शोधनान्तर घाटा साढे दुई खर्ब

२०७८, २८ फाल्गुन शनिबार ०७:४७

काठमाडौं: शोधनान्तर स्थिति निरन्तर घट्दोक्रममा रहेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को सात महिना अर्थात् साउनदेखि माघसम्मको शोधनान्तर स्थिति झण्डै साढे दुई खर्ब अर्थात् दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ७ करोडले घाटामा रहेको छ । त्यस्तै चालु खाता चार खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब चार अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

रेमिट्यान्स पनि घट्यो

समीक्षा अवधिमा रेमिट्यान्स आयमा ४.९ प्रतिशतले कमी आई पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आयमा ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६.८ प्रतिशतले बढेको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख एक सय दुई पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई एक लाख ५२ हजार तीन सय २५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

मूल्यवृद्धि ५.९७ प्रतिशत

चालु आवको सात महिनामा मूल्यवृद्धि ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो वृद्धि २.७० प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि छ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ । २०७७ माघको तुलनामा २०७८ माघमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू, तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत रहेको छ । २०७७ माघमा उल्लेखित क्षेत्रमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशतको मूल्यवृद्धिदर रहेको थियो ।

व्यापार घाटा १० खर्बभन्दा बढी

आर्थिक वर्ष २०७८/०७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

आव २०७८÷०७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.०१ प्रतिशतले मात्रै बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जालगायतको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतको आयात घटेको छ । आव २०७८÷०७९ को सात महिनामा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो । त्यस्तै भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबर भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु