माघे औंसीमा त्रिवेणी धाममा घुइँचो

२०७८, १८ माघ मंगलवार ११:०२

पूर्वी नवलपरासी ।माघे औंसीका अवसरमा नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका छन् । माघे औंसीको अघिल्लो दिन सोमबारबाटै यहाँ मेला लागेको थियो ।

फाइल फोटो

भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छन् । कोरोना महामारीको बेवास्ता गर्दै भक्तजनहरु त्रिवेणीधामका दर्जनौं मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् ।यहाँका मठमन्दिरमा मंगलबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहाँ ओइरिएका हुन् ।

त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरुसमेत आउने जनविश्वास रहेकाले यो औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारबाट दुई किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिव्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबैभन्दा ठूलो मन्दिर हो ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औंसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।

गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रागऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठूलो महत्त्व छ ।

भगवान् मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यसको धार्मिक महत्त्व रहेको छ । हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदीमा बिहानैदेखि यहाँ भक्तजनहरुको घुइँचो लागेको छ । त्रिवेणीका भित्रि सडकहरुमा समेत मेला लागेको छ ।औंसीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले विशेष पुन्य मिल्ने विश्वासमा यहाँ भक्तजनहरु आउने गर्दछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु