हेभी र स्टारसिप र ड्रागन क्याप्सुल छन् । मार्च १७ सम्मको तथ्यांक हेर्ने हो भने फाल्कोन–९ रकेट १४३ पटक लन्च भएको छ । यो पुन:प्रयोग गर्नमिल्ने रियुएजएबल दुई स्टेज रकेट हो । अहिलेसम्म यो १०३ पटक सफल अवतरण गरेको स्पेसएक्सले जनाएको छ ।
ड्रागन क्याप्सुल ३२ पटक लन्च भयो । कार्गो र अन्तरिक्षयात्री लिएर यो २९ पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेको छ । फाल्कोन हेभी अहिलेसम्म यसका ३ पटक लन्च भएको छ यो रकेट र स्टारसिप यानको संयुक्त संयोजनबाट स्पेसएक्सले स्टारसिपको परीक्षण गर्ने तयारी गरिरहेको छ । स्टारसिप चन्द्रमा र मंगल मिसनमा प्रयोग हुने स्पेस एक्सले जनाएको छ ।
स्पेस एक्सले सबैभन्दा बढी साना स्याटेलाइटहरुका लागि ‘राइडसेयर मिसन’ पनि सञ्चालन गर्छ । हरेक २ सय किलाे पेलोडलाई पृथ्वीको तल्लो कक्षमा छाड्न उसले १० लाख डलर लिन्छ । हरेक ४ महिनामा उसले यो मिसन गर्छ । नेपालमै ओरियन स्पेसले निर्माण गरेको ‘पिको स्याट’ स्पेस एक्सको राइडसेयर मिसन अन्तर्गत नै प्रक्षेपण गरिएको थियो ।
स्पेस स्टेसनको सन् २०३१मा प्रशान्त महासगरमा खस्ने प्रक्षेपण नासाले गरेको छ । यही बीचमा नयाँ अन्तरिक्ष केन्द्र निर्माण गर्न विभिन्न मुलुकहरुले सुरु गरेका छन् । अमेरिकाले भने निजी क्षेत्रमार्फत केन्द्र निर्माण गर्न लगाएर सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
पृथ्वीको तल्लो कक्षमा व्यवसायिक गन्तव्य निर्माण गर्न ब्लू ओरिजिन, नानो रेक्स र नाथएरुप ग्रुमम्यानसँग नासाले सम्झौता गरेको छ । बिगिलो, नानोर्याक्सल र एक्जिम स्पेसले अन्तरिक्षमा मानिसलाई बस्न मिल्ने क्षेत्र डिजाइन गरिरहेका छन् । माक्सा र नाथएरुप ग्रुमम्यानले चन्द्रमामा स्पेस स्टेसन निर्माण गर्ने सम्बन्धीको काम गरिरहेका छन् । अर्बाइटल एसेम्ब्लीले सन् २०२७ मा अन्तरिक्षमा होटल बनाउने लक्ष्य लिएको छ भने जापानको ओबायसी कोर्पले सन् २०५०मा स्पेस इलेभेटर बनाउने योजनामा छ ।
अन्तरिक्ष पर्यटन
निजी क्षेत्रको प्रवेशसँगै अन्तरिक्ष पर्यटन गन्तव्य पनि बन्दै छ । सन् २००१मा पहिलो पटक अन्तरिक्ष पर्यटकको रुपमा अमेरिकी डेनिस टिटोले २० मिलियन डलर खर्च गरेर रुसी यान सोयूज टीएम–३२मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगे । उनले त्यहाँ ७ दिन बिताए । सन् २००३ र २००४ बाहेक २००८सम्म हरेक वर्ष १/१ जना व्यक्तिहरु अन्तरिक्ष यात्रा गरे । २००९मा दुई जनाले अन्तरिक्षको भ्रमण गरे ।
सन् २०२१मा आएर पर्यटन एकै पटक ह्वात्तै बढ्यो । स्पेस एक्सको इन्सिपिरेसन–४ मार्फत ४ जना गैरपेशवर अन्तरिक्षयात्रीहरु अन्तरिक्ष पर्यटकको रुपमा ३ दिन अन्तरिक्षमा बिताए । रिचार्ड ब्रानसनको भर्जिन ग्यालेकटिकले दुई वटा सब–अर्बाइटल र ब्लू ओरिजिनले दुई वटा वटा स्पेस फ्लाइट गर्यो ।
अन्तरिक्षमा यात्रा गर्न जानेहरुलाई सब–अर्बाइटल(पृथ्वीको आधा चक्कर),अर्बाइटल(पृथ्वीको एक चक्कर) र अर्ब अर्बिटभन्दा बाहिर जाने किसिमका योजनाहरु आएका छन् ।
सन् २०२१ मा १४ जना पर्यटकका रुपमा अन्तरिक्षमा पुगे । तीमध्ये ११ जुलाईमा भर्जिन ग्यालेक्टिका मालिक ब्रानसनसहितको ६ जनाको टोलीले युटिलिटी–२२मार्फत पृथ्वीभन्दा ८६ किलोमिटरको माथि पुगे । त्यसअघि २२ मेमा भर्जिन ग्यालेक्टिकका प्रमुख पाइलट डेभ म्याकेसहित दुई जना ८९.२४ किलोमिटरको उचाइमा पुगेर फर्किएका थिए । अमेरिकी कानुनले उक्त उचाइलाई अन्तरिक्षको रुपमा मान्यता दिएपनि अन्तर्राष्ट्रिय रुपमा सय किलोमिटर माथिको उचाईलाई मात्रै अन्तरिक्ष भनेर परिभाषा गरेको छ ।
२० जुलाईमा एमाजोनका मालिक जेफ बेजोससहित ४ जना ब्लू ओरिजिनको एनएस–१६ मार्फत १०७ किलोमिटर माथि पुगेर फर्किएका थिए । सेप्टेम्बर १६मा स्पेस एक्सको इन्सिपरिसेसन–४ मिसन लन्च भयो । त्यही वर्षको १३ अक्टोबरमा ब्लू ओरिजनका उपप्रमुख एड्रियू पावर्ससहितको ४ जनाको टोली एनएस–१८ मार्फत १०७ किलोटिमर माथि पुगेर फर्कियो । उक्त टोलीमा विलियम स्याटनर पनि थिए । उनी अन्तरिक्षमा पुग्ने सबैभन्दा जेष्ठ सदस्य बनेर कीर्तिमान राखेका थिए । त्यसैवर्षको ११ डिसेम्बरमा ब्लू ओरिजिनको एनएस–१९ यानमार्फत ६ जनाको टोलीले सय किलोमिटर माथि पुगेर फर्कियो ।
मस्कको स्पेस एक्सले स्टारसिपमार्फत मानिसहरुलाई चन्द्रामा र मंगल ग्रह लैजाने योजना छ । स्टारसिपमार्फत स्पेस एक्सले ८ दिनमा चन्द्रामा सयर गराएर मानिसलाई पृथ्वी ल्याउने बताएको छ । अन्तरिक्ष पर्यटनमा लैजाने सवालमा मस्क बाहेक अर्बपति रिचार्ड ब्रयानसनको भर्जिन ग्यालेक्टिक र एमाजोनका मालिक जेफ बेसोजको ब्लू ओरिजन अग्रणी छन् ।
भर्जिन ग्यालेकटिक र ब्लू ओरिजनले स्पेस फ्लाइट गराउने योजनामा छन् । यिनीहरुले परीक्षण मिसन पनि सफल भइसकेको छ ।
एमाजोनका मालिक जेफ बेजोसको ब्लू ओरिजनसँग न्यू सेपहर्ड यान छ । अमेरिकाका पहिलो अन्तरिक्षयात्रीको नामा राखिएको यो यानले सबअर्बाइटल फ्लाइट गर्छ । अहिलेसम्म यसले ३ वटा मानव मिसन सफलतापूर्वक सम्पन्न गरेको छ । सबआर्बाइटल फ्लाइट ११ मिनेटको हुने कम्पनीले जनाएको छ । सेपहर्डमा ६ जना यात्रु रहन सक्नेछन् ।
रिचार्ड ब्रानसनको कम्पनी भर्जिन ग्यालेक्टिकले निकट भविष्यमा अन्तरिक्ष पर्यटन गराउने योजनामा छ । यसको मुख्य विशेषता भनेको एयर लन्च हो । वाइटनाइट टू (डब्लूके–२) मोडलको ठूलो विमानमार्फत यसको ‘भीएसएस युनिटी’ यान विमानमार्फत अन्तरिक्षमा प्रक्षेपण हुन्छ ।
यी बाहेक ओरियन स्पान कम्पनीले व्यवसायिक अन्तरिक्ष केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । बोइङले नासाका लागि व्यवसायिक विकास कार्यक्रममा सामानहरु आपूर्ति गर्ने र स्टारलाइनर निर्माण गर्ने सम्झौता गरेको छ ।
बजेटको आकार
अन्तरिक्ष अन्वेषणमा सरकारीसँगै निजी क्षेत्रको उत्साहजनक सहभागितासँगै बजेटको आकार पनि बढ्दै गएको छ । स्पेस फाउन्डेसनको ‘स्पेस रिर्पोट–२०२१’ अनुसार विशवमा सन् २०२१का यो क्षेत्रको बजेट ३२० बिलियन डलर थियो । २०३०मा यसको क्षेत्रको बजेट ७४ प्रतिशतले वृद्धि हुने उक्त संस्थाले प्रक्षेपण गरेको छ ।
२०२१को रिर्पोटमा कुल बजेमध्ये उत्पादनमा २५ बिलियन, प्रक्षेपणमा ८ बिलियन, स्टेसनमा ४ बिलियन, स्याटेलाइटमा १५ बिलियन र सेवाप्रदायकमा २८५ बिलियन थियो । त्यसमा व्यवासयिक क्षेत्रको ८२ प्रतिशत,सरकारी निकायको ९ प्रतिशत र प्रतिरक्षमा ९ प्रतिशत हिस्सा ओगटेको रिर्पाेटमा उल्लेख छ ।
पुसमा प्रक्षेपण गरिएको स्पेस एक्सको फाल्कोन–९ रकेट । यही रकेट मार्फत ‘सानो स्याट–१’ अन्तरिक्षमा पुर्याइएको थियो । स्याटेलाइटलाई एक्जोपोर्ट–६ डिप्लोयरले अन्तिरक्षमा छाडेको हो ।
बजेट बढेसँगै प्रक्षेपणको संख्या पनि बढ्दो आकारमा छ । कोरोना महामारीका बाबजुत पनि यो क्षेत्रमा लगानी बढिरहेको छ । सन् २०२१ मा १४५ वटा रकेट प्रक्षेपण अन्तरिक्षमा भए । तीमध्ये १३४ वटा सफल भयो । एकै वर्षमा धेरै रकेट प्रक्षेपण भएको यो पहिलो थियो । तीमध्ये अमेरिकामा मात्रै व्यवसायिक प्रयोजनका लागि ३२ वटा रकेट प्रक्षेपण भएका थिए ।
ढुवानीको हिसाबमा पनि सन् २०२०को तुलानामा यो २९ प्रतिशतले वृद्धि थियो । अधिकांस सञ्चारसँग सम्बन्धित भू–उपग्रहहरु प्रक्षेपण गरिएको रिर्पोटमा उल्लेख छ । तीमध्ये स्पेस एक्सको स्टारलिंक र वान वेभ केन्स्टिेलस(कृत्रिम नक्षेत्र) स्याटेलाइट पनि समावेश थिए ।
ढुवानी खर्च घट्दै
स्पेस एक्सको उपस्थिती बढेसँगै अन्तरिक्षमा हुने ढुवानी खर्च घट्दै गएको छ । एक केजी कार्गो अन्तरिक्ष केन्द्रमा पुर्याउँदा ५० हजार डलरभन्दा बढी खर्च भएपछि अमेरिकाले स्पेस सटल कार्यक्रम बन्द गरेको थियो । अहिले स्पेस एक्सले दुई सय केजीभन्दा बढी पे लोडको सामान ढुवानी गर्दा १० लाख डलर मात्रै लिने गर्छ । यसले अन्तरिक्षमा क्षेत्र सस्तो बनाएको थियो । स्टारसिप यान बनेसँगै यो क्षेत्रमा एक केजी समान ढुवानीमा २ सय डलर लाग्ने अनुमान गरिएको छ ।
सन् १९६०को दशकमा अमेरिकाले चन्द्रामा मिसनमा २८ बिलियन डलर मानिस अवतरण गर्न लगेको थियो । उक्त रकमलाई अहिलेको समयसँग दाँज्दा २८८ बिलियन डलर हुने द भिज्युल क्यापिटलिस्ट अनलाइनले उल्लेख गरेका छ । सन् १९६०को दशकमा हुने सोयुज यानमार्फत हुने एक किलो सामान ढुवानी गर्दा लाग्ने खर्चमा अहिले ९७ प्रतिशत कममा स्पेस एक्सले गर्दै आएको छ ।
सोयुज यानमा एक केजी पे लोड लैजाँदा ७ हजार डलरभन्दा बढी खर्च आउँथ्यो भने स्पेस एक्समा ४ हजारको हाराहारी आँकलन छ ।
चुनौती
अन्तरिक्षमा मानव निर्मित वस्तुको उपस्थितीसँगै चुनौती पनि बढिरहेको छ । विश्व बैंकको ग्लोबल रिस्क रिर्पोट २०२२ अनुसार पृथ्वीको कक्षमा करिब ११ हजार स्याटेलाइटले परिक्रमा गरिरहेका छन् । अहिले मुलुकहरुबीच हुने हाइपरसोनिक(आवाजको गतिभन्दा बढी) प्रतिस्पधाँसँगै मुलुकहरुबीच द्वन्द्वले विविध समस्या ल्याउने आँकलन गरिएको छ ।
सन् २०३१मा पृथ्वीमा खस्ने प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र
अन्तरिक्ष अन्वेषणमा प्रयोग हुने इन्धनको धेरै खपत हुँदा हरित गृह उत्सर्जन बढाएका छन् । पृथ्वीको कक्षमा बिग्रिएर टुक्रिएका स–साना वस्तुहरु(स्पेस जंक) अन्य भू–उपग्रहसँग ठोक्किन सक्ने चुनौती पनि छ ।
यसबाहेक अन्तरिक्ष पर्यटनका लागि भइरहेको खर्चले पृथ्वीमा भोकमारी अन्त्य गर्न पुग्ने भन्दै त्यसतर्फ जानु उचित नहुने भन्दै विरोध पनि जनाइरहेका छन् । सन् २०२०मा काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माले अन्तरिक्षलाई मानवहितका लागि प्रयोग गर्नुपर्ने बताउँदै उनले यसलाई व्यवसायसँग जोड्न नहुने तर्क गर्दै सबैले सचेत हुनुपर्ने बताएका थिए ।