सस्तो ब्याजमा १ करोड माथि ऋण, २ हजार ५५ जनाले लिए

२०७८, २६ फाल्गुन बिहीबार १५:४४

काठमाडौँ: ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेकाे संख्या गत माघसम्म २ हजार ५५ पुगेकाे छ । बैंक तथा वित्तीय संस्था र लघुवित्तमार्फत ती ऋणीले १ करोडभन्दा बढीका दरले सस्तो ब्याजदरको कर्जा सुविधा लिएका हुन् । माघसम्म १ लाख ४२ हजार ३ सय ४४ जनाले सहुलियत ब्याजको कर्जा सुविधा लिइसकेको राष्ट्र बैंकको तथ्यांक छ । तीमध्ये २ हजार ५५ जनाले १ करोड भन्दा बढी रकमको कर्जा लिएका हुन् ।

सहुलियत कर्जा कार्यक्रम अन्तर्गत गत माघसम्म कुल २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख रुपैयाँ बराबर रकम स्वीकृत भएको छ । जसमध्ये २ खर्ब १४ अर्ब ७८ करोड १० लाख रुपैयाँ लगानीमा छ । यो कार्यक्रम अन्तर्गत नागरिकले विभिन्न १० वटा शिर्षकमा सस्तो ब्याजदरको कर्जा सुविधा लिन सक्छन् । तीमध्य महिला उद्यमी शिर्षकमा ६ प्रतिशत र बाँकी ९ वटा शिर्षकमा ऋणीले ५ प्रतिशत ब्याज अनुदान पाउँछन । ब्याज अनुदान सिधै ऋणीले पाउने भने होइन । बैंकले तय गरेको ब्याजदरमा ऋणीले सरकारबाट पाउने ब्याज अनुदान घटाएर बाँकी आउने ब्याजमात्र भुक्तानी गर्ने हो । त्यो बाँकी ब्याज बैंकले आफैं सरकारसँग दाबी गर्छ ।
गत माघसम्म सस्तो कर्जा लिएका कुल ऋणीमध्ये सबैभन्दा धेरै ८१ हजार २ सय २७ जना महिला उद्यमी छन् । यी महिलाले ७४ अर्ब १९ करोड ४६ लाख रुपैयाँ बराबर कर्जा सुविधा लिएका छन् । यस्तै ५८ हजार २ सय ६९ जनाले कृषि कर्जा लिएको देखिन्छ । ती ऋणीले कृषि शिर्षकमा १ खर्ब ३६ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबर कर्जा लिएका छन् । उक्त कर्जामध्ये १ खर्ब ३४ अर्ब रुपैयाँ धितोसहित र बाँकी बिना धितो प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियत ब्याजमा १ करोडभन्दा धेरै ऋण लिनेहरुकाे सूची


ताजा खबर

    सम्बन्धित शीर्षकहरु