बालकथाः कृष्णथुम्की

२०७८, २६ फाल्गुन बिहीबार २१:५३

कृष्णथुम्की -पारसमणि दाहाल

निन्दासिरान गाँउ नजिकै भुम्म परेको डाँडा थियो । डाँडाको नाम कृष्णथुम्की राखिएको थियो । यहाँ हरियालीले भरिएको ठूलो जङ्गल पनि थियो । यो ठाउँ ज्यादै रमणीय थियो । यहाँबाट पूर्वतर्फ मेची नदी, भारतको खर्साङ्ग, कालेबुङ्ग, दार्जिलिङ्ग पहाडहरू देखिन्छन् । त्यही डाँडाको अग्लो स्थानमा कृष्ण मन्दिर थियो । भगवान श्रीकृष्णले यस धर्तीको विचरण कालमा यो स्थानमा पनि आइपुग्नु भएको किम्बदन्ती छ । भगवान श्री कृष्णको पाइला शिला पत्थरमा प्रष्ट देखिन्छ । धार्मिक स्थल बनेको पूर्व झापा जिल्लाको कृष्णथुम्की; थुम्की अर्थात डाँडा भएकोले यहाँबाट पूर्वतर्फ मेची नदी र भारतका केही भागहरूको दृष्यावलोकन गर्न कैयौं मानिसहरूको घुईचो लाग्ने गर्दथ्यो । दक्षिणतर्फ झापा जिल्लाको समथर भूभाग पश्चिम उत्तरका रमाइला डाँडाहरू नेपालकै झापा तथा ईलामका केही स्थानहरू पनि प्रष्ट देखिन्थ्यो ।

त्यहाँ विभिन्न थरिका बोटबिरुवाको घना जङ्गल थियो । जङ्गलमा मानिसहरू घाँस दाउरा गर्न जाने गर्दथे । केही समयसम्म त त्यो जङ्गलले त्यहाँका मानिसहरूको घाँस दाउराको आवश्यकता पूरा गर्दै रह्यो । तर मानिसहरूको चाप बढ्दै गयो । दिनहुँ घाँसदाउरा गर्ने मानिसको घुइँचो लाग्न थाल्यो । यतिसम्म कि भारत नक्सलबाडीदेखिका मानिसहरू पनि दाउरा काट्न त्यहाँ आउन थाले । दिनहुँ घाँसदाउरा सकिन लागे पछि कृष्णथुम्की जङ्गलमा हाहाकार मच्चिन थाल्यो । दिनहुँ आफ्ना सदस्य रुखबिरुवाहरूको हाँगा, पात र रुखका मूढाहरू चिर्दै मानिसहरूले भारी हालेर लगेको देख्दा जङ्गलका पुराना बूढा रुखहरू आतङ्कित बन्न थाले।

“यस्तै पाराले हो भने त हामी सखापै हुन्छौँ । हाम्रा शाखा सन्तान कोही पनि जीवित हुँदैनन् । हाम्रो वंश नै नाश हुन्छ । यी मानिसहरू पनि कति अधम रहेछन् ।” जङ्गलको एउटा अग्लो बूढो सिमलको रुखले सोच्यो ।

“यी मानिसहरूलाई तह नलगाइ भएन । केही उपाय त गर्नै पर्ने भयो । भोलि बिहानसम्ममा केही उपाय त लगाउनै पर्ला !” यस्तै कुराहरू सोच्दै बूढो सिमल निदायो ।

बिहान झिसमिसेमै ट्वाक… ट्वाक… आवाज आयो । बूढो सिमल बिउँझियो । “यो जङ्गललाई के उपायले जोगाउने होला ?” सोचविचारमा मग्न भएकोले सिमल राति अबेरसम्म निन्द्रा परेकै थिएन । बिहानपख भुसुक्कै निदाएछ । ट्वाक……! ट्वाक !! गर्दै आएको आवाजले उसको निन्द्रा खुल्यो । उही बूढो सिमलको आफन्त करम (हल्लु) को रुख केही महिना अघि बिरामी भएर ढलेको थियो । उसैलाई पो मानिसहरू ट्वाक…..! ट्वाक !! गर्दै गिढ्दै रहेछन् । विचरा ! बिरामी करमको रुख सञ्चो भएपछि फेरि उठौँला भनेर पल्टेर आराम गरिरहेको थियो । उसैलाई मानिसहरूले निसाना बनाएको देखेर बूढो सिमललाई छटपटी भयो ।

के गरुँ र कसो गरौ भयो । उपाय केही सुकेको थिएन ।

विचरा ! बिरामी करमको रुख ! जति पटक मानिसले उसको शरीरमा बञ्चरो हान्थे । उति पटक नै “ऐया !… ऐया…!!” भन्थ्यो । आफन्त करमको रुखले “ऐया…! ऐया…!!” भनेको सुनेर बूढो सिमलको रुखलाई खपिनसक्नु भयो । उसले तत्कालै आफ्नो भूवाहरू हावामा उडाउँदै जङ्गलका सबै बोट बिरुवाहरूलाई खबर पठायो ।

“जङ्गलमा भएका सबै बोट बिरुवाहरू तुरुन्त सिमलको फेदमा भेला हुनू !”

सिमलले एकाबिहानै तुरुन्त भेला हुन किन सन्देश पठाए ? केही आपत् पो पयो कि ? झटपट हातमुख धोएर जङ्गलका सबै बोटबिरुवाहरू सिमलको फेदमा भेला भए । सिमलकी जेठी छोरी अम्लिसो विवाह भएर अलि परको डाँडामा पुगेकी थिई । उसको खसम भने निगालो थियो । आफ्नो बुवा र ससुराको उर्दी मान्दै हस्याङ फस्याङ गर्दै दुवै छोरीज्वाइँ अम्लिसो र निगालो आइपुगे ।

उता बूढो सिमलको कान्छी छोरीको विवाह काउसोसँग भएको थियो । कान्छी छोरीको नाम सिस्नो राखिदिएको थियो सिमलले ।

बूढो सिमलको छोरो भने लक्का जवान थियो । उसको नाम चिलाउने थियो । यो निक्कै हुर्किएको थियो । यसले पनि जङ्गलमा राम्रै नाम कमाएको थियो । हुर्किएको छोरोलाई बूढो सिमलले अलि परको पाखोमा घरबास गर्न अाएको थियो । चिलाउने उतै रमाएको थियो ।

एकाबिहानै आफ्नो बुवाको सन्देश सुनेर चिलाउने पनि हत्त न पत्त आइपुग्यो । अरु छिमेकीहरू सखुवा (अग्राख), सिसौ, बकाइनो, उत्तिस, कदम, खयर, बडहर, खस्रेतो सबै भेला भए ।

बूढो सिमलले बिरामी भएर आराम गरिरहेको करमको रुखमाथि मानिसहरूले बञ्चरोको प्रहार गर्दा ऐया…! ऐया…!! गरिरहेको करमको हालत भेला भएका सबैलाई देखाउँदै भन्यो, “देख्यौ मानिसहरूको ज्यादती…! विचरा करम ! बिरामी भएर लडेको थियो । उसैमाथि बञ्चरोको प्रहार ! कठै ! कति दुखेको होला ? विचरा ! ऐया…! ऐया…!! भनेर कराइरहेको छ । यसरी कति दिन सहने हो ? हाम्रा सन्तानको रक्षा नगर्ने हो भने यिनीहरूले त केही समयमा हामी सबैको प्राण लिन्छन् ।”

सिमलको कुरा सुनेर सबै स्तब्ध भए । बूढाको जवान छोरो चिलाउनेले जङ्गिदै भन्यो, “के गर्ने त यिनीहरूलाई तह लगाउन ?” चिलाउने रिसले चुर भयो ।

चिलाउनेको जोश देखेर सिसौ र बकाइनोले भने, “हेर चिलाउने भाइ ! युवा जोश देखाएर मात्र हुँदैन । बुद्धि पुऱ्याएर काम गर्नुपर्छ । यी मानिसहरू ज्यादै ज्याद्रो पो छन् त । यिनीहरूलाई तह लगाउन राम्रै विचार गर्नुपर्छ । बरु सिमल दाइले नै केही सोचेको पो छौ कि ?”

सिमलले भन्यो “मैले गए रातिदेखि नै सोचविचार गरेँ । मेरो दिमागमा त केही उपाय फुरेन यी मानिसहरूलाई तह लगाउने । म एक्लैले केही गर्न सक्ने पनि त होईन ! त्यसैले तिमीहरूलाई यहाँ भेला बोलाएको हुँ ।”

सिमलले आफ्नो भनाइ सिध्याएपछि सखुवाले भन्यो, “हैन सिमल दाइ । यो समस्याको समाधान त स्थायी रुपमै गर्नुपर्ला । टालटुले पाराले त नहोला है । त्यसैले मलाई त के लाग्छ भने यो जङ्गलको रखवारी गर्न र मानिसहरूलाई तह लगाउन हामीहरू मध्येकै कसैलाई जिम्मेवारी तोक्नु पर्ला..!”

सखुवाको कुरा सुनेर कदम, खयर, बडहर सबैले समर्थन जनाए ।

“हेर्नुस् साथीहरू सखुवा दाइले ठिकै भन्नुभयो । यो जङ्गलमा अरु पनि समस्याहरू छन् । गाईबाखा जथाभावी चराउने, सानी कलिला नानी • बिरुवाहरू खाइदिने, कुल्चिदिने, पातहरू टिपिदिने, स्याउलाहरू सोहोरी दिने गरेर हाम्रा सन्तान बढ्न न पाएका छैनन् । यो सबै समस्या समाधान गर्ने • गरेर यो जङ्गलमा एक जना कसैलाई राष्ट्रपति र कसैलाई प्रधानमन्त्रीमा नियुक्ति गरी अरुहरूलाई पनि गच्छे अनुसारको जिम्मेवारी तोक्नु पर्ला अनि सबैको सामुहिक सल्लाह र प्रयासले मानिसहरूको मनपरी रोक्न सकिएला, नत्र त खै !”

कदम, खयर, बढहर सबैले एकै स्वरमा सखुवाको प्रस्तावलाई समर्थन जनाउँदै उनीहरूले राष्ट्रपतिका लागि बूढो सिमललाई प्रस्ताव गर्दै भने, “हेर सिमल दाइ ! तिमी यस जङ्गलको जेष्ठ हौ । तिमी बूढो पनि छौ । साथै अनुभवी पनि ! तिम्रा छोराछोरीहरू सबै हुर्किएर लाखापाखा लागिसके । तिमी हामी सबैभन्दा अग्ला पनि छौ । तिमीले मानिसहरू यो जङ्गलमा दाउरा घाँस गर्न आएको परैबाट देख्छौ पनि त्यसैले तिमी नै यो जङ्गलको राष्ट्रपति बन ।”

कदम, खयर, बढहर आदिको प्रस्ताव सुनेर भेला भएका सबै रुख बिरुवाले समर्थन जनाए । सिमल पनि जङ्गलको राष्ट्रपति हुन पाएकोमा भित्रभित्रै दङ्ग पयो तर अरुलाई भने देखाएन ।

“प्रधानमन्त्रीचाहिँ महिला सदस्यहरूबाटै छान्नु पर्ला !” खस्रेतोले आफ्नो खम्रेको आवाजमा प्रस्ताव गयो ।

खम्रेतोको प्रस्ताव पनि सबैले एकैस्वरमा स्वीकार गरे; ताली बजाए । तर कसलाई प्रधानमन्त्री बनाउने ? उसको नाम कसैले प्रस्ताव गरेनन् । सभामा सन्नाटा छायो । सबै मौन भए। “प्रधानमन्त्री हुने उपयुक्त महिला को होला ?” भट्ट दिमागमा कसैको नाम फुरेन । सभा शान्त भयो । • सबैको मौनतालाई तोड्दै सिसौले भन्यो, “अम्रिसोलाई प्रधानमन्त्री बनाउनु पर्ला ! सबैको समर्थन भए ।” सिसौको प्रस्तावलाई पनि सबैले समर्थन जनाए । भेलामा उपस्थित भएका कसैले पनि विरोध गरेनन् । अम्रिसो प्रधानमन्त्री बन्न पाएकोमा फुरुङ्ग भई ।

खयरले भन्यो, “हैन हामी राष्ट्रपति र प्रधानमन्त्री मात्रै चुन्ने कि आगामी दिनका लागि योजनाहरू पनि बनाउने हो ? मानिसहरूले वनै सखाप पार्न लागे हामी चै सभा सम्मेलनमै अलमलियौ भने त भोलि फेरि हालत उही होला ? कसो साथी हो ?”

“खयर तिमीले ठीक भन्यौ ! हाम्रै आँखा अगाडि विचरा ! करमले ऐया……! ऐया……!! भन्दै दम तोड्यो……। भोलि फेरि अर्कोले यही नियति भोग्नु पर्ला ! समयमै बुद्धि नपुऱ्याए ।” सबैले एउटै स्वरमा कराए ।

राष्ट्रपति चुनिएको सिमलले भन्यो, “अबदेखि हामीहरूले दुर्दिन देख्न नपरोस् भनेरै मैले तिमीहरूलाई भेला बोलाएको हुँ । मलाई नै तिमीहरूले राष्ट्रपतिको जिम्मेवारी तोकेपछि केही त गर्नै पर्ला नि ! त्यसैले सबैले ध्यान दिएर सुन म सबैको जिम्मेवारीको टुङ्गो लगाउँछु । कसैलाई चित्त नबुझे फेरि छलफल गरौँला । अब हामी सबै मिलेर यी जब्बर मानिसहरूलाई ठेगान नलगाई भएन ।”

राष्ट्रपति सिमलले सबैको जिम्मेवारी एकएक गर्दै सुनाउँदै गयो ।

“प्रधानमन्त्री चुनिएकी मेरी छोरी अम्लिसो डाँडै भरी फुलेर झपक्कै हुने ; अर्की छोरी सिस्नो चाहिँ पाखैभरी छरिएर बस्ने; मानिसहरू हिँड्ने यो जङ्गलको बाटो भरी सिस्नोको ठूलोठूलो झ्याङ भएर बस्ने । ”

“ऐंसेलु पनि आफ्ना काँडा तिखारेर ठिक्क अवस्थामा रहने । काउसोको लहरो जताततै फैलने ।”

“मेरो जेठो छोरो लक्का जवान छ। हृष्टपुष्ट पनि छ । उसलाई मानिसले छुने बित्तिकै चिलाउने गरेर तयार हुने ।”

“सखुवाले मानिसहरू यो जङ्गलमा पस्ने बित्तिकै सुसेल्ने । सिसौ बकाइनो, उत्तिस, कदम, खयर, बडहर, खम्रेतोले चाहिँ बेस्सरी हल्ला खल्ला गर्ने । ”

म चाहिँ मानिसहरू जङ्गलमा घाँस दाउरा गर्न आएको परैबाट नियाल्छु र देख्ने बित्तिकै मितज्यू हावालाई बेस्सरी दौडन भन्छु । मितज्यू बेस्सरी दौडेपछि मेरा फूलहरू उडेर मानिसहरू यो जङ्गलमा पसेको सूचना तिमीहरूलाई गर्ने छन् र त्यसै बेला प्रधानमन्त्री छोरीको फुलेको केस बेस्सरी हल्लाएर मानिसको आँखाभरी धुलो पसाउने । काउसो पनि मानिसको जिउभरी जाइलाग्ने । मानिसहरू आत्तिएर दौडदा सिस्नेले झ्याम झ्याम पोल्ने । ऐंसेलुले त्यही मौका छोपोर जिउभरी घोचिदिने । मानिसहरू आत्तिएर समाउन आउँदा चिलाउनेले बेस्सरी चिलाउने खन्याउने । यो सबै कार्यहरू हामीहरूले मिलेर गयौँ भने मानिसहरू दुरिदुहाई हुन्छन् । यो जगल तर्फ आँखा उठाएर पनि हेर्न सक्दैनन् । त्यसपछि मात्र हामी र हाम्रा सन्तानको भविष्य जोगिने छ ।”

राष्ट्रपति सिमलको कुरा सुनेर सबै दङ्ग भए । सबैले राष्ट्रपतिको कुरालाई समर्थन गर्दै जिम्मेवारी तोकिएअनुसार नै कार्य गर्ने भन्दै बिदा भए ।

भोलिपल्ट बिहान सधैँ झैँ मानिसहरू बञ्चरो काँधमा हालेर जङ्गलतर्फ आउँदै गरेको राष्ट्रपति सिमलले टाढैबाट देख्यो । अघिल्लो दिनको सल्लाह बमोजिम नै उसले मितज्यू हावालाई बोलायो । हावा पनि हुनहुनिँदै तत्कालै आयो । राष्ट्रपति सिमलले आफ्नो पुलहरू उडाएर सबैलाई सूचना गयो ।

राष्ट्रपतिको अघिल्लो दिनको निर्देशन बमोजिम सबै आ-आफ्नो जिम्मेवारी निभाउन मोर्चामा खडा भए । हावा बेस्सरी चल्यो । अम्लिसोको फूल उडेर मानिसको आँखाभरी फ्यो । सिस्नोले झ्यामझ्याम बजायो । काउसो जिउभरी खनियो । ऐंसेलुले घोच्नु घोच्यो । जता समायो त्यतै चिलाउने; चिलाउनेले पनि धेरै काम गर्यो । मानिसहरूको भागाभाग भयो । कसैले डोको जङ्गलमै फ्याके । कसैको जुत्ता चप्पल हरायो । कसैको टोपी हावाले उडायो । बञ्चरो जङ्गलमै छाडे । आफ्नो ज्यान बचाउन धौधौ भएका मानिसहरूले बोकेका खुकुरी, खुर्पा कता हराए पत्तै पाएनन् ।

यसरी एक हप्तासम्म मानिसहरू र जङ्गलका रुख बिरुवाहरू बीचमा घमासान युद्ध भयो । कृष्णथुम्कीको जङ्गलमा भएको आन्दोलनले मानिसहरूलाई भगाइ छाड्यो । मानिसहरू थर्कमान भए। जङ्गलमा जाने कसैले आँट गर्न सकेनन् । त्यसपछि जङ्गलका रुखबिरुवा आनन्दले बस्न थाले ।

उता मानिसहरूचाहिँ – “हैन के भएको हो ? एकहप्ता भयो कृष्णथुम्कीको जङ्गलमा त पस्नै पो सकिँदैन त ! के भएको होला ?” भनेर सल्लाह गर्न थाले ।

कृष्णथुम्कीको मध्यभागमा रहेको श्रीकृष्णको मन्दिरका पुजारीलाई भने त्यस जङ्गलमा मानिसहरूले वर्षौंदेखि गरेको ज्यादती मन परेको थिएन । उनले कसैलाई केही भन्न पनि सकेका थिएनन् । केही समय अघि रुखबिरुवाले गरेको सल्लाह बमोजिम उनीहरू मिलेर मानिसहरूलाई लखेटेको उनलाई साह्रो राम्रो लागेको थियो । पुजारी मनमनै खुसी थिए । “अब चाहिँ यो जङ्गलको सुरक्षा हुने भयो” भनेर उनी भित्रभित्रै दङ्ग थिए ।

एकदिन बिहानै मन्दिरमा दर्शन गर्न आएका स्थानी वृद्धले पुजारीलाई सोधे, “पुजारी बा ! अचेल यो जङ्गलमा गाउँका सबै महिला, पुरुष घाँसदाउरा गर्न आउन डराउँछन् । के भएर होला ? यहाँ पस्ने बित्तिकै हावा चल्छ रे । अम्रिसोको फूल मानिसको आँखामा पस्छ रे । काउसो, चिलाउने, ऐंसेलु, सिस्नोले जताततै हान्छ रे हैन के भएको हो ? तपाईंलाई केही थापा पो छ कि ?”

• बिहानै मन्दिरमा दर्शन गर्न आएका गाउँकै वृद्धले कुरा कोट्याएपछि पुजारी बाले उनलाई केही दिनअघि रुखबिरुवाले गरेको सल्लाह; मानिसहरूले यो जङ्गलमा गरेको ज्यादती सबै सुनाइदिए । जङ्गलमा भएको रुख बिरुवाहरूको बैठक र मानिसहरू बिरुद्ध मोर्चा कस्ने, उनीहरूले गरेको निर्णय सबै सुनाइदिए ।

वृद्धले धेरै बेर गम खाएर पुजारीसँग भने, “यो सबै कृष्ण भगवान् कै लिला हो ! कृष्णथुम्की कै शक्ति हो । यहाँका मानिसहरूको बुद्धि त भएन नै तर यहाँका बोटबिरुवाहरूको कति राम्रो अक्कल ! अब म यहाँका मानिसहरूलाई भेला गरेर यो जङ्गलको संरक्षण गर्न, घेराबारा लगाउन; मन्दिर वरिपरि भूक्षय रोक्न; खालि ठाउँमा वृक्षारोपण गर्न; मन्दिरको रङरोगन लगाउन र यस स्थानलाई उच्च कोटीको तिर्थस्थल बनाउन लगाउँछु ।”

वृद्धले गाउँका सबैलाई भेला बोलाए। पुजारीसँग भएका सबै कुराहरूको फेहरिस्त गाउँलेहरूलाई सुनाए । सबै कुरा सुनेपछि घाँस दाउरा गर्न जाने सबै मानिसहरूको अनुहार निन्याउरो भयो । लाजले मुन्टो भुइँतिर बटारे । आफ्नो बुद्धिलाई उनीहरूले मनमनै धिक्कारे । वृद्धले कृष्णथुम्कीको ऐतिहासिक गाथा सुनाएर यसको संरक्षणमा लाग्न र यस स्थानलाई तिर्थस्थल बनाउन सबैलाई आव्हान गरे । वृद्धको आव्हान अनुसार सबैले सहयोग गरे । कृष्णथुम्की संरक्षण-सम्वर्द्धन समिति निमार्ण गरे । अहिले कृष्णथुम्की झापा जिल्लाकै एक उच्च कोटीको तिर्थस्थल बन्न पुगेको छ । सबै रुख बिरुवाहरू खुसी छन् ।

राष्ट्रपति बूढो सिमल र प्रधानमन्त्री अम्लिसो आ-आफ्नो पदमा हालसम्म कायमै छन् । पदमा बसेर राम्रो भूमिका निभाएकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अर्को कार्यकाल पनि निर्वाचित गर्ने सल्लाह सबै रुखबिरुवाहरूले गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु