काठमाडौँ: तापक्रम वृद्धिको गतिलाई निरन्तर माथि सर्दै गरेका बोटबिरुवाले प्रस्ट देखाउँछन् । मुलुकका उच्च भेगमा माथि सरेका झार र बुटाहरूले त्यसको चित्र प्रस्ट पारेको अनुसन्धानमा देखिएका छन् ।
पाटन बहुमुखी क्याम्पसको वातावरण विज्ञान विभागका सहप्राध्यापक डा. नारायण गैरे सन् २०१० तिर नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) मा थिए । हिमाली क्षेत्रको वृक्षरेखा अनुसन्धानका लागि उनी लाङटाङ गए । त्यहाँ तलिसपत्र/ठिग्रेसल्लो पाइने स्थानभन्दा केही माथि तिनैका पालुवाहरू पलाएको पाए । २०११ मा उनले त्यसैका आधारमा जलवायु परिवर्तनसँग जोडिएर हिमाली क्षेत्रमा वृक्षरेखा माथि सर्न सक्ने तथ्य बाहिर ल्याए ।
त्यसको दुई वर्षपछि मनास्लु क्षेत्रमा उनले ठिग्रेसल्लाको वृक्षरेखा अध्ययन गर्ने क्रममा बर्सेनि २.६ मिटरका दरले माथि उक्लिरहेको पाए । सन् २०१७ मा खुम्बु क्षेत्रमा ठिग्रेसल्लासँगै भोजपत्र वृक्षरेखा सर्नेसम्बन्धी अनुसन्धान प्रकाशित भयो । खुम्बु क्षेत्रमा ठिग्रेसल्ला विगत वर्षमा ०.९३ मिटरको दरले सर्दै गएको देखियो, भोजपत्रचाहिँ ०.४२ मिटरको दरले । तर पछिल्ला केही वर्षमा भोजपत्रको वृक्षरेखा सर्ने दर स्थिर छ ।
सन् २०१८ मा बेलायतको एक्सिटर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् १९९३ देखि २०१८ सम्म ल्यान्डस्याट भू–उपग्रहबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरेको अनुसन्धानले उच्च हिमाली क्षेत्रमा बिरुवाहरू फैलँदै गएको देखायो । ४ हजार १ सय ५० मिटरको उचाइदेखि ६ हजार मिटरसम्मको उचाइमा झारहरू उम्रिएको पाइयो । हिउँ हुने ठाउँलाई झारले छपक्कै छोपेपछि उनीहरूले तापक्रम वृद्धिको असर भएको निष्कर्ष निकाले ।
एक अनुसन्धानले नेपालमा सन् १९७७ देखि २०१७ सम्म हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको देखाएको छ । शताब्दीको अन्त्यसम्म विश्वमा १.५ डिग्री तापक्रम बढ्दा हिमालय क्षेत्रका ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै दरमा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने इसिमोडको हिन्दुकुश हिमालय एसेसमेन्ट रिपोर्टले भनेको छ । सरकारी तथ्यांकमा नेपालको औसत तापक्रम वृद्धिदर ०.०५६ प्रतिवर्ष छ । यो अरूको तुलनामा उच्च हो । यसरी तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रको वृक्षरेखा माथि सर्दै गएर हिउँ हुने स्थानमा झार उम्रन थालेका छन् ।
उच्च हिमाली भेगमा दुई मिटरसम्मको उचाइ भएका रूखहरू पाइने स्थान ट्री–लाइन अर्थात् वृक्षरेखा भनेर नेपालमा भनिँदै आएको छ । उच्च हिमाली क्षेत्रका वृक्षरेखालाई जलवायुको सूचकका रूपमा लिइन्छ । यसले हिमाली क्षेत्रको जैविक विविधता र मानिसहरूको रहनसहनमा पनि प्रभाव पर्ने प्राध्यापक गैरेले बताए । ती ठाउँमा रूखहरू बन्ने अवस्था सीमित हुन्छन् अर्थात् त्यहाँभन्दा माथि रूखहरू जान सक्दैनन् । नेपालको हिमाली क्षेत्रमा भोजपत्र, धुपी, ठिग्रेसल्ला, कुनै ठाउँमा रानीसल्लोलगायतका प्रजातिहरूले वृक्षरेखा बनाएका छन् ।
‘जलवायु परिवर्तनसँगै अन्य मानवीय गतिविधिको प्रभाव र भू–उपयोगमा आउने परिवर्तनले नेपालको वृक्षरेखाको भविष्यको अवस्थितिले निर्धारण हुन्छ । यसको सघन अनुसन्धान हुन जरुरी छ,’ उनले भने, ‘वृक्षरेखा सर्दै जानुले जलवायु परिवर्तन भइरहेको छ भन्ने संकेत पनि देखाउँछ ।’
वृक्षरेखा सर्दै जाँदा त्यसले हिमाली क्षेत्रको जैविक विविधतालाई पनि असर गर्ने उनी बताउँछन् । उपल्लो स्थानमा पाइने जंगलहरूमा आश्रित महत्त्वपूर्ण हिमाली जडीबुटीहरू पाइन्छन् । रूख सर्दै जाँदा ती प्रजातिलाई असर गर्छ । भोजपत्रको जंगलमा विशेष गरेर पाइने कस्तूरी मृगलगायतका वन्यजन्तुलाई पनि यसले असर गर्ने उनी बताउँछन् । ‘भोजपत्र माथि उक्लँदै जाने हो भने कस्तूरीको बासस्थान पनि माथि उक्लने भयो तर त्यो प्रजातिलाई त्यो स्थानमा अनुकूलन नहुन पनि सक्छ,’ उनले भने । मुस्ताङमा पनि ठिग्रेसल्ला मास्तिर उक्लँदै गएको छ । डोल्पामा रानीसल्लाका पालुवाहरू वृक्षरेखाभन्दा माथि देखिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालसहितको टोलीको प्लस वान जर्नलमा प्रकाशित आलेखले तापक्रम वृद्धिसँगै कीटजन्य सरुवा रोग बढ्दै गएको देखाएको छ । तापक्रम बढेसँगै २ हजार मिटरको उचाइमा पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू पाइएको छ । पहाडी क्षेत्रहरूमा मलेरिया, फिलाराइसिस, कालाजार, जापानिज इन्सेफ्लाइटिस, डेंगुजस्ता रोगहरू फैलिएको धिमालले बताए ।
‘लामखुट्टे १२ सय मिटरभन्दा कम उचाइ भएका क्षेत्रहरूमा देखिन्थ्यो, अहिले यो हिमाली क्षेत्रहरूमा पनि पुगेको छ,’ उनले भने, ‘हामीले २ हजार मिटरसम्मको उचाइमा मलेरियाका केसहरू भेटेका छौं ।’ तराई र पहाडका ३८ वटा जिल्लामा रेकर्ड भएका मलेरिया सार्ने लामखुट्टे ६५ वटा जिल्लामा भेटिएको थियो ।
मलेरिया गराउने एनोफोलोस लामखुट्टे नेपालमा ४५ प्रकारका पहिचान भएका छन् । धिमालको अनुसन्धानले १ डिग्री तापक्रम बढ्दा मलेरियाको जोखिम २५ प्रतिशतले बढ्ने देखाएको छ ।
डेंगुको सन्दर्भमा पनि अवस्था उस्तै खालको रहेको उनले बताए । सन् २००६ मा तराईका ११ जिल्लामा भेटिएको थियो, अहिले जिल्ला विस्तार भएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस १९७० तिर भारतबाट उत्तर हुँदै नेपालतिर फैलिएको थियो । रूपन्देही र मोरङमा पहिलो पटक देखिएको थियो । पछि यो रोग फैलाउने क्युलेक्स ट्रिटेनिरेन्चस लामखुट्टे २४ वटा जिल्लामा भेटिनुका साथै पहाडी जिल्लामा पनि पाइएको धिमालले जानकारी दिए ।
सन् २०१४ मा पूर्वी नेपालमा चिकेनगुनिया, डेंगु, लिम्फाटिक फिलाराइसेस, जापानिज इन्सेफ्लाइटिस सार्ने लामुखट्टेहरू ७० देखि २ हजार मिटरसम्म रेकर्ड भएका थिए । पछि एनोफेलोज, क्युलेक्स र एडिज प्रजातिका लामखुट्टेका फुलहरू २ हजार ३ सय १० मिटरको उचाइमा पाइएको थियो ।
चाइनिज एकेडेमी अफ साइन्सेजमा कार्यरत विपिनकुमार आचार्यसहितको टोलीको एक आलेख २०१८ मा प्रकाशित भयो । १ डिग्री तापक्रम बढ्दा कीटजन्य सरुवा रोगको वृद्धि के हुन्छ भन्नेमा केन्द्रित उक्त अनुसन्धान इन्भाइरोन्मेन्टल रिसर्च एन्ड पब्लिक हेल्थ जर्नलमा प्रकाशित छ । १८८० देखि २०१२ सम्म विश्वको तापक्रम ०.८५ प्रतिशतले बढेको छ । यसको संकेत जलवायु र तापक्रमसँग संवेदनशील डेंगु हुन्छ । १ डिग्री तापक्रम बढ्दा नेपालको ७० प्रतिशत जनसंख्यामा डेंगु फैलन सक्ने चेतावनी अनुसन्धानकर्ताको छ । डेंगु सार्ने लामखुट्टेको अधिकतम उचाइ ९ सय मिटरसम्म भए पनि त्यो १४ सय पुग्ने उक्त आलेखमा चर्चा गरिएको छ ।
तापक्रम वृद्धिसँगै वन्यजन्तुको बासस्थान पनि घट्दै जाने प्रक्षेपणहरू भएका छन् । तापक्रम र वर्षाको अवस्थामा फरक आउँदा मिचाहा प्रजातिका वनस्पतिको बढोत्तरी हुने र त्यसले वन्यजन्तुको आहारालाई प्रभावित गर्छन् । भारी वर्षासँगै आउने बाढीले पनि गैंडालाई असर गर्ने अनुसन्धानले देखाएका छन् । तापक्रम बढेसँगै कस्तूरीको बासस्थान सन् २०७० सम्म २९.४७ प्रतिशतले घट्ने प्रक्षेपण भएका छन् । बासस्थान घट्ने, खाना कम हुने, भेलबाढीका कारण वन्यजन्तुको संख्या पनि त्यही अनुपातमा कम हुने विज्ञहरूले जनाएका छन् । यसका लागि वन्यजन्तु संरक्षणसम्बन्धीका कार्ययोजनाहरू निर्माण गर्दा जलवायु परिवर्तन, अनुकूलन र प्रक्षेपणलाई ख्याल गरेर गर्नुपर्ने देखिन्छ ।
सन् २०१६ मा इकोलोजी एन्ड इभोलुसन जर्नलमा अच्युत अर्यालसहितको टोलीको एउटा अनुसन्धान प्रकाशित भयो । आलेखमा तापक्रम वृद्धिसँगै हिउँचितुवाको बासस्थान खुम्चने प्रक्षेपण गरिएको थियो । हिउँचितुवाको बासस्थान ११.६४ प्रतिशतले खुम्चने उक्त रिपोर्टमा उल्लेख छ । यस्तै, २०३० भित्र हिउँचितुवाको विचरण क्षेत्र फैलावट १४.५७ प्रतिशतले र २०५० मा २१.५७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।