चितवन प्रहरीले विरगञ्जबाट आउँदै गरेका चारवटा ट्रकलाई नियन्त्रणमा

२०७८, १३ फाल्गुन शुक्रबार ११:०७

चितवन: अवैध रुपमा सामानहरू ल्याउँदै गरेको आशंकामा चितवन प्रहरीले विरगञ्जबाट आउँदै गरेका चारवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रकबाट साढे तीन करोड रुपैयाँ बराबरका सामग्री‍हरू बरामद भएको चितवन प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

ठूलो परिमाणमा सामानहरू बरामद भए पनि प्रहरीले चारवटा ट्रकका चालकहरू बाहेक अरुलाई गिरफ्तार गरेको छैन । ‘हामीले ट्रक रोकेर हेर्दा त्यसमा रहेका समानहरू अवैध रुपमा आएको देखियो । तत्काल चार जना ट्रक चालक पनि पक्राउ परेका छन् । सामान काठमाडौं जाँदै गरेको खुलेको छ । ट्रक, बरामद सामान र गिरफ्तार चालकहरूलाई हामीले विरगञ्ज भन्सार कार्यालय पठाउने तयारी गरिरहेका छौं‚’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी नरहरि अधिकारीले भने । बाँकी अनुसन्धान र कारबाही भन्सार कार्यालयले गर्ने उनले बताए ।
चितवन प्रहरीले भन्सार छलेका कपडा लगायतका सामानहरू बोकेर बुधबार साँझ वीरगन्जबाट ट्रकहरू हिँडेको भन्ने सूचनाका आधारमा राजमार्गमा चेक जाँच सुरु गरेको थियो । चितवन खैरहनीको पर्सा बजारमा चेक जाँच गर्ने क्रममा बिहीबार बिहान चारवटा ट्रकहरूमा भन्सार छलेर ल्याउँदै गरेका लत्ता कपडाका पोका र र फलामको छड बरामद भएको चितवन प्रहरीले जनाएको छ ।

कुल ८७ पोका लत्ता कपडा र ८४ टन फलाम बरामद भएको हो । कपडा र छडको अनुमानित मूल्य तीन करोड ४९ लाख ८२ हजार ५१२ रुपैयाँ रहेको डीएसपी अधिकारीले जानकारी गराएका छन् ।

Comments

ताजा खबर