महोत्तरीका दलहरू आन्तरिक कलहमै

२०७८, १ चैत्र मंगलवार १५:५९

महोत्तरी: स्थानीय तहको निर्वाचन नजिकिदैसँगै चुनाव प्रचारप्रसारमा लाग्नु पर्ने महोत्तरीका राजनीतिक दलहरू आन्तरिक कलहमै रुमल्लिएका छन् । जसले स्थानीय तह निर्वाचननै ओझेलमा परिरहेको छ ।

एमालेको समानन्तर कमिटी
नेकपा एमाले महोत्तरीभित्रको विवाद अन्य दलको तुलनामा अलि बढी नै सतहमा देखिएको छ । कतिपय पालिकाहरूमा त समानान्तर कमिटी नै गठन भएका छन् । औरही, रामगोपालपुर तथा क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर २ का धेरै ठाउँमा समान्तर कमिटी गठन भएका छन् ।

केन्द्रीय सदस्यहरूबीचको विवादले एकअर्काेले बनाएको संगठन स्वीकार नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । केन्द्रीय सदस्य सरोज यादव र अर्का केन्द्रीय सदस्यद्वय बुधिनी देवी र राम दयालबीचको विवाद उत्कर्षमा पुगेपछि समान्तर कमिटी गठन भएको स्थानीय नेताहरू वताउँछन् । पार्टीभित्रको विवादकै कारण चुनाव लक्षित कार्यक्रम गर्न नसकिएको उनीहरु बताउँछन् ।

कांग्रेसभित्र महाधिवेशनको धङधङ अझै बाँकी
नेपाली कांग्रेस महोत्तरीमा पनि चर्को विवाद छ । जिल्ला अधिवेशनमा पौडेल प्यानललाई देउवा प्यानलले हराएको र पौडेल प्यानलका व्यक्तिहरू समेत लागिपरेको आरोप संस्थापन इतरका नेताहरूको आरोप छ ।

नवनिर्वाचित जिल्ला सभापति नागेश्वर यादव भने सबै कलहलाई भुलेर चुनाव लक्षित कार्यक्रममा लाग्नु पर्ने बताउँछन् । यसैबीच सभापति यादवले सोमबार बैठक पनि राखेका थिए । तर बैठकले चुनाव लक्षित कार्यक्रमबारे ठोस निष्कर्ष निकालेको छैन ।

माओवादी केन्द्रलाई छोडेन एमसीसी विवादले
नेकपा माओवादी केन्द्र भने एमसीसीको बिषयलाई लिएर छिन्नभिन्न भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघात’ भएको थाहा पाउँदापाउँदै पार्टी कै नेतृत्वले पास भएको भन्दै कतिपय नेताहरूले पार्टीनै परित्याग गरेका छन् ।

महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगानासहित प्रदेश कमिटी र नगरका आधा दर्जन नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
गिरीराजमणि पोखरेल निकट मानिने नेताहरूनै पार्टी छोडेर हिड्दा आगामी चुनावलाई असर गर्ने धेरैको अनुमान छ ।

मधेशवादी दल फुटले निरिह
मधेशवादी दलहरू पनि कहिले फुट्ने र कहिले जुट्ने हुँदा निक्कै कमजोर बनेका छन् । अघिल्लो निर्वाचनमा मधेशवादी तत्कालिन दल राजपाले बहुमत ल्याएको महोत्तरीमा अहिले उक्त पार्टीको फुटले अन्य दलको जस्तै हालत छ ।

राजपाबाट नै विजयी भएका कतिपय पालिकाका जनप्रतिनिधिहरूले अहिले पार्टी नै छाडिसकेका छन् । लोसपा र जसपा रोज्ने होडबाजीले जनप्रतिनिधिहरूको नै मत बाझिँदा सर्वसाधारण समेत अन्योलमा छन् ।

महोत्तरीका १५ पालिकाअन्तर्गत आठ पालिकामा तत्कालिन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु