रुसी सेना भित्रिँए सॅंगै युक्रेनी हरु को भागाभाग

२०७८, १४ फाल्गुन शनिबार १२:५९

बेल्जियम: युक्रेनको पूर्वी सहर निप्रोबाट राजधानी किभतिर जाने रेलमा शुक्रबार बिहान यात्रा गर्दै थिइन्, शिक्षक भ्यालेन्टिना । १२ वर्षकी छोरी र बिरालो ‘बोनिया’ पनि साथमा थिए । निप्रोबाट ८० किलोमिटर पर पाभ्लोग्रेडमा उनको घर छ । पाभ्लोग्रेडमै रहेको एक न्युक्लियर प्लान्टमा रुसले आक्रमण गर्न सक्ने डरले उनले जीउ जोगाउन थातथलो छाडेकी हुन् ।

त्यही रेलमा थिए फिल्म निर्देशक क्राभ्चिसिन । उनी डोनबासको दक्षिणतर्फको सहर आभ्दिभ्कामा युक्रेनी र रुसी सेनाबीचको भिडन्त क्यामेरामा कैद गरेर फर्कंदै थिए । ‘मैले तपाईंको आवाज राम्रोसँग सुन्न सकेको छैन,’ उनले बीबीसीसँग भनेका छन्, ‘तोपको आवाजका कारण म लगभग कान नसुन्ने जस्तै भएको छु ।’
किभको उत्तरपट्टिको सहर ओबोलोनमा शुक्रबार बिहान एक रुसी सैनिकको गाडीले कारलाई ठक्कर दियो । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भए पनि चालक सकुशल छन् । यी केही घटनाले रुसले युक्रेनमाथि थालेको आक्रमणको दृश्य उजागर गर्छ । बिहीबारदेखि थालिएको सैन्य कारबाहीअन्तर्गत युक्रेनका लगभग सबैजसो सहरमा रुसी सैनिकले आक्रमण गरेका छन् । युक्रेनमा नाटो मुलुकको सैन्य गतिविधि बढेकाले त्यसलाई निर्मूल पार्न कारबाही थालेको रुसले जनाएको छ । रुसी सेना युक्रेनका विभिन्न क्षेत्रमा प्रवेश गर्ने र कब्जामा लिने क्रम बढ्दो छ । स्थल, जल र वायु तीनै सेना तैनाथ गरेको रुस २ दिनमै राजधानी किभमा प्रवेश गरिसकेको छ । रुसी सैनिक भित्रिँदै गर्दा युक्रेनीले मुलुक छाड्ने क्रम बढ्दो छ ।

किभ, खार्किभलगायत सहरका मेट्रो स्टेसनमा हजारौंको भीड जम्मा भएको छ । बालबालिका, ज्येष्ठ नागरिक, अशक्तसमेत रेलको प्रतीक्षामा चिसो सहँदै रातभर स्टेसनमै बिताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । युक्रेन सरकारले लगाएको कर्फ्युका कारण पनि उनीहरूको बिचल्ली भएको बताइएको छ । हालसम्म एक लाखभन्दा बढी युक्रेनीले सुरक्षित स्थलको खोजीमा मुलुक छाडिसकेको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले जनाएको छ । पश्चिमी छिमेकी पोल्यान्डबाट धेरै युक्रेनी युरोप छिरेका छन् ।

मुलुक भित्रिने युक्रेनीको कोरोना परीक्षण गरी क्वारेन्टिनमा राखिएको पोल्यान्डले जनाएको छ । तर, यस्तो संख्या बढ्दै गएकाले व्यवस्थापनमा समस्या देखिन थालेको छ । हंगेरी, मोल्डोभालगायत मुलुकमा पनि हजारौं शरणार्थी पुगेका राष्ट्रसंघले बताएको छ । शरणार्थीले खेपेका सकस र हैरानीका अलावा रुसी र युक्रेनी सेनाबीच भएका भिडन्त र मिसाइल आक्रमणका दृश्य अहिले सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय समाचार संस्थामा छ्यापछ्याप्ती छन् । पछिल्ला २ दिनमा दुवैतर्फ हताहती र घाइते हुनेको ग्राफ पनि बढ्दो छ । तर संख्यामा दुवै पक्षले फरक–फरक दाबी गरिरहेका छन् ।

युक्रेनी रक्षा मन्त्रालयले हालसम्म एक हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । बिहीबार युक्रेनले आफ्ना ४० जना सैनिक मारिएको र केही दर्जन घाइते भएको जनाएको थियो । रुसले भने किभनजिकै रहेको होस्टमोल एयरफिल्ड कब्जाका क्रममा मात्रै २ सय युक्रेनी सैनिक मारिएको जनाएको छ । एन्टोनोभ एयरपोर्टका नामले समेत चिनिने एयरफिल्ड आफ्नो नियन्त्रणमा लिन रुसले २ सय सैन्य हेलिकोप्टर खटाएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईए नोभोस्टीले लेखेको छ ।

ब्ल्याक सीमास्थित टापु स्नेक आइल्यान्डको सुरक्षार्थ खटिएका १३ युक्रेनी सैनिक पनि मारिएका छन् । आत्मसमर्पण गर्न रुसी सैनिकले गरेको आग्रह नमानेपछि भिडन्त भएको थियो । मारिनुअघि एक युक्रेनी सैनिकले दिएको भिडियो वक्तव्य ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बेलायती रक्षामन्त्री जेम्स हिप्पीले भने अहिलेसम्म साढे ४ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । उनका अनुसार रुसी आक्रमणमा मारिनेमा १ सय ९४ जना युक्रेनी सुरक्षाकर्मी र ५७ जना सर्वसाधारण पनि छन् । संयुक्त राष्ट्रसंघले भने हालसम्म २५ सर्वसाधारण मारिएका र १ सय २ जना घाइते भएको जनाएको छ । रुसले मानव बस्तीमा आक्रमण नगर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नगरेको युक्रेनको आरोप छ । युक्रेनी आन्तरिकमन्त्री भादिम डेनिसिन्कोले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै पछिल्लो २४ घण्टामा रुसी सैनिकले ३३ वटा मानवीय बस्तीमा आक्रमण गरेको बताएका छन् ।

रुसले राजधानी किभलाई लक्ष्य गर्दै बिहीबारदेखि नै उत्तर, पूर्व र दक्षिण तीनतिरबाट लगातार आक्रमण गरिरहेको थियो । शुक्रबार बिहान १० बज्नु केही मिनेटअघि मात्रै रुसी सैनिक राजधानी किभमा प्रवेश गरेको युक्रेनी रक्षा मन्त्रालयले ट्वीटमार्फत जनाएको छ । ट्वीटमा भनिएको छ, ‘किभस्थित संसद् भवनबाट उत्तरतर्फ ९ किलोमिटरको दूरीमा रहेको ओबोलोन जिल्लामा शत्रु (रुसी सैनिक) आइपुगेका छन् ।’ मन्त्रालयले स्थानीयलाई सावधान रहन र घर नछाड्न आग्रह गरेको छ । शत्रुको सामना गर्न मोलोटोभ (पेट्रोल बम) समेत प्रयोग गर्न आह्वान गरिएको छ ।

यसअघि किभ छिर्ने दुई महत्त्वपूर्ण स्थान डिमर र इभानकिभमा ठूलो संख्यामा रहेका रुसी सैनिकविरुद्ध आफ्नो सुरक्षा फौज लडिरहेको युक्रेनी सेनाले जनाएको थियो । आफ्नो आक्रमणबाट बच्न रुसी सेनाले सीमा क्षेत्रमा रहेको तेतिरिभ नदीको पुलसमेत भत्काइदिएको युक्रेनी सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ । आफ्ना सुरक्षाकर्मीले रुसी सैनिकको डटेर सामना गरिरहेको उल्लेख गर्दै युक्रेनी सेनाले देशभक्त युक्रेनी नागरिकलाई सेनामा आबद्ध हुन आग्रह गरेको छ । युक्रेन सरकारले रुसविरुद्ध आक्रमण गर्न १८ हजार मेसिनगन सर्वसाधारणलाई हस्तान्तरण गरेको छ । किभबाट १ सय ५० किमि उत्तरतर्फको सहर चेर्निहिभलाई चारैतिरबाट घेरा हालिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी सैनिकले शुक्रबारै चेर्नोबिल न्युक्लियर प्लान्टसमेत आफ्नो कब्जामा लिएका छन् । राजधानी किभबाट १ सय ३० किलोमिटर उत्तरतर्फ रहेको उक्त प्लान्ट सन् २००० देखि बन्द थियो ।

सन् १९८६ मा यो प्लान्ट विस्फोट हुँदा दर्जनौं मानिस मारिएका थिए । जसको असर धेरै वर्षसम्म कायम थियो । रुसी आक्रमणका दौरान फेरि त्यस्तै दुर्घटना निम्तिन सक्ने युक्रेनले चेतावनी दिएको थियो । ‘हाम्रा शत्रुले पक्कै आसपासका स्थानीयलाई जीवनदान दिनेछन्, जसबाट सन् १९८६ मा भएको वियोग दोहोरिने छैन,’ युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बिहीबार ट्वीटरमा लेखेका थिए, ‘यसबाट नै पूरा युरोपमा युद्ध छेडिएको प्रमाणित हुन्छ ।’ चेर्नोबिल वरिपरिको ३२ किमि क्षेत्रलाई संवेदनशील क्षेत्र मानिएको छ ।

रुसले न्युक्लियर प्लान्टमा कार्यरत कर्मचारीलाई बन्धक बनाएर राखेको अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसको दाबीअनुसार यो सैन्य कारबाहीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य दस्ता नै खटिएको थियो । ट्रुम्यान नेसनल सेक्युरिटी प्रोजेक्टकी सामन्था टर्नरले बीबीसीसँगको कुराकानीमा चेर्नोबिल न्युक्लियर प्लान्ट कब्जा गरेपछि रुसका लागि निप्रो नदीलाई करिडोर बनाउन सहज हुने बताएकी छन् । आफ्ना सैनिकले प्लान्टलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको रुसले जनाएको छ । ‘राष्ट्रवादी समूह र अन्य आतंकवादी संगठनले मुलुकको अवस्थाअनुसार उक्साहटका लागि आणविक पदार्थ प्रयोग नगरून् भन्ने हाम्रो उद्देश्य हो,’ रुसी रक्षा मन्त्रालयले भनेको छ । प्लान्ट वरपरको क्षेत्रमा विकिरणको मात्रा सामान्य रहेको र त्यसबारे यहाँ कार्यरत कर्मचारीले निरन्तर अनुगमन गरिरहेको पनि मन्त्रालयको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु