काठमाडौं: भारतमा मोदी सरकारले फेब्रुअरी १ मा ल्याएको ‘युनियन बजेट २०२२’ ले क्रिप्टोकरेन्सी लगायतका विद्युतीय अभौतिक सम्पत्ति (डिजिटल भर्चुअल एसेट्स) को कारोबारलाई करको दायरामा ल्याएर नियमन गर्ने नीति मात्र अघि सारेन, भारतीय रिजर्भ बैंक (आरबीआई) मार्फत् विद्युतीय मुद्रा ल्याउने पनि घोषणा गर्यो। यसले भारतमा मात्र नभएर नेपालमा समेत चर्चा पाएको छ।
धेरैले भारतको केन्द्रिय बैंक आफैंले ‘क्रिप्टोकरेन्सी’ ल्याउन लागेको समेत भनेका छन् यसलाई। तर ‘डिजिटल करेन्सी’ र’क्रिप्टोकरेन्सी’ एउटै होइन।
उसो भए के हो त डिजिटल करेन्सी?
डिजिटल करेन्सी अर्थात् कुनै पनि यस्तो मुद्रा, पैसा वा सम्पत्ति हो जसको व्यवस्थापन, भण्डारण र कारोबार इन्टरनेटको प्रयोग गरी डिजिटल कम्प्युटर प्रणालीमार्फत् हुन्छ। यसर्थ, विद्युतीय/अभौतिक सम्पत्तिको वृहत् दायराभित्र पर्ने विभिन्न किसिमका उपकरणहरुमध्ये एक हो ‘क्रिप्टोकरेन्सी'(विद्युतीय अभौतिक मुद्रा)।
क्रिप्टोकरेन्सीसहित अन्य भर्चुअल करेन्सी र सम्बन्धित देशको केन्द्रिय बैंकले जारी गर्ने विद्युतीय मुद्राहरु इत्यादि सबै ‘डिजिटल करेन्सी’ का स्वरुपहरु हुन्। भारतले बजेटबाट अहिले घोषणा गरेको २०२३ भित्र ल्याउने भनेको यस्तै एक प्रकारको ‘डिजिटल करेन्सी’ हो।
सम्बन्धित देशका केन्द्रिय बैंकले जारी गर्ने यस्तो विद्युतीय मुद्राका लागि अन्तरराष्ट्रिय मौद्रिक जगतले ‘सीबीडीई’ नामाकरण गरेको छ, जसको अर्थ वा पूरा नाम ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ हो। यद्यपि, अहिलेसम्म बहामासले ‘साण्ड डलर’ नाममा (अक्टोबर २०२०) र इस्टर्न क्यारेवियन सेन्ट्रल बैंकले ‘डी-क्यास’ नाममा (अप्रिल २०२१) सीबीडीसी जारी गरेको छ। यीबाहेक संसारका अन्य कुनैपनि देशले सीडीबीसी प्रचलनमा ल्याइसकेका छैनन्।
चीन भने यसको तरखरमा छ। चीनको केन्द्रिय बैंक ‘पिपल्स बैंक अफ चाइना’ (पीबीसी)ले सन् २०२० को अप्रिलमा चार शहर सेनजेन, सुझोउ, चेन्दु र निओङमा ‘ई-सीएनवाई’ नामक सीबीडीसी परीक्षणका रूपमा जारी गरेको थियो। उक्त परीक्षणमा सेनजेन शहरका ५० हजार जनालाई पीबीसीले ३३०० रेष्टुरेन्ट र रिटेल स्टोरमा खर्च गर्न सक्ने व्यवस्था मिलाएर एक करोड ई-सीएनवाई (अमेरिकी डलर १४ लाख) डिजिटल माध्यमबाट उपलब्ध गराएको थियो। चीनले सन् २०२२ मा हुने विन्टर ओलम्पिकमा ईसीएनवाइको थप परीक्षण गर्दै क्रमशः मुलुकभर लागू गर्ने योजना बनाएको छ।
यसबाहेक संसारका ८० हाराहारी देशले सीबीडीसीको योजना बनाए पनि जारी गरिसकेको छैनन्। नेपालको केन्द्रिय बैंक ‘नेपाल राष्ट्र बैंक’ ले पनि सीबीडीसीको सम्भावना र भविष्यबारे अध्ययन गरिरहेको बताएको छ।
सन् २००९ मा पहिलो क्रिप्टोकरेन्सीका रुपमा ‘बिटक्वाइन’ आएको थियो। त्यसयता हजारौं क्रिप्टोकरेन्सी आइसकेका छन्, जसको कारोबारमा संलग्न विश्वभरका करोडौं मान्छेको अर्बौं डलरबराबर लगानी पुगेको अनुमान छ। यसले मुद्रा बजार, वित्तीय प्रणाली र विश्व अर्थतन्त्रका लागि नै जोखिम बढाएको विश्लेषणमा संसारका अधिकांश देशले लगानीकर्तालाई क्रिप्टोकरेन्सीको विकल्प दिन वा त्यसतर्फको झुकाव रोकेर अर्थतन्त्रमा निम्तिन सक्ने सम्भावित जोखिम कम गर्न ‘सीबीडीसी’ विद्युतीय मुद्रा प्रचलनमा ल्याउने गृहकार्य अघि बढाएका हुन्।
प्रायः सबै देश यसको गृहकार्यकै चरणमा रहे पनि सीबीडीसीलाई हाल चलनचल्तीमा रहेको ‘पेपर नोट’ को भविष्यका रुपमा हेर्न थालिसकिएको छ।
भारतीय वित्तमन्त्री निर्मला सितारमणले मंगलबार आगामी वर्षको बजेटमार्फत् भारतको आफ्नै डिजिटल मुद्रा प्रयोगमा ल्याउने घोषणा गर्दै सो प्रयोगमा ल्याएपछि त्यसले भारतको डिजिटल अर्थतन्त्रलाई नयाँ उचाईमा पुर्याउने दाबी गरिन्। साथै, डिजिटल करेन्सीले भारतको मुद्रा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी र सस्तो बनाउने पनि उनले बताइन्।
सीबीडीसीको सम्भावना
केन्द्रिय बैंकले भौतिक मुद्रालाई डिजिटल स्वरुपमा रुपान्तरण गर्नु भनेकै सीबीडीसी भएको नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेलले जानकारी दिए। क्रिप्टोकरेन्सीमा नियमनकर्ता नै नहुने भएपनि डिजिटल करेन्सीमा भने केन्द्रीय बैंक वा उसले तोकेको निकाय हुने उनले बताए।
यता, भारतले देशैभर डिजिटल मुद्रा प्रयोग ल्याउन व्यवहारिक कठिनाई आइपर्ने प्रतिक्रिया आइरहेका छन्। स्मार्टफोन वा मोबाइलको बढी प्रयोग हुने सहरी क्षेत्रहरुमा डिजिटल मुद्रा प्रयोग सहज भएपनि ग्रामीण भेगहरुमा प्रयोग गर्न समस्या पर्ने बताइएको छ।
केही देशहरुले डिजिटल करेन्सीलाई केन्द्रीय बैंक आफैंले नियमन गर्ने कि कुनै छुट्टै संस्था खडा गरेर गर्ने भन्नेमा छलफल गरिरहेका छन्। केन्द्रीय बैंक र प्रयोगकर्ताको बीचमा कुनै बैंक तथा वित्तीय संस्थालाई व्यवस्थापनको जिम्मा दिने भन्नेमा विचार विश्लेषणहरु भइरहेको पोखरेलले जानकारी दिए।
यस्तै, क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगलाई काउन्टर दिननै विश्वका धेरै देशहरु डिजिटल करेन्सीमा गृहकार्य गरिरहेका छन्। हुनत डिजिटल करेन्सी ल्याउँदैमा क्रिप्टोकरेन्सीको प्रयोग घट्छ भन्ने ग्यारेन्टी छैन। तर, क्रिप्टोकरेन्सी प्रयोगका जोखिम प्रति प्रयोगकर्ताहरुलाई सचेत गराउन डिजिटल करेन्सी उपयोगी हुन सक्ने मत पनि उठ्दै आएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले पनि नेपालमा सीबीडीसीको सम्भावनासहितको अवस्थालाई मध्यनजर गर्दै अध्ययन गरिरहेको देखिन्छ।
४ लाख २४ हजार नेपाली क्रिप्टो कारोबारमा संलग्न!
क्रिप्टोकरेन्सीले केही समययता अधिकांशको ध्यान तानेको छ। अझ नेपाल प्रहरीले नेपालमै अवैध तरिकाले क्रिप्टोकरेन्सीमा लगानी वा कारोबार गरेको भन्दै पक्राउ गर्न थालेपछि चासो झनै चुलिएको छ।
नेपाल सरकारले क्रिप्टोकरेन्सीमा गरिने लगानी र कारोबारलाई अवैध माने पनि छोटो समयमा धेरै कमाउन सकिन्छ भन्ने लोभले नेपालीहरु पनि आकर्षित भएको देखिन्छ।
सिंगापुर फिनटेक एसोसिएसनको सदस्यसमेत रहेको ट्रिपल ए नामक संस्थाको तथ्यांक पत्याउने हो भने नेपालमा क्रिप्टोधनीहरुको संख्या चार लाख २३ हजार ८४० पुगेको दाबी गरेको छ। नेपालको कुल जनसंख्याको यो १.४५ प्रतिशत हुन आउँछ।
बजार तथा उपभोक्तासम्बन्धी डेटामा काम गर्ने स्ट्याटिस्टाका अनुसार २०२२ जनवरीमा विश्वभर करिब १० हजार क्रिप्टोकरेन्सी छन्।
१० हजार क्रिप्टोकरेन्सीहरुको भीडमा बढी कारोबार हुने क्रिप्टोकरेन्सीहरुमा बिटकोइन, इथेरियम, टेथर, बाइनान्स कोइन, युएसडी कोइन, कारडानो, सोलाना, टेर्रालगायत छन्। २०१३ मा क्रिप्टोकरेन्सीहरुको संख्या जम्मा ६६ रहेको स्ट्याटिस्टाले जनाएको छ। कुनै पनि वस्तु मुद्रा हुनका लागि त्यसको मूल्य स्थिर हुनुपर्ने निर्देशक पोखरेल बताउँछन्।
‘कुनै वस्तुको मूल्य आज एउटा छ भोली अर्को भयो भने त्यसले कुनै मूल्य त दिन सक्दैन। अनि हामीले मापदण्ड भने बनाउने तर, उसको आफैंको मूल्य भने परिवर्तन भइरहने भयो भने के अर्थ भयो र,’ पोखरेलले भने।
विश्वभर रहेका क्रिप्टोकरेन्सीहरु सट्टेबाजी सम्पत्ति (स्पेकुलेटिभ एसेट) भएको उनले बताए। आज एउटा मूल्य हुन्छ त्यो होल्ड गरेर राख्यो, भोली अर्को मूल्य हुने भएकाले क्रिप्टोकरेन्सी सट्टेबाजी सम्पत्ति भएको बताए। आर्थिक लाभ उठाउनका निम्तिसमेत क्रिप्टोकरेन्सी बढी नै प्रयोग हुने गरेको छ।
केही क्रिप्टोकरेन्सीहरुको मूल्यसमेत स्थिर रहेने गरेको पोखरेलले जानकारी दिए। जीएम नामक क्रिप्टोकरेन्सीको मूल्य स्थिर देखिन्छ। हिरामा जीएमको मूल्य राखिएको हुने उनले बताए। तर, समग्रमा हेर्दा भने क्रिप्टोकरेन्सीको मूल्य स्थिर देखिँदैन।
‘लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीलाई कारोबारको माध्यम (मुद्रा) का साथै सोही समयमा अधिक आर्थिक लाभ उठाउने माध्यम पनि बनाइरहेका छन्। हुनत मान्छेहरुले डलरका साथै अरु मुद्राहरुमा पनि लगानी गर्ने गरेका छन्। तर, यी मुद्राहरु केही समय स्थिर नै हुन्छन्,’ पोखरेलले भने।
त्यसैगरी, विभिन्न प्रकारका क्रिप्टोकरेन्सीहरु भुक्तानीको माध्यम पनि बनिरहेका छन्। केही महिना अघि अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले पनि बिटकोइन प्रयोग गरी गाडी किन्न सकिने घोषणा गरेको थियो। तर, घोषणा गरेको केही समयमै उक्त निर्णयबाट पछि हटेको थियो।
क्रिप्टोकरेन्सी माइनिङका लागि अधिक इन्धन प्रयोग हुने, जसका कारण हानीकारक ग्यास उत्सर्जन हुने भन्दै टेस्लाका सीइओ इलन मस्कले गाडी किन्न बिटकोइन प्रयोगलाई रोकेका थिए।
यस्तै, क्रिप्टोकरेन्सीमा जोखिम अधिक हुन्छ। कसले संचालन गरेको हो, नियामकीय नजर पनि नहुने र ब्लकचेनमा आधारिक हुने भएकाले क्रिप्टोलाई जोखिमपूर्ण लगानी पनि भन्ने गरिएको छ। जोसँग क्रिप्टोकरेन्सी छ उ नै आधिकारिक प्रमाणीकरणकर्ता हुन्छ। व्यक्तिले गर्ने कारोबारको हिस्ट्री नै कोही कसैलाई थाहा नहुने भएकाले आपराधिक क्रियाकलापमा क्रिप्टोकरेन्सी प्रयोग हुने संभावना पनि देखिन्छ।
क्रिप्टोकरेन्सीलाई बिकेन्द्रिकृत बैंकिङ लेजरसमेत भन्ने गरिन्छ। जसको कारोबार विभिन्न नेटवर्कमा भण्डारण गरिन्छ। जसलाई ब्लकचेन भनिन्छ।क्रिप्टोकरेन्सी कि त कारोबारबाट आर्जन गर्न सकिन्छ वा माइनिङ गरेर। जसलाई क्रिप्टो माइनिङ पनि भन्ने गरिन्छ। जहाँबाट डिजिटल कोइन उत्पादन हुन्छ। क्रिप्टो माइनिङ एक प्रक्रिया हो जहाँ नयाँ क्रिप्टो युनिट उत्पादन हुन्छ। क्रिप्टो माइन गरेर आर्जन हुने डिजिटल कोइन नै कारोबार हुने गर्छ।
कसरी आर्जन गरिन्छ क्रिप्टोकरेन्सी?
ब्लकचेनमा नयाँ कारोबार थप्न माइनरले र्यान्डम नम्बरसहितको निकै गाह्रो गणितीय इक्वेसन समाधान गर्नुपर्ने बताइएको छ। अनलाइन संचारमाध्यम पीसीम्यागका अनुसार जब त्यस्ता इक्वेसनहरु समाधान हुन्छ क्रिप्टोकरेन्सी जस्तै बिटकोइनले माइनरहरुलाई केही हिस्सा कोइन दिएर पुरस्कृत गर्छन्।
इक्वेसनहरु समाधान गर्न क्रिप्टो माइनिङ रिगको प्रयोग हुन्छ। जसमा कम्प्युटरमा हुने मदरबोर्ड, सीपीयू, जीपीयू, र्याम, स्टोरेज र पावर सप्लाई हुन्छन्। जति धेरै क्रिप्टो माइन हुँदै जान्छ त्यतिनै अफ्ट्यारो र अझ बलियो कम्प्युटर उपकरणका साथै विद्युतको खपत हुने बताइएको छ। किनभने क्रिप्टोकरेन्सीको संख्या सिमित राखिने पीसीम्यागले उल्लेख गरेको छ।
पहिलो माइनरले आफ्नो साधारण पर्सनल कम्प्युटर प्रयोग गरी बिटकोइन फेला पारेका थिए।