काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरी अमेरिकी अनुदान सम्झौता (एमसीसी)का सम्बन्धमा निर्णय गर्न आग्रह गरेका हुन् ।एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रचण्डले बिहीबार साँझ ओलीलाई फोन गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीलाई ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भनेको रिजालले उल्लेख गरेका छन् ।
रिजालका अनुसार जवाफमा ओलीले ‘पहिले आफूले निर्णय गर्नूस्, एमालेले त निर्णय गरिहाल्छ’ भनेका थिए ।“एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले– नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,” ओलीको भनाइ उद्धृत गर्दै रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, “अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।”