किन दमकल किन्न गाउँपालिकाले बेवास्ता गर्छहोला ?

२०७८, २२ फाल्गुन आईतवार ०९:४४

पाँचथर: २९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही साँझ पाँचथरकै कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा पनि आगो लाग्यो । एक घर र ५ पसल जल्दा ९० लाख रुपैयाँ बढीको क्षति भयो ।
यसअघि जिल्लाको फाल्गुनन्द, हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगो बेलैमा नियन्त्रण हुन नसक्दा स्थानीयको जायजेथा खरानी भयो । पहाडी बजारका प्रायः घर काठपातले बनाएका हुन्छन् । ती घरभित्र अलैंची र अम्रिसो जस्ता बालीको भण्डारण गरिने भएकाले पनि आगलागीमा ठूलो परिमाणको धनजन क्षति हुन्छ । हिउँद सुरु भएपछि जेठ–असारसम्म आगलागीका घटना भइरहँदा पनि स्थानीय तहले दमकल खरिद गर्ने दिशामा चासो देखाएको छैन । एउटा नगर र ७ गाउँपालिकासहित ८ स्थानीय तह रहेको पाँचथरको फिदिम नगरपालिकाबाहेक अन्यत्र दमकल छैन । उता ताप्लेजुङभर फुङलिङ नगरपालिकामा एउटा मात्रै दमकल छ ।

ती स्थानमा हुने साना–ठूला सबैखाले आगलागीका घटनामा आगो निभाउन फिदिम नगरपालिकाकै दमकलको भरथेग छ । पाँचथरसहित छिमेकी तेह्रथुमको आठराई र ताप्लेजुङमा आगलागी हुँदासमेत फिदिमकै दमकल पुग्छ । फिदिमको २ मध्ये एउटा दमकल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अर्को नगरपालिकामै छ । आगो निभाउन एक दमकलमा कम्तीमा ६ जनाका दरले दक्ष जनशक्ति आवश्यक हुन्छ ।
आगलागी जतिबेला र जहाँसुकै हुन सक्ने भएकाले दमकलका पार्टपुर्जा चेकजाँच, इन्धन भर्ने तथा आवश्यकताअनुसारका जनशक्तिलाई आगो निभाउने तालिम र आवश्यक उपकरणसहित तैनाथ राखेर नियन्त्रणमा खटाइने प्रकोप व्यवस्थापनको अगुवाइ गर्दै आएका वडा नम्बर ४ का अध्यक्ष प्रकाश गुरुङ बताउँछन् । ‘दुईमध्ये एउटा दमकलका मात्रै चालक नियुक्ति गरिएको छ, बाँकी एउटा आफैं हाँकेर आगो निभाउन पुग्छु,’ उनी भन्छन् । पहाडी बजारमा सल्कनासाथ आगोले ठूलो रूप लिने, ढिला गरी खबर आउने, जाने बाटो साँघुरो हुने तथा सदरमुकामभन्दा टाढाको दूरीमा आगलागी हुने हुनाले धेरै क्षति भइसक्दा मात्रै पुग्ने गरेको गुरुङको अनुभव छ ।

फिदिमका दमकलले पाँच वर्षको अवधिमा जिल्लामा भएका साना–ठूला गरी ३५ ठाउँको आगो निभाउनुका साथै छिमेकी आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजार, ताप्लेजुङ सदरमुकाम फुङलिङ र ताप्लेजुङकै दोभानसम्म पुगेर नियन्त्रणमा साथ दिएको छ । आगो नियन्त्रण गर्नबाहेक बजार क्षेत्रमा खानेपानीको अभाव हुँदा घरघरमा लगेर पानी वितरणमा पनि फिदिमकै दमकल प्रयोग गरिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट ४५ मिनेट दूरीेको तेह्रथुमको आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजारमा दमकल छैन । फिदिमकै दमकलको भर छ । अर्को छिमेकी ताप्लेजुङको फुङलिङ नगरपालिकामा एउटा मात्रै दमकल छ ।

पाँचथरसहित छिमेकी दुइटै जिल्लामा आगलागीका घटना भइरहन्छन् । ‘जतिबेला जहाँबाट पनि खबर आउन सक्छ, यन्त्र र जनशक्ति तैनाथ राखेर नियन्त्रणमा खट्छौं,’ पाँचथरका प्रहरी प्रमुख राकेश थापा भन्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु